२१६ मेगावाटको माथिल्लो त्रिशूली-१ शिलान्यास

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना शिलान्यास गर्नुभएको छ । उहाँले मंगलबार आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका-१ मा भूमिगत विद्युत्गृहलगायतका संरचना निर्माणाधीन छन् । मन्त्री बस्नेतले नेपालको जलविद्युत् विकासमार्फत् आर्थिक रूपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको बताउनुभयो । मुख्य रूपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाका रूपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने भन्दै उहाँले जलविद्युत् क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ-इस्ट पावर (कोइन)का सभापति एवं प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोत प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाई अतिरिक्त भएको ऊर्जा छिमेकी देशमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा ठूलो योगदान गर्न सकिने बताउनुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, नेपाल विद्युत् विकास विभागलगायतका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू, निजी क्षेत्रका ऊर्जा उद्यमीहरूलगायतको उपस्थिति थियो ।

आयोजनाका अनुसार आयोजनाको मुख्य निर्माण गत २०७८ पुुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचना निर्माण सबैतिरबाट तीव्रगतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिनेछ ।

ADVERTISEMENT

आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब पाँच सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि पाँच वर्षमा सात सयदेखि एक हजारजना नेपाली श्रमिकले दैनिक रूपमा रोजगारी पाउनेछन् । आयोजना सञ्चालन अवधि ३० वर्षमा ७०-८० जनाले रोजगारी पाउनेछन् । आयोजना निर्माणका लागि इञ्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । आयोजनाबाट वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना आकर्षक मानिएको छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज