लेखक तथा पत्रकार पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

स्वर्गीय पराजुलीको मंगलवार अपरान्ह अन्त्यष्टि गरिएको हो । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा उहाँको आज बिहान निधन भएको थियो । साहित्यकार पराजुली कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाउनु हुन्थ्यो । उहाँले केही समय अघि मात्रै कथासंग्रह जन्तरमन्तर प्रकाशित गर्नुभएको थियो । उहाँका अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । पत्रकारको रुपमा उहाँले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा पनि काम गर्नुभएको थियो ।

यसैबीच, साहित्यकारहरुले उहाँलाई समाजप्रति प्रतिवद्ध साहित्यकार र लेखकको रुपमा चित्रण गर्नुभएको छ । साहित्यकार श्यामलले समाजको अन्तरकुन्तरमा पुगेर पात्रको चयन गरी साहित्य सृजना गर्नसक्ने साहित्यकारको रुपमा उहाँ रहनुभएको बताउनु भयो । उहाँ आफ्ना साहित्य रचनाहरुमा प्रश्तुत गरेका पात्रकै कारण लोकप्रिय हुनुभएको पनि श्यामलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साहित्यमा एकदमै प्रतिवद्ध । कथा र कविता चाँही उहाँको खासगरी काम गर्ने क्षेत्र थियो । धेरैजसोले उहाँलाई कवि भन्दा कथाकारको रुपमा सम्झिन्छन् । उहाँ चाहीँ आफ्नो समाज वरतिर, परतिरको र आफ्नो पुस्ताको मनोविज्ञानको बारेमा लेख्ने, अलि बिद्रोहका कन्टेन्टहरु, आफ्ना कथामा विद्रोही चरित्रहरु, पात्रहरु राख्ने गर्नु हुन्थ्यो । र, उहाँ लोकप्रिय पनि हुनुहुन्थ्यो । पछिल्लो समय उहाँले शुक्रराज शास्त्रीको चस्मा भन्ने शीर्षकबाट पुस्तक निकाल्नु भएको थियो । अस्ती भर्खरै अर्को निकाल्नु भयो । बडो क्रियाशील उहाँ । समाजप्रति प्रतिवद्ध, नेपाली समाजको अन्तरकुन्तरमा पसेर, चरित्रहरुलाई खोजेर कथामा प्रवेश गराउने उहाँमा विशेष खुबी थियो । मैले उहाँसँग यति लामो संगतमा उहाँ कसैलाई बिझाउने अथवा आक्रमक ढंगले प्रस्तुत हुने त्यस्तो भेटिदैन । बहुत सरल, हषमुख । त्यसकारण उहाँका साथीहरु धेरै भए । उहाँले सम्पादनको क्षेत्रमा पनि धेरै राम्रो काम गर्नुभएको छ । समग्रमा उहाँ धेरै राम्रो कमिटेड प्रतिवद्ध साहित्यकार हुनुहुन्थ्यो । र, कथा र उपन्यास उहाँको विशेष क्षेत्र थियो ।’

कवि गोपालप्रसाद पराजुलीले साहित्यकार राजेन्द्र नेपाली साहित्यले कदर गर्न योग्य पात्र भएको बताउनु भयो । कविता, कथा र उपन्यासका तीन वटै विधामा कलम चलाउन सक्ने उहाँ गतिशील साहित्यकारको रुपमा पनि स्थापित हुनुभएको उहाँले बताउनु भयो ।

ADVERTISEMENT

कवि पराजुलीले भन्नुभयो, ‘उहाँको कविता, कथा र उपन्यासमा पनि कलम चल्थ्यो । डाईनामिक टाईपको थिए । उनको योगदान नेपाली साहित्यले कदर गर्न योग्य छ । त्यो रुपमा नेपाली साहित्यले उनलाई सम्झनुपर्छ जस्तो लाग्छ ।’

लेखक तथा साहित्यकार अभय श्रेष्ठले स्वर्गीय पराजुलीमा साहित्यको अतिरिक्त राजनीति र अर्थ क्षेत्रमा पनि राम्रो दख्खल राख्ने गरेको बताउनु भयो । उहाँले पत्रकारको रुपमा पराजुलीले आफूले देखेको कुरामा सम्झौता नगर्ने निडरता प्रर्दशन गरेको पनि बताउनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘मिडियामा साहित्य संयोजन कसरी गरिन्छ ? भन्ने कुरा उहाँले उदाहरण नै प्रश्तुत गर्नुभयो । उहाँ संयोजक रहँदा म आफैँ स्तम्भकारको पनि पनि रहेँ । उहाँमा के प्रवृत्ति थियो भने आफूले देखेको कुरामा सम्झौता नगर्ने । लेखन पनि उहाँको विविधता थियो । साहित्यमा उहाँको राम्रो दख्खल थियो । राजनीति राम्रोसँग बुझ्नुहुन्थ्यो । अर्थ क्षेत्रको राम्रो ज्ञान थियो ।’

साहित्यकारहरुले नेपाली मिडियामा साहित्य सृजनालाई प्राथमिकतामा साथ प्रकाशन तथा प्रशारण गराउन पनि स्वर्गीय पराजुलीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *