काठमाडौं । नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ । इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।
उहाँको निधनमा शोक मनाउन अर्को सूचना जारी नभएसम्मका लागि पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको कार्यबाहक महासचिव, प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको उहाँले जानकारी दिनुभयाे ।
‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १ः४० बजे त्रि.वि. शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ,’ कार्यबाहक महासचिव ज्ञवालीले भन्नुभयाे, ‘उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको छ । शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’
मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।
इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । उहाँका विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts