काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिनुभएको छ ।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”
सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उहाँले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताउनुभयो ।
प्रधानसेनापति शर्माले भन्नुभयो, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”
उहाँले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुभयो । उहाँले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।
प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति हुनुभएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति हुनुभएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
सो अवसरमा उहाँले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको पुस्तक पनि विमोचन गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा