जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

रासस
रासस
Read Time = 5 mins

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो ।

स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित हुनुभएको छ । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उहाँले बताउनुभयो ।

“बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी रू ३० हजार बढी खर्च गरेर धान रोपेको थिए”, तमोलीले भन्नुभयो, “गए राति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ ।” पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ः०० बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीनदिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन् ।

“धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्”, धामीले भन्नुभयो, “खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ ।” हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् ।

ADVERTISEMENT

“खेतमाा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ”, जङ्गी साउदले भन्नुभयो, “हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन् ।”

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो । “हात्तीलगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “त्यसको सुनवाइ हुनसकेको छैन ।” नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो ।

यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुभएको छ । मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् ।

मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारीलगायत बालीमा क्षति पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?