डा बिमल बीपी साहित्य सम्मानबाट सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि प्रदान गर्ने विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमललाई पुरस्कृत गर्नुभएको छ । सो पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

त्यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानलाई उहाँले पुरस्कृत गर्नुभयो । सो पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ ।

ट्रस्टले कोइरालाको एक सय १०औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल नीवासमा आयोजना गरेको विपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा सो पुरस्कार प्रदान गर्दै राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो सङ्घर्षपूर्ण जीवनयात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जगत्मा रहेको चर्चा गर्नुभयो ।

विश्वमा उत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रति विपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यमवर्गीय हैसियत’ भन्ने उहाँको धारणा समानताको सिद्धान्तलाई मूर्तरूप दिने व्यावहारिक र ठोस दृष्टिकोण भएको बताउँंदै राष्ट्रपति पौडेलले अहिले पनि सो दृष्टिकोण उत्तिकै सान्दर्भिक रहेको छ भन्नुभयो ।

“विपीले देखाउनुभएको आदर्शमा हामी हिँड्न सकेमात्र उहाँंप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने विपीको मान्यता रहेको उल्लेख गर्नुभयो । “राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थिति सापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुक सामु देखापर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न विपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।”

ADVERTISEMENT

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अहिलेको संविधान विपी विचारकै सार भएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्यमान्यता विपीले चाहनुभएको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गर्नुभयो । उहाँले विपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गर्नुभयो । “उहाँ राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिईकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिन सक्ने विपीको यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो ।”

राष्ट्रपति पौडेलले नेपालको राजनीतिमा सदैव उच्चस्थानमा रहनु हुने विपीमा रहेको साहित्यिक प्रतिभाले समेत उहाँको बहुआयामिक व्यक्तित्वलाई प्रस्टयाएको पनि बताउनुभयो ।

कार्यक्रममा ट्रस्टका सदस्य एवम् प्रतिनिधिसभाका सांसद डा शशाङ्क कोइरालाले धन्यवाद ज्ञापन गर्दै विपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले विपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराउनुभयो ।

सम्मानित व्यक्तित्व बिमलले विपी सदैव स्वतन्त्रता र समानताका पक्षधर हुनुहुन्थ्यो भन्दै लोकतान्त्रिक समाजवाद नै विपीको राजनीतिको चेतनाको प्राण भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको सहभागिता थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *