मानव केन्द्रित विश्वविकासमा प्रधानमन्त्री मोदीको जोड

Read Time = 4 mins

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ । युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी-२० शिखर सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीले शनिबारदेखि नयाँदिल्लीमा आयोजना हुने दुई दिने शिखर सम्मेलनका सन्दर्भमा बिहीबार प्रकाशन गर्नुभएको आलेखमा समावेशी विश्वविकासमा जोड दिनुभएको हो ।

संस्कृत सुक्ति ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीका सबै मानिस एकै परिवारका सदस्य हुन्भन्ने आशययुक्त शिखर सम्मेलनको नाराबाट प्रारम्भ गर्नुभएको आलेखमा वसुधैव कुटुम्बकम्को समावेशी दृष्टिकोणले मानव समाजलाई सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रूपमा अघि बढ्न प्रेरित गरेको बताउनुभएको छ ।

भारतका प्रधानमन्त्रीले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रूपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागिअ अघिबढ्नुपर्नेमा जोड दिनुभएको छ । कोभिड-१९पछिको विश्वव्यवस्थामा परिवर्तन आएको, कुनै पनि देशको आर्थिक उन्नयनको मापक कुल गार्हस्थ्य उत्पादनलाई त्यागेर अब मानव केन्द्रित दृष्टिकोण विकास गर्नुपर्ने, विश्वव्यापी आपूर्ति शृंखलामा अवरोध हुननदिनेतर्फ सचेत हुनुपर्ने तथा विश्वसंस्थालाई बहुपक्षीयताका पक्षमा अभिप्रेरित गर्न आवश्यक भएको आलेखमा उल्लेख गर्नुभएको छ ।

ADVERTISEMENT

आर्थिक एवं औद्योगिक रूपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताउनुभएको छ ।

जलवायु अनुकूलन कार्य, जलवायु वित्त तथा प्रविधि हस्तान्तरण, हरित हाइड्रोजनका लागि पारिस्थितिकीय प्रणालीको निर्माण, जलवायु परिवर्तनका प्रभावका कारण खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, राष्ट्र-राष्ट्रबीचको राजनीतिक विभाजन र अवरोध हटाउने र सहकार्य र साझेदारी प्रवद्र्धन गर्न जी २० को अध्यक्षका नाताले भारत प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभएको छ ।

शनिबार प्रारम्भ भई आइतबार सम्पन्न हुने जी २० बैठकमा विश्वका अधिकांश राष्ट्रका एक लाख प्रतिनिधिले भाग लिने बताइएको छ । अध्यक्षका रूपमा भारतले वर्षभरिमा जी २० सँग सम्बन्धित दुई सयवटा बैठक देशका विभिन्न ६० शहरमा आयोजना गर्ने घोषणा गरेको छ । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज