विशृृंखलित समाज

डा. शान्तिकृष्ण अधिकारी
डा. शान्तिकृष्ण अधिकारी
Read Time = 17 mins

पुराना राजनीतिक दलहरूप्रतिको आस्था धर्मराउँदै जानु भनेको नयाँ राजनीतिक दलहरूका निमित्त कानुनद्वारा बर्जित कार्य गर्ने छुट हुनु हुँदै होइन । पुराना बुढा नेताहरूमाथिको विश्वास घट्दै गएका बेला नयाँ भनिएका नेताहरूले पुरानाले भन्दा बढी समाजलाई अप्ठेरो पर्ने कार्य गर्ने अवसर पाउने मान्यता कसैले बोक्नु हुँदैन । नेपालमा भने पुराना नेताहरूले भित्र्याएसम्मका विकृति अवलम्बन गर्न नयाँ नेताहरूलाई पूर्णरूपमा छुट छ भन्ने भाष्य स्थापित गर्न नयाँ नेताहरू र नयाँ दलहरूमात्रै होइन तिनका समर्थकहरू पनि कस्सिएका छन् । यही प्रवृत्ति बढ्न र बढाउनका लागि समाजले छुट दिँदै जाने हो भने नेपाल र नेपालीको स्वर्णयुगमा बाँच्ने सपना विपनामा परिणत हुने सपनामात्रै हुन जान्छ ।

मान्छे जो जति ठूलो पद र भूमिकामा छ, ऊ उति नै संयमित, सम्वेदनशील र भद्र हुनुपर्दछ । सामान्य नागरिकले र सार्वजनिक पदमा रहेका व्यक्तिले गरेको एउटै गल्तीमा दुई थरिले पाउने दण्ड सजायँमा फरक हुन आवश्यक हुन्छ । नियमतः सामान्य नागरिकलाई सामान्य दण्ड र उच्च ओहोदामा रहेकालाई कठोर सजायँ हुनुपर्ने हो तर नेपालमा विपरीत रीति छ । उच्च ओहोदाकालाई सदाचारिता तोड्नका लागि कुनै सीमा तोकिएको छैन भने सर्वसाधारणलाई कठोर ऐन, नियम र कानूनहरूका जञ्जीरले बाँधिएको छ । लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा सबैलाई समान नियम हुनुपर्ने हो तर नेपालमा ठूलालाई चैन र सानालाई ऐन भन्ने भर्खरैको बालेन प्रकरणले पुष्टि गरेको छ ।

काठमाडौंका मेयर बालेन शाहले व्यक्तिले हडपेर बसेका सार्वजनिक सम्पत्तिलाई राज्यको मातहत ल्याउन गरेका प्रयासहरूको सह्राहना गर्नैपर्दछ । खोलानालालाई ढलमा परिणत गरेर समस्या निम्त्याएकाहरूलाई सही ठाउँमा ल्याई खोलानालाहरूलाई उनीहरूकै मार्गमा बग्न सहज बनाउन खोजेका कुराहरूको प्रशंसा गर्नैपर्दछ । यस्ता अन्य उल्लेख गर्न लायक कामहरू पनि होलान् तर केही राम्रा कामहरू गरेका छन् भनेर उनका खराबीहरूको पनि समाजले समर्थन गर्न थाल्यो भने बालेनलाई बिगार्ने काम त हुन्छ नै, साथसाथै समाज विशृंखलताको मार्गमा पनि हिँड्न थाल्दछ । समाजले जहिले पनि असललाई असल र खराबलाई खराब भन्न सक्नैपर्दछ ।

होला, बालेन पीडामा थिए होलान् तर बाटोमा बसेका प्रहरीलाई बालेनको पीडाका बारेमा जानकारी नहुन सक्दछ । बालेनको गाडी र बालेनकी श्रीमती देख्ने बित्तिकै सडकका प्रहरीले चिन्नैपर्दछ भन्ने सोच राख्नु पनि हुँदैन । 

होला, बालेन पीडामा थिए होलान् तर बाटोमा बसेका प्रहरीलाई बालेनको पीडाका बारेमा जानकारी नहुन सक्दछ । बालेनको गाडी र बालेनकी श्रीमती देख्ने बित्तिकै सडकका प्रहरीले चिन्नैपर्दछ भन्ने सोच राख्नु पनि हुँदैन । सामान्य प्रहरी जवानले गल्ती गरे होलान् तर मेयरको कुर्सीमा बसेका बालेनले ती प्रहरीले भन्दा पनि बढी अराजक बन्न मिल्छ कि मिल्दैन ? बालेन भर्खरै बाबु बनेका छन् भन्ने जानकारी सबैलाई हुनैपर्दछ भन्ने मान्यता राख्नु पनि हुँदैन । प्रहरीले गल्ती गरे भनेर मर्यादित पदमा रहेका बालेनले प्रहरीलाई अमर्यादित प्रहार गर्न मिल्छ कि मिल्दैन ? यस्ता अनेक प्रश्न उब्जिएका छन् । मेरो गाडी जस्तै बिदाका दिनमा चलाइएका सबै उच्चपदस्थका गाडीहरूलाई नियन्त्रणमा लिनु भनी अनुरोध गरेको भए राम्रो हुन्थ्यो कि जस्तो हाम्रा सामान्य दिमागले भन्दछ तर ठूला भनिएकाहरूका सोच अर्कै हुने रहेछ ।

बिदाका दिनमा सरकारी गाडी चलाउन नियमले बर्जित गरे पनि आपत्कालमा मान्छेको ज्यान जोगाउन चलाउँदा त्यसलाई दण्डित गर्न कदापि हुँदैन । बाटोमा उभिएका प्रहरीहरू निश्चय नै मेसिन होइनन्, सेतो नम्बर प्लेट देख्ने बित्तिकै कारबाही गर्ने । उनीहरूमा पनि विवेक हुनैपर्दछ तर त्यहाँका प्रहरीले ज्यादती नै गरेको भए तापनि बालेनको अभिव्यक्तिले प्रहरीलाई दोषी देख्ने कुनै ठाउँ छाडेको छैन । बच्चालाई दूध ख्वाएर आएकी बालेनकी धर्मपत्नीलाई नियम बमोजिम सामान्य केरकार गर्दा सिंहदरबारै जलाउने धम्की बालेनले दिए ।

बालेनको गाडी र सो गाडीमा उनकी पत्नी छन् भन्ने जानकारी पाएको भए ती प्रहरीले जाँच गर्थे कि गर्थेनन् भन्ने त अनुमान गर्न सकिने मात्रै विषय भयो तर ड्युटी निर्वाह गरेका प्रहरीको सातो नै जाने गरी बालेन पड्किए । सरकारलाई चोर भन्न समेत भ्याए । उनले चोर भनेको स्थानीय सरकार हो कि प्रादेशिक सरकार हो कि संघीय त्यो त खुलाएका छैनन् तर अभद्रताको पराकाष्ठा नाघ्दा समेत बालेनले माफी माग्नसमेत आवश्यक ठानेनन् र कसलाई चोर भनेका भनेर सोध्ने आवश्यकता पनि कसैले मानेन । उल्टै चेकजाँच गर्ने प्रहरीलाई मादक पदार्थ सेवन गरेको आरोप लगाइएको छ, त्यो आरोप पुष्टि हुनुपर्दछ कि पर्दैन ?

बालेनकै जस्तो सिंहदरबार जलाउने हो भने त अस्ति मंगलबारका दिनमा कान्ति अस्पताल पुर्‍याएको दुई घण्टासम्म पनि चिकित्सकले नहेरेका कारण ज्यान गुमाएकी पाँच वर्षकी बालिकाका अभिभावकले सो अस्पतालमा तत्काल आगो लगाउनुपर्ने हो । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री आदिका निवास तोडफोड गर्दै हिँड्नुपर्ने हो तर सामान्य नागरिक भएका कारण बच्चीको मृत्युमा आँसु झारेर रूनु सिवाय उनीहरूसँग कुनै विकल्प रहेन । यो त एउटा उदाहरणमात्रै हो । सडक व्यापारीलाई विनाविकल्प महानगरले लखेटेका कारण बिचल्लीमा परेका अभिभावकहरूले आफ्ना नानीहरूको भोक तिर्खा सहन नसकेर कस्तो उपद्रव मच्चाउनुपर्ने हो भन्नेको कुनै सीमा छ्रैन ।

के आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसकेका आमाबाबुहरूले देशभरका स्कुलहरूमा आगो लगाउँदै हिँड्न मिल्छ र ? आफ्ना छोराछोरीका आङका कपडा फाटेको देखेर किन्न नसक्नेहरूले बजारका कपडा पसलहरू तोडफोड गर्दै आतंक मच्चाउन मिल्छ ? आजसम्म सिनेमा हल छिर्ने टिकट किन्न नसकेकाहरूले सिनेमा हलहरू बन्द गराउँदै हिँड्ने गर्न थाले भने के हुन्छ ? विभिन्न कालखण्डमा गठित सरकारहरूका निकम्मापनका कारण नै यस्तो अवस्था सिर्जना भएको भन्दै नागरिकहरूले अव्यवस्था सिर्जना गर्न खोजे भने के हुन्छ ? यस्ता अराजकता मच्चाउने कुराहरू बोल्न त के सोच्नसम्म हुँदैन ।

ADVERTISEMENT

चोर नेताहरूका स्वास्नी छोराछोरी सरकारी गाडी चढ्न हुने, बालेनकोले किन नहुने ? संघीय सरकारले मनपरी गर्न हुने मेयरले किन नहुने ? जस्ता भनाइहरू सामाजिक सञ्जालमा प्रशस्तै देखिन्छन् । बालेनले बिदाका दिनमा सरकारी साधन प्रयोग गर्न पाउनु उनको अधिकार हो र अरूले गरेका काम दण्डनीय हो भन्ने प्रमाणित गर्न सामाजिक सञ्जालहरू सक्रिय देखिन्छन् । कतैकतै मात्र बालेनले सामाजिक सञ्जालमा अभद्र स्टाटस लेखे भन्ने देख्न पाइन्छ । बालेनले सामाजिक सञ्जालबाट उक्त स्टाटस हटाएबाटै उनी कुन अवस्थामा थिए भन्ने पुष्टि गरिसकेको हुँदा यसमा धेरै चर्चा गरिरहनु आवश्यक छैन तर गलत कुराका समर्थनमा समाज ओइरिएकाप्रति भने समाज चिन्तित हुनुपर्ने भएको छ ।

चाहे काठमाडौंका मेयर बालेन शाहका सन्दर्भमा होस् या नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवाहरूलाई बेच्ने अभिप्रायले रचिएको तानाबुनामा होस्, नेपाली समाजले लय बिराउँदै गएको छ । डेढ सय किलोबाट घट्दै गएर सय किलो सुन प्रकरणका नामले चर्चित साठी किलोमा झरेको सुनकाण्ड होस् या विद्युतीय चुरोटमा लुकाएर ल्याइएको सुन तस्करी, सबैमा समाज नराम्ररी विभाजित हुने गरेको छ । यथार्थ बुझेका र नबुझेका सबैले आआफ्नै बुझाइ अनुरूप प्रतिक्रिया दिने गर्नाले सत्यता एकातिर हुने र परिणति अर्कै भोग्नुपर्ने अवस्थाको सिर्जना हुन पुगेको छ । पूर्वाग्रहपूर्ण धारणा बोकेर बसेका विभिन्न समूहले आग्रही धारणाहरू प्रवाह गर्दा मिलेर बसेका नेपाली समाजमा ठूलै खाडल निर्माण भइसकेको छ ।

शक्तिमा नपुगेका, सत्ताको नजिक हुन नसकेका, सर्वसाधारणका रूपमा परिचित सामान्य नागरिकले त्यही कुरा बोल्दा या गर्दा कानुनको भागी हुनुपर्ने गरेको छ भने शक्तिवान्हरूले त्यही काम गरे या बोले भने उसका पक्षमा उसलाई जोगाउन उभिनेहरूको लस्कर नै देखिन्छ । 

काठमाडौंका मेयर बालेन शाहले जे गरे पनि कसैले नकारात्मक टिप्पणी गर्न नहुने विचारले एकथरि युवाहरूमा जरा गाडेर बसेको छ । भर्खरै उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र अझ त्यसमाथि त्यो दलका सभापति रवि लामिछानेले जस्तोसुकै गलत काम गरे भने पनि त्यसका विरुद्धमा कसैले चूँ ग¥यो भने पनि त्यसको हुर्मत लिनका लागि पुराना दलहरूसँग वितृष्णा उत्पन्न भएकाहरूको अर्कै जमात छ । धरानका मेयर हर्क साम्पाङले कुनै एक धर्मलाई प्रश्रय दिएर अन्य दलहरूमाथि अन्याय गरे भने पनि बोल्ने हिम्मत धेरैको हराइसकेको छ । नेकपा एमालेले कुनै समयमा त्यो दलका अध्यक्ष केपी ओली र एमालेका विपक्षमा धारणा राख्दा खनिने अरिंगालको गोलो तयार गरे जस्तो सर्वसाधारणमाथि ज्यादती गर्ने थुप्रै समूहहरू खडा भइसकेका छन् ।

नयाँ युवाहरूले नयाँ विचार प्रवाह गर्न सक्नुपर्ने हो । पुराना राजनीतिक दलहरूमा कुसंस्कारले संस्कृतिभन्दा पनि विकृतिलाई बढावा दिइरहेको अवस्थामा उदाएका नयाँ दल र नयाँ नेताहरूले असल संस्कार र सही अभ्यासको संस्कृति बसाल्न सक्नुपर्ने हो तर विजयको उन्माद, समर्थकहरूको लस्करको अभिमान र शक्तिको घमण्डले गर्दा नयाँहरू पुराना भन्दा झनै बाटो बिराउँदै गएका त होइनन् भन्ने प्रश्न उठ्न थालिसकेको छ । नयाँ भनिएका नेताहरूको र अकस्मात उदाएका दलहरूको व्यवहारले उनीहरूका हातमा नेतृत्व गयो भने नेपालको भविष्य अहिलेको भन्दा पनि विकराल स्थितितिर धकेलिने त होइन भन्ने आशंका सर्वत्र गर्न थालिएको छ ।

कम्युनिष्टहरूमा दुईवटा शब्दको व्यापक प्रचलन छ । एउटा आलोचना र अर्को आत्मालोचना । गलत कामको आलोचना हुनैपर्दछ तर नेपालमा रहेका कम्युनिष्ट पार्टीहरूमा जस्तो आफूसँग असहमत हुने उपयुक्त पात्र, प्रवृत्ति र विचारको पनि माटो मुनि मिलाइदिने गरी आलोचना गर्नु चाहिँ ठीक मान्न सकिँदैन । आत्मालोचना पनि आफू सही हुँदाहुँदै पनि नेतृत्वले गलत छौं भन्ने बित्तिकै आत्मालोचना गर्ने होइन कि आफ्नो गल्ती थाहा पाउने बित्तिकै आत्मालोचना गर्ने हिम्मत मान्छेले राख्नुपर्दछ । नेपालमा शक्तिमा हुनेले जतिसुकै ठूलो अपराध गरे पनि आत्मालोचना गर्नै नहुने, नपर्ने र नगर्ने परम्परा बसेको छ भने शक्तिहीनले विनाकसुर पनि आत्मालोचना गरी रहनुपर्ने चलन बसाइएको छ ।

शक्तिमा नपुगेका, सत्ताको नजिक हुन नसकेका, सर्वसाधारणका रूपमा परिचित सामान्य नागरिकले त्यही कुरा बोल्दा या गर्दा कानुनको भागी हुनुपर्ने गरेको छ भने शक्तिवान्हरूले त्यही काम गरे या बोले भने उसका पक्षमा उसलाई जोगाउन उभिनेहरूको लस्कर नै देखिन्छ । पुराना राजनीतिक दलहरू र ती दलहरूका नेताहरूसँग स्वाद फेर्ने उद्देश्यले नयाँका पक्षमा उभिँदा आउने परिणाम जतिसुकै भयावह हुने भए तापनि नयाँलाई सही देखाउन र जोगाउन विचार प्रवाह गर्नेहरूको जमातले निकट भविष्यमै ठूलै संकट निम्त्याउँदैन भनेर ठोकुवा गर्न सकिन्न ।

पीडामा जे पनि बोल्न पाइने सुविधा कदापि हुँदैन । आफ्नो गल्ती लुकाउन सामान्य प्रहरीको चरित्र हनन गर्ने अधिकार पनि कसैलाई हुँदैन । कसैको बहुलठ्ठीपनका पछाडि पूरै समाज दौडिन थाल्यो भने त्यो समाजको भविष्यप्रति चिन्तित हुनैपर्दछ । कानुनी राजको स्थापनामा सबैको स्पष्ट अडान हुनैपर्दछ । मुलुक सबैको हो र लोकतान्त्रिक मुलुकमा सबैको उत्तिकै सम्मान हुनुपर्दछ भन्ने मान्यता असल समाजले राख्नुपर्दछ । नेपालमा देखिएका यस्ता घटनाहरूले लोकतन्त्र धर्मराउन थालेको प्रष्ट सन्देश दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज