कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला, आक्रमण गर्ने सापकोटा पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उहाँमाथि खुकुरी प्रहार भएको हो । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैँयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए ।

साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा. धवलशमशेर राणासँगै बाहिरिनुभएको थियो । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ । क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ । ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको बताइएको छ । सापकोटालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको छ ।

कांग्रेसद्वारा निन्दा
नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउनुभयो । ‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुनसक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले यादवको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

ADVERTISEMENT

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला सहितका नेताहरू बुधबारै यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुग्नुभएको थियो । खुकुरी प्रहारबाट घाइते हुनुभएका सहमहामन्त्री यादवलाई भेट्न पार्टीका सभापतिसहित नेताहरू ट्रमा सेन्टर पुग्नुभएको हो । यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू पनि ट्रमा सेन्टरमा पुग्नुभएको थियो । सहमहामन्त्री यादवको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । नुवाकोट विदुर नगरपालिको ४७ वर्षका सापकोटाले खुकुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिनुभयो । पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका थिए ।

तरुण दल सरकारप्रति आक्रोशित
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भ्रातृ संस्था तरुण दलले सरकारप्रति आक्रोश पोखेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकालेर यस्ता घटनाक्रमप्रति चुप लागेर बस्न नसकिने बताउनुभएको छ । ‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिँड्डुल गर्ने व्यक्ति चिन्न नसक्ने ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन ।’ नेपाली कांग्रेसका प्रभावशाली नेताहरूलाई छानीछानी आक्रमण गर्ने कार्य भएको तरुण दलले जनाएको छ । शृंखलाबद्ध घटनाक्रमका कारण तरुण दल सहन नसक्ने अवस्थामा पुगेको र त्यसबाट आउने परिस्थितिको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने चेतावनी गुरुङले दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *