कांग्रेसमा १५औँ महाधिवेशन केन्द्रित ध्रुवीकरण बढाउँदै इतर समूह

संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्नसक्ने शशांकको घोषणा

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । १४औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष नबित्दै नेपाली कांग्रेसभित्र आसन्न १५औँ महाधिवेशन केन्द्रित धु्रवीकरण सुरु भएको छ । महाधिवेशन सकिएको डेढ वर्षसम्म पार्टीलाई विधानका व्यवस्थाबमोजिम सञ्चालन गर्न नसक्नुभएका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चबाटै अब आफू पार्टीको सभापति नहुने घोषणा गरेपछि कांग्रेसमा आगामी १५औँ महाधिवेशन केन्द्रित धु्रवीकरण सुरु भएको हो । काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनमा सभापतिमा देउवासँगै प्रतिस्पर्धा गर्नुभएका नेता डा.शेखर कोइरालाले आगामी महाधिवेशनमा आफू फेरि सभापतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएको छ । पार्टी नेतृत्वका आकांक्षी अन्य नेताहरूले समेत आगामी महाधिवेशन केन्द्रित गतिविधि बढाएका छन् । त्यति मात्रै होइन, नेताहरूले पार्टीको साउन पहिलो साता सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमै अर्को महाधिवेशनको विषयलाई प्रवेश गराए र छलफलको विषय बनाइसकेका छन् ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार-चार वर्षमा हुनुपर्छ । तर, अहिलेसम्म कांग्रेसले आफ्नो जीवनमा विधानको त्यो व्यवस्था लागू गर्न सकेको छैन । चार वर्षमा हुनुपर्ने महाधिवेशनलाई कांग्रेसले धकेलेर ६ वर्षसम्म पुर्‍याएको इतिहास छ । जसकारण साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टी विधानको बाध्यकारी पालना र समयमै १५औँ महाधिवेशन हुनुपर्ने विषयलाई जोड दिएका छन् । बैठकमा पार्टीको संगठन र सदस्यतासम्बन्धी कार्ययोजना नै प्रस्तुत गर्नुभएका महामन्त्री गगनकुमार थापाले २०८२ सालभित्र जसरी पनि महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आउनुभएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापनइतर समूहलाई गोलबन्द पारेर राष्ट्रिय मुद्दामा पार्टीभित्र ध्रुवीकरण बढाउन खोजेका छन् । यसबीचमा नेता कोइराला र महामन्त्री थापाबीच चिसिएको सम्बन्धलाई सुधार्नेदेखि कुनै गुटमा नभएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोड्ने प्रयास भएको छ । पार्टीको १४औँ महाधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट शर्मा महामन्त्रीमा विजयी हुनुभएको थियो । सिंह देउवातिरै लागे पनि शर्मा कुनै गुटमा जानुभएन । पूर्वमहामन्त्री सिटौलानजिक रहनुभएका पौडेलले महाधिवेशनमा संस्थापन पक्षबाटै महामन्त्रीमा प्रतिस्पर्धा गर्नुभएको थियो । संसदीय दलको नेतामा देउवालाई सहयोग गर्ने नीति बनाएपछि पौडेलले पनि सिटौलाको कित्ता छोड्नुभएको छ । संसदीय दलको नेताका लागि गत पुसमा भएको निर्वाचनमा शर्मा र पौडेल थापाको पक्षमा उभिएका थिए । शेखर र गगनबीच दलकै निर्वाचनदेखि बढेको अविश्वास पनि यसबीचमा मत्थर पार्ने काम भइरहेको छ । राष्ट्रिय मुद्दाहरूमा परिवर्तनकारी र यथास्थितिवादबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै त्यसका लागि संस्थापनइतर पक्षलाई एक ठाउँमा गोलबन्द बनाउने काम भइरहेको शेखर समूहका नेताहरूको भनाइ छ ।

पार्टीलाई विधिअनुसार नचलाउने, भ्रष्टाचारका मुद्दालाई सत्ता बार्गेनिङको ‘टुल’ बनाउने, पार्टीका निर्णयहरूसमेत कार्यान्वयन नगर्ने, भ्रष्टाचारका फाइलहरू अघि बढे पनि त्यसलाई सामसुम पार्न सरकारलाई दबाब दिनेजस्ता नेतृत्वको गतिविधिलाई मुद्दा बनाएर इतर पक्षले पार्टी पंक्तिमा पुग्ने लक्ष्य बनाएको छ । ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग महाधिवेशन सम्पन्न भएको २० महिना बितिसक्दा पूर्णता नपाएको, साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले विधान बमोजिमका ४८ र पछि थपिएका सहितका विभागलाई भदौ १५ भित्र पूर्णता दिइसक्ने निर्णय भए पनि कार्यान्वयन नभएको विषयलाई इतर समूहले मुद्दा बनाएको छ ।

ADVERTISEMENT

आम जनमतलाई प्रभावित बनाउने नक्कली भुटानी शरणार्थी र ललितानिवास जग्गा हिनामिना प्रकरणजस्ता काण्डमा पार्टी नेतृत्वको भूमिकामाथि पनि इतर पक्षले प्रश्न उठाउँदै आएको छ । सभापति दम्पतिको दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूलाई सरुवा गरिएको विषयमा पनि पार्टीभित्र विवाद छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सिआइबीले दोस्रो चरणको अनुसन्धान अघि बढाउने तयारी गरिरहेकै बेला उपत्यका प्रहरी कार्यालयका एआइजी श्याम ज्ञवाली, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवा भएको थियो । यी विषयलाई इतर पक्षले संस्थापन पक्षमाथि प्रहार गर्ने हतियार बनाएको छ । अघिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित थापा र शर्माले पाएको मत कांग्रेस रूपान्तरणको पक्षमा थियो । तर, बीस महिनासम्म पार्टी रूपान्तरणको दिशामा अघि बढ्न नसक्दा सबैभन्दा बढी चुनौती उनीहरूले सामना गर्नुपरेको छ ।

संस्थापनइतर पक्षलाई एकजुट बनाउन नेताहरूले प्रयास गरिरहेकै बेलामा कोइराला र महामन्त्री थापाको सहमति लिएर एउटा समूहले भने भदौ २४ देखि दोस्रो चरणको रूपान्तरण अभियान घोषणा गरेको छ । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायत नेताहरूका समूहले रूपान्तरण अभियान लिएर १६५ निर्वाचन क्षेत्रमै पुग्ने घोषणा गरेका छन् । यही समूहले यसअघि प्रदेशस्तरीय अभियान चलाएको थियो । जसलाई लिएर पार्टी सभापति देउवा असन्तुष्ट रहनुभएको छ । साउन १० गतेको केन्द्रीय कार्यसमितिको निर्णयबाट भदौ १० देखि राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर पार्टी सभापति देउवाले स्थगित गरेपछि आफूहरूले रूपान्तरण अभियान घोषणा गरेको उनीहरूको भनाइ छ । तल्ला तहका कार्यकर्ताको भावना र मनोविज्ञान बुझ्न कोइराला र थापाले पनि जिल्ला दौडाहा सुरु गर्ने तयारी गरेका छन् ।

देउवा समूहको सभापतिको उम्मेदवार बन्न सक्छु : कोइराला
नेताहरूबीच आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न धु्रवीकरण र कसरत सुरु भएको अवस्थामा नयाँ गुट उपगुट बन्ने र पुराना भत्किने क्रम सुरु हुन थालेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता डा.शशांक कोइरालाले आफू आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट सभापतिको उम्मेदवार बन्न सक्ने सार्वजनिक गर्नुभएको छ । नेता कोइरालाले यस विषयमा टुंगो भने लागिनसकेकोे स्पष्ट पार्नुभएको छ । पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको छ । आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा नेता डा.कोइरालाले भन्नुभयो, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ? सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौँ, उहाँहरूको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु ।’ पार्टीका साथीहरूसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उहाँको भनाइ छ ।

देशमा गणतन्त्र आयो, कांग्रेसमा अझै आएको छैन : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले लडेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याए पनि पार्टीमा गणतन्त्र नआएको टिप्पणी गर्नुभएको छ । अहिले पनि पार्टीमा राजतन्त्र जस्तै निरंकुशता रहेको उहाँको दाबी छ । चुनावका बेला नेताले टिकट दिने पद्धति सच्याएपछि मात्र कांग्रेसमा लोकतन्त्र आउने जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘वडा सभापति बन्न क्रियाशील कार्यकर्ताले भोट दिनुपर्ने, वडाध्यक्ष बन्न जिल्ला सभापतिले टिकट दिने यो लोकतन्त्र होइन । जबसम्म टिकटका लागि दाइ र भाउजूको चाकडी गर्नुपर्छ, तबसम्म पार्टीमा निरंकुशता र राजावादी सोच बाँकी रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *