जिल्ला प्रशासनसहितको टोलीले बजार अनुगमन गर्ने

Read Time = 3 mins

काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसहित उपभोक्तासँग सरोकार राख्ने विभिन्न नौ विभागका अधिकारीसहितको टोलीले बजार अनुगमन गर्ने भएको छ ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा उपभोक्ता अधिकारसँग सम्बन्धित विभागबाट संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो । अब बजार अनुगमनमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् । यसअघि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको थियो ।

विभाग एक्लैले अनुगमनका गर्दा प्रभावकारी काम हुन नसकेको भन्दै आलोचना हुने गरेको थियो । सचिव मरासिनीले जिल्ला प्रशासन कार्यालय र विभिन्न नौ विभागका प्रतिनिधिको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको जानकारी दिनुभयो । उक्त बैठकले आगामी असोज १ गतेदेखि कम्तीमा १० टोली बजार अनुगमनमा पठाउने निर्णय गरेको छ ।

ADVERTISEMENT

वाणिज्य सचिव नेतृत्वको समितिको बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरिएको सचिव मरासिनीको भनाइ छ । “उहाँहरुलाई बजार अनुगमन गर्न ‘म्यान्डेड’ दिइएको छ, सात सय ५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो ।

साधन स्रोतको सीमितताको बाबजुद पनि समन्वय र अनुगमनका कामलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाइएको सचिव मरासिनीले बताउनुभयो । “चाडपर्व लक्षित बजार अनुगमन हुन्छ, यसअघि वाणिज्य विभाग एक्लैले बजार अनुगमन गर्दै आएको थियो”, उहाँले भन्नुभयो, “अब उपभोक्तासँग सरोकार राख्ने सबै विभागका प्रतिनिधि सम्मिलित टोली बनाएर अनुगमनमा पठाइनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज