काठमाडौं । नेपाल हस्तकला महासंघअन्तर्गतको कला तथा शिल्प परिषद्को आयोजना र ललितपुर महानगरपालिका, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको सहकार्यमा भदौ १४ गते सम्पदा पदयात्रा २०८० आयोजना गरिएको छ । एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक कला र संस्कृतिका कारण नेपालले विश्वमा प्रसिद्धि कमाउन सकेको भन्दै देशको मौलिक कला संस्कृतिबारे सबैले राम्रो जानकारी राख्नुपर्ने र समयानुकूल ऐतिहासिक कलाकृति, संस्कृति तथा सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघको कला तथा शिल्प परिषद्का सदस्य एवं कार्यक्रमका संयोजक अजय बज्राचार्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने उपप्रमुख शाक्यले प्राचीनकालमा पुर्खाहरूबाट निर्माण गरिएका अलौकिक कलाकृति, मन्दिर, देवालय, सम्पदाका कारण नेपाल विश्वमा परिचित भएको चर्चा गर्दै विद्यमान संस्कृति सम्पदालाई अझ जीवन्त राख्नुपर्नेमा जोड दिनुभएको थियो । ललितपुरमा अवस्थित पौराणिक स्मारक, संस्कृति र सम्पदाको संरक्षण तथा संवद्र्धनका लागि महानगरपालिकाबाट आवश्यक योजनासहित कार्य गर्दै आएको बताउँदै उहाँले सम्पदाको संरक्षण प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । नेपालको मौलिक कला, संस्कृति तथा सम्पदा संरक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले आयोजित सम्पदा पदयात्रा कार्यक्रम निश्चय नै महत्वपूर्ण रहेकाले पदयात्राका क्रममा महाविहारसम्बन्धी महत्वपूर्ण जानकारी लिन र विद्यमान सम्पदाको राम्रो अध्ययन गर्नसमेत उहाँले आग्रह गर्नुभएको थियो ।
सम्पदा यात्राका क्रममा सहभागीहरूले ललितपुरस्थित चारवटा ऐतिहासिक महाविहार हिरण्यवर्ण महाविहार (क्वाःबहाल), दीपावती महाविहार(गुँइतबही), मयुरवर्ण महाविहार (भिन्छेबहाल) र रुद्रवर्ण महाविहार (ओकुबहाल)को स्थलगत भ्रमण गरी सम्बन्धित विज्ञबाट जानकारी लिएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts