बालेनपत्नी सबिनासँग ट्राफिक प्रहरीले असभ्य व्यवहार गरेको महानगरको आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ।

पत्नी सबिना काफ्ले सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि शनिबार बेलुकी बालेनले सिंहदरबार जलाइदिने धम्की दिँदै स्टाटस लेख्नुभएको थियो ।

यसबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै सचिवालयले आइतबार दिउँसो विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे। सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ढोका खोल, के हो रु कहाँ हो रु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो। प्रसव पीड़ा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ।’

२०८० भदौ १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहेकी सविना कापलेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उनकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर उनी अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ।

ADVERTISEMENT

आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराई फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराएका थिए।

सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ। नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको सचिवालयले बताएको छ।

विज्ञप्तिका भनिएको छ, ‘सार्वजनिक यातायात व्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सबै सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको र आवश्यक कारवाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाका बारेमा जवाफ दिंदा पनि मैले चाहे भने यतै राम्रा सक्छु भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ।ु

सचिवालयले यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरुलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गरेको भन्दै खेद प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *