माटोजन्य रोग न्यूनीकरण गर्न नयाँ परियोजना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

ललितपुर । माटोजन्य विभिन्न रोगको संक्रमणबाट बाली जोगाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटो सुरक्षाका लागि परियोजना सञ्चालनमा ल्याएको छ । नार्कअन्तर्गतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दि फ्युचर इनोभेसन ल्याबले संयुक्त रूपमा उक्त परियोजना सञ्चालनमा ल्याएका हुन् । नार्कद्वारा ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै नेपालमा साना किसानको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण परियोजनाबारेमा जानकारी गराएको हो । यसअघि पनि राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रले केरामा लाग्ने पानामा रोगको नयाँ प्रजातिको पहिचान गरेको थियो । पानामा पनि माटोजन्य रोग हो ।

माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा परियोजनामार्फत् किसानलाई ठूलो सहयोग पुग्ने नार्कका कार्यकारी निर्देशक डा. धु्रवराज भट्टराईले बताउनुभएको छ । माटोजन्य रोगका कारण विभिन्न कृषि बालीमा क्षति हुने क्रम बढेका सन्दर्भमा सो न्यूनीकरणका लागि विशेष अध्ययन अनुसन्धानमा परियोजनाले जोड दिने उहाँको भनाइ थियो । माटोजन्य रोगबारेमा जानकारी नहुँदा माटो उपचारमा लाग्नुपर्नेमा किसानले बोटबिरुवामै विभिन्न किसिमका विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।

परियोजनाको नेतृत्व गरिरहनुभएका केन्द्रका कृषि वैज्ञानिक डा. रामबहादुर खड्काले हालसम्म माटोमा विभिन्न १२ किसिमको रोग फेला परेको जानकारी गराउँदै रोग नियन्त्रणका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वैज्ञानिक खड्काका अनुसार कतिपय रोग निकै खतरनाक हुन्छन्, जसले बिघाका बिघा बाली नष्ट गरिदिन्छ तर किसानलाई माटोजन्य रोगका कारण बालीमा क्षति पुगेको कुरा थाहा हुँदैन, उनीहरू माटो नभई बाली उपचारतिर लाग्छन्, झन् समस्या बढेर जान्छ । माटोबाट हुने बिरुवाका रोगजन्य जीवाणु जस्तै ढुसी, निमाटोड र ब्याक्टेरियाल जरा र बिरुवाका अन्य भागमा रोग सार्दै बिरुवा संक्रमित गर्ने गरेको उहाँको भनाइ छ । माटोजन्य रोगको असर सबैभन्दा बढी तरकारी खेतीमा देखिने भएकाले तरकारी खेती हुने ठाउँमा विशेष निगरानी गरिने खड्काले जानकारी दिनुभयो ।

ADVERTISEMENT

जलवायुमैत्री स्थानीय स्रोतसाधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिको विकास एवं अवलम्बनबाट कृषकमा खाद्य तथा पोषण सुरक्षाका लागि अमेरिकी सहयोग नियोग फिड दी फ्युचर कार्यक्रमअन्तर्गत हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नार्कले प्राप्त गरेको खड्काले जानकारी दिनुभयो । नार्कका अनुसार परियोजनाको उद्देश्य दीर्घकालीन खाद्य र पोषण सुरक्षामा सहयोग पुर्‍याउन तरकारी उत्पादनमा नेपालका सीमान्तकृत किसानका लागि लाभदायक हुन सक्ने वातावरणमैत्री र कम लागतको प्रविधिको विकास गर्ने रहेको छ ।

परियोजनाले नेपालको तरकारी बालीमा लाग्ने माटोजन्य रोग व्यवस्थापनका लागि परीक्षण, प्रमाणिकरण तथा प्रविधि विस्तारमा काम गर्नेछ भने सो प्रविधिसँग रैथाने फाइदाजनक सूक्ष्म जीव ग्राफ्टिङ टेक्नोलोजीसँगको संयोजनबाट माटोजन्य जीवाणु र झारपातको व्यवस्थापन गर्न महत्वपूर्ण योगदान दिँदै किसानको आम्दानी सुरक्षित गरी माटोजन्य रोगको दिगो व्यवस्थापनको लक्ष्य लिएको छ ।

जसका लागि किसानको रोग ग्रसित खेतबारीमा समावेशी एवं सहभागितात्मक अनुसन्धानमार्फत् परीक्षण कार्य सञ्चालन तथा प्रविधि विस्तार गर्ने रहेको छ । परियोजनाअन्तर्गत चारजना पिएचडी तथा पाँचजना एमएस्सीका दीर्घकालीन तालिम कार्यक्रममार्फत् अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गरिने बताइएको छ । करिब छ सय व्यावसायिक किसान र ६० कृषि प्रसार कार्यकर्तालार्ई परियोजनाबाट विकसित प्रविधिसम्बन्धी तालिम प्रदान गरिने नार्कले जनाएको छ । २०८३ मा सम्पन्न हुने परियोजनाको बजेट करिब पाँच लाख पाँच हजार अमेरिकी डलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज