काठमाडौं । विद्युतीय सवारी तथा सामग्रीबारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ मेला काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेला उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरण प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अघि बढाएको बताउनुभयो । सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको उहाँको भनाइ थियो ।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र संघीय संसद्मा पेश हुने चरणमा रहेको जानकारी गराउँदै मन्त्री बस्नेतले विद्युतीय सवारीसाधन प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रूपमा अघि बढाउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । सरकारले देशभर नै पाँच सय चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशनमध्ये धेरैजसो सञ्चालनमा आइसकेका छन् ।
वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको भन्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताउनुभयो । विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालस्थित भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो । तीनदिने मेला मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्ट्स, एक्जिविसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भएको हो ।
मेलामा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका स्टल रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts