काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले चीन भ्रमण रद्ध गर्नुभएको छ ।
चीनले भर्खरै सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर पुरानै नक्सा राखेको भन्दै चीन भ्रमण रद्द गर्ने निर्णय गरेको उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाउनु भएको छ ।
चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।
उहाँले लेख्नुभएको छ, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।’
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भएको बताउँदै उहाँले लेख्नुभएको छ, 'त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।'






