काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संगठन (इफाप्का) को ४६औँ सम्मेलनको तयारी सुरु भएको छ । सम्मेलनमा सहभागी हुने विदेशी अतिथिलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने क्रम सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
सम्मेलनको प्रचारप्रसार उपसमिति संयोजक महासंघका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले फिलिपिन्सको राजधानी मनिला पुगेर अतिथिहरूलाई सम्मेलनका लागि निमन्त्रणा हस्तान्तरण गर्नुभएको छ । घिमिरेले फिलिपिनी कन्स्ट्रक्सन एसोसिएसनका अध्यक्ष रोनाल्डो एलिपानो, कार्यकारी निर्देशक इबारा ब्यारी जी. पोउलिन्हो, इफाप्काका कार्यकारी निर्देशक लेभिभी एसपिरितु, इफाप्का सचिवालयकी मेलोडिडियो निसियोलगायतलाई मनिलामा भेटी आमन्त्रण गर्नुभएको महासंघले जनाएको छ । इफाप्काको मुख्यालयसमेत रहेको मनिलामा भएको छलफलमा घिमिरेका साथमा निर्माण व्यवसायी अक्कलबहादुर तामाङ पनि रहनुभएको थियो ।
इफाप्कासहित फिलिपिनी कन्स्ट्रक्सन एसोसिएसनका पदाधिकारीसँग घिमिरेले ४६औँ सम्मेलनलाई भव्य रूपमा सफल बनाउन नेपालले गरिरहेको तयारीबारे अवगत गराउनुभएको छ । इफाप्काको ४६औँ सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुँदैछ । हाल महासंघ अध्यक्ष रविसिंह इफाप्का अध्यक्षको भूमिकामा रहनुभएको छ । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलिपिन्स, मलेसिया, सिंगापुरलगायतका १८ देश आबद्ध छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता