यती, ओम्नी र चियाबगान प्रकरणमा छानविन गर्न सरकारलाई ओलीको चुनौती

‘एमालेको उद्देश्य महान् छ, कमिसनका पछाडि हिँड्ने पार्टी होइन’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी-इस्टेटलगायत प्रकरणमा छानविन गर्न सरकारलाई चुनौती दिनुभएको छ । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यी प्रकरणमा छानविन गर्दा पनि आफूलाई फरक नपर्ने बताउनुभएको हो । ‘त्यतिबेलादेखि अहिलेसम्म छानविन गर भनिराखेका छौँ त । के यती होल्डिङस्, यती होल्डिङस् भनेर कराइरहेको, वाइडबडी, गर न त छानविन अनि जाऊ आफैँ जेलमा’, उहाँले भन्नुभयोे, ‘वाइडबडीको छानविन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललितानिवास भन्दै थिए । अहिले कस्तै भागा रे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैँ त्यसमा फसिरहेको उहाँको भनाइ छ । ओलीले गिरीबन्धु टी इस्टेटको जग्गा पहिले कानुनबिना बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको दाबी गर्नुभयोे । ‘अहिले चियाबगान निस्केको छ । गर न छानविन, बिना कानुन ०५३ सालमा १९ बिघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानविन गर । ०६० कि कति सालमा बिनाकानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानविन गर जेल जाऊ’, उहाँले भन्नुभयोे, ‘हामीले कानुन बनाइदिएका हौँ । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौँ । बनाइदिएका छौँ ।’ उहाँले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान् उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताउनुभयो । उहाँले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको भन्दै आफूले अहिलेसम्म नदेखेको र सुनेको मात्रै जिकिर गर्नुभयो ।

उहाँले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैँले सुन तस्करी गरेको आरोप लगाउनुभयो । त्यसमा अरूको ध्यान नजाओस् भनेर केपी ओलीले पशुपतिमा सुन भनेर पित्तल चढाएको विषय निकालेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

नेकपा प्रचण्डले फुटाएको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गराएको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरूसँगको कार्यक्रममा उहाँले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाउनुभयो । अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ ।

‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिपल्ट दर्ता गर्न जाँदा हुन्थ्यो’, कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले भन्नुभयोे, ‘नाम मात्रैको कुरा थियो । तर, त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिँजाएर कम्युनिष्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए, भागे ।’ त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँठगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताउनुभयो । अध्यादेश जारी गर्ने हुँदैन भनेर असंवैधानिक क्रियाकलाप भनेर अदालतमा पुगेर मुद्दा फिर्ता ल्याउनेहरू २० प्रतिशतमा फुटाउने भनेर लागे । ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोसिस गरेको र माधव नेपाललाई मद्धत गरेको उहाँको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *