प्रधानमन्त्रीद्वारा नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवासको उद्घाटन

‘सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरको भैँसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय एवं निवासको उद्घाटन गर्नुभएको छ । उहाँले आइतबार नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरणसमेत गर्नुभएको हो । सो अवसरमा कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री निवासको अवलोकन पनि गर्नुभएको थियो ।

निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभयो । मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको जिकिर गर्नुभयो ।

ADVERTISEMENT

प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो । ललितानिवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उहाँले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रूपमा लिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको दिन, कस्तो दिन पनि परेको महसुस गरेँ भने ललितानिवास प्रकरणको सबै अभियोजन आज सरकारी वकिल कार्यालयमा बुझाएको दिन परेको छ । सुशासनको पक्षमा हामी एककदम अगाडि बढ्ने दिन पनि भन्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘र, अन्य कुराहरू पनि त्यसरी अगाडि जानेछन् ।’

प्रधानमन्त्रीले प्रदेशको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । संघीयतामाथि प्रश्न उठाउनेहरूलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्रीले संघीय मन्त्रीहरूको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *