कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च पुग्यो एमाले

संविधानविपरीत विश्वासको मत लिएको जिकिर

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहनु भएका अध्यक्षमण्डलका सदस्य तथा कांग्रेस सांसद इस्राइल मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो । सभामुखको भूमिकामा रहनुभएका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरिपाऊँ भनी रिट दायर गरिएको एमाले प्रमुख सचेतक भण्डारीले बताउनुभयो ।

उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी दुर्गाबहादुर दाहालले नेपालको संविधानको धारा १३३ (२), (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको हो । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालय विरुद्धमा मुद्दा दर्ता गराउनुभएको हो ।

रिट निवेदनमा गैरसंवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गर्न माग गरिएको छ । थापाले विश्वासको मत लिएर नियुक्ति हुनसक्ने अवस्था नभएको भन्दै कार्कीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग पनि गर्नुभएको छ । ‘मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नै नसक्ने र पुनः निजले सो अवसर पनि प्राप्त गर्न नमिल्ने र नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुन पाउने मेरो संवैधानिक अधिकार नै भएकाले प्रत्यर्थी प्रदेश प्रमुखलाई नेपालको संविधान धारा १६८ (३) बमोजिम निवेदकलाई मुख्यमन्त्री नियुक्ति गर्नु गराउनु भनी परमादेशलगायत अन्य उपर्युक्त आदेश जारी गरिपाऊँ’ रिट निवेदनमा उल्लेख छ ।

ADVERTISEMENT

यस्तै, रिट निवेदनमा मुद्दाको टुंगो नलागेसम्म सरकारले दीर्घकालीन असर पर्ने प्रकृतिका काम कारबाही र निर्णय गर्नु सर्वथा अनुचित, गैरसंवैधानिक, गैरसंसदीय र संवैधानिक नैतिकताको विपरीत हुने भएकोले त्यस्तो कुनै पनि काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश गर्नुपर्ने माग पनि गरिएको छ । यस्तै, कार्कीले यसअघि साउन ११ गते सर्वोच्च अदालतले दिएको आदेशको मुख्यमन्त्री थापाले उल्लंघन गरेको भन्दै अदालतको अपहेलनामा कारबाही गरी हदैसम्म सजाय गर्न माग गर्नुभएको छ ।

रिटको सुनुवाइ आज हुने
उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा आज (बिहीबार) नै सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा बिहीबार नै सुनुवाइ हुन लागेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट बिहीबारको पेसीमा चढेको छ । उक्त रिट बिहीबार एक न्यायाधीशको इजलासमा पेस भई अल्पकालीन अन्तरिम आदेश वा अन्तरिम आदेशको माग हुन सक्नेछ । सर्वोच्चले अन्तरिम आदेश दिएमा कोशी प्रदेश सरकार फेरि पनि कामचलाउ बन्नेछ ।

बुधबार संसद् अवरुद्ध
मुख्यमन्त्री थापाले आफूलाई सत्तामा टिकाइराख्नका लागि सभाको अध्यक्षता गरेका मन्सुरीलाई मत हाल्न लगाएको विरोधमा प्रतिपक्षी एमाले र राप्रपाले बुधबार कोशीको संसद् चल्न दिएनन् । सभाध्यक्षले सभा सुरु गर्नै लाग्दा एमाले र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका थिए । सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच सोमबार विश्वासको मत लिनुभएको थियो । सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै एमाले र राप्रपाले बहिष्कार गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?