विविधतायुक्त नेपाली समाज र संस्कृतिले मानव संस्कृतिबाहेक जीवजन्तु, पशुपक्षीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महत्व दिएको छ । यस्ता खालका जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्व रहिआएको छ । तसर्थ नागलाई हिन्दूधर्ममा देवता समान मानिएको छ । जुन भगवान् विष्णु शेषनागलाई नै शैøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबारै मन पर्छ । यो पर्व प्रत्येक साल श्रावण शुक्ल पञ्चमीका दिन पर्दछ । तर, यस वर्ष नागपञ्चमी भाद्र ४ गते सोमबार परेको छ । जसमा भन्ने हो भने नागपञ्चमीको दिनमात्र होइन हिन्दू चलन अनुसार घर बनाउन जग खन्ने बेलामा पनि सुरुमा नागदेवताको पूजा गर्ने चलन छ ।
कतिपयले त आफ्नो घरमा नाग देवताको स्थापना गरेर हरेक सोमबार घरका मुलीले पूजा गर्ने पनि चलन छ । जो कोहीको घरमा यसरी नागको स्थापना गरेको हुन्छ । त्यो घरमा हेरेको शुभकार्य गर्नुअघि, चाडपर्वलगायत हरेकमा सबैभन्दा पहिले नाग देवताको पूजा गर्ने र भाग छुट्टाउने चलन पाइन्छ । योसँगै कतिपयले त आफ्नो भाकल पूरा गर्न अर्थात् आफ्नो काम वा मनोकामना पूरा गर्न भगवान्सँग भाकल गर्ने र त्यो कामना पूरा भएपछि चाँदी, सुन वा फलामको नागको स्वरूप चढाउने गरेको पाइन्छ । प्रकृतिबाटै नागले बहुमुखी प्रतिभा पाएको छ । विभिन्न धर्ममा नागलाई विभिन्न किसिमले व्याख्या गरिन्छ । नागको स्वरूपबारे विचार गर्दा यसको बाहिरी कान हँुदैन तर पनि यसले सुन्छ जसले गर्दा यसले आँखाले सुन्छ भन्ने जनविश्वास छ । यसले लगातार जिब्रो बाहिर निकालिरहने हुँदा यो हावा मात्र खाएर पनि बाँच्न सक्छ भन्ने विश्वासको जन्म भएको हुनुपर्छ ।
यसर्थ नागजातिको काँचुली फेरेपछि नागले लामो आयु पाउँछ भन्ने विश्वास प्रायः संसार भरि नै पाइन्छ । काँचुली फेर्ने क्रममा नागले बूढो रङ्गहीन छाला त्यागेर नयाँ फुर्तिलो र चम्किलो जीवनाधार प्राप्त गर्ने हुन्छ । यो प्रक्रिया एक प्रकारले पुनर्जन्ममा वृद्ध शरीर त्यागेर आत्माले नयाँ शरीरमा प्रवेश गरेको जस्तो देखिन्छ । यद्यपि, नागपञ्चमीका दिन नागको पूजा गर्दा मानिसहरूले विभिन्न जात र आकृतिका सर्पहरूका चित्र र मूर्ति बनाएको, सर्पका चित्रहरू टाँसेको, सर्पलाई दूधको धारा दिएको अथवा सर्पकै चित्रहरू रथमा राखेर जात्राहरू चलाएको आदि हामीले देखेका छौँ । यसले हाम्रो सांस्कृतिक धारणमा नाग भनेको सर्प हो । जुन सर्पको पूजा गरेपछि वर्ष दिनसम्म सर्पको डर हँुदैन भन्ने छाप परेको देखिन्छ ।
नेपालका पुराण, वंशावली र अनुश्रुतिहरूमा प्राचीन नागजातिका चर्चापरिर्चा पाइन्छ । प्राचीन कालमा नेपाललाई ‘बासुकी क्षेत्र’ पनि भनेको देखिन्छ र विक्रमको चौध्रौं पन्ध्रौं शदीसम्म नेपालीहरूले धार्मिक काम गर्दा यस्तो संकल्प पढ्थे ‘जबमूद्वीपे, भरत खण्डे, हिमबत्पादे, बासुकी क्षेत्रे, श्री नेपाल देशे’ भन्ने प्रचलन थियो ।
मत्स्य पुराणमा प्राचीन पर्वतीय जातिहरूको वर्णन गर्दा गन्धर्भ, किन्नर, यक्ष, राक्षस, विद्याधर, किम्पुरुष, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ । जुनसुकै धार्मिक पुराणहरू अध्ययन गर्ने हो भने पनि नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्बन्ध विष्णुसित भएको र गरुढ नागहरूको बैरभाव भएको सन्दर्भ पनि उल्लेख भएको पाइन्छ । यी उल्लेखीत सन्दर्भलाई सरसर्ति हेर्ने हो भने पनि शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीबीच संधर्ष र सम्झौता भएको संकेत दिन्छ तर बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ ।
कतै यसको दोष देखाइएको पाइन्न । बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरूमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान र अमरताको प्रतीकको रूपमा पेस गरिएको छ । त्यस्तैगरी विष्णुपुराण र भागवतअनुसार वसुदेवको कुलमा उत्पन्न भएका विष्णुका अवतार श्रीकृष्ण स्वर्गारोहण हुनु भएपछि मानिसहरू पापमा रमाउन थाले । त्यसैबेलादेखि कलियुगको आरम्भ नागपञ्चमीकै दिन भएकाले पात्रोमा कल्की जयन्ती भनी लेखेको हुन्छ । नागपूजा श्रावण शुक्लपश्चमी तिथिमा नै किन ? भन्ने प्रश्न आउनसक्छ ।
लौकिक कथाअनुसार एउटा किसानले खेत जोतिरहेको बेलामा हलोमा परी धेरै सर्पहरू मरे । सो कुरा सर्पमाताले थाहा पाएर किसानको सपरिवारलाई नै मार्ने संकल्प लिइन् । किसानकी छोरीले चाल पाएर श्रद्धा भक्तिपूर्वक नागको पूजा गरिन् । नागमाताको क्रोध शान्त भयो र किसान परिवारले अभयदान पाए । सो दिन श्रावण शुक्लपञ्चमीकै दिन थियो । सोही दिनबाट नाग पूजा गर्नुपर्दछ सो दिन हलो जोत्नु हुँदैन भन्ने परम्परा चलेको पाइन्छ ।
अन्त्यमा भन्नुपर्दा नागलाई खुसी पार्न नसक्ने वा नागलाई बाधा पर्ने काम गरे हिन्दू परम्परामा नाग लाग्यो भनेर नाग दोष नास गर्न पूजा गर्ने चलन छ । यसमा खासगरीकन भन्ने हो भने ससाना बच्चाले थाहा नपाई जहाँ पायो त्यही पिसाब फेर्नाले लिंग सुनिने साथै ठूलो मान्छेको पनि शरीरका विभिन्न भागमा घाउ आउने, अंगहरू अररो हुने वा सुन्निने हुन्छ । यसरी नाग लागेपछि कपासको नाग बनाएर विधिपूर्वक पूजा पनि गर्ने गरिन्छ । यसरी पूजा गरेमा नाग लागेकोबाट फुकुवा हुने जनविश्वास छ ।
नेपालका पुराण, वंशावली र अनुश्रुतिहरूमा प्राचीन नागजातिका चर्चापरिर्चाहरू पाइन्छ । प्राचीन कालमा नेपाललाई ‘बासुकी क्षेत्र’ पनि भनेको देखिन्छ र विक्रमको चौध्रौं–पन्ध्रौं शदीसम्म नेपालीहरूले धार्मिक काम गर्दा यस्तो संकल्प पढ्थे ‘जबमूद्धीपे, भरत खण्डे, हिमबत्पादे, बासुकी क्षेत्रे, श्री नेपाल देशे’ भन्ने प्रचलन थियो । नाग भनेको सर्पमात्र होइन र त्यो मानवकै एउटा जाति पनि हो भन्ने कुरा एकदम प्रष्ट हुन्छ । घरमा नाग टाँसनाले दैवी शक्तिबाट हुने विपत्तिबाट जोगिने लोकोकृत रहेको पाइन्छ । यसबाट वर्ष दिनभरिमा कुनै किसिमको भय त्रासबाट विचल्लीबाट जोगिन सकिन्छ ।
नेपालमा प्रत्येक साल नेपालीहरूले आआफ्नो घरमा नागको विभिन्न रूपका चित्र अंकृत तस्वीर टाँस्ने प्रचलन रहेको कुरा सबैलाई अवगत नै रहेको छ । नागपञ्चमीको रूपमा नाग पूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिहरूको संस्कृति बन्न पुगेको हो । यसबाट प्रशन्न भएका ब्रहृमाले मानवजातिलाई यस पञ्चमीका दिन श्रद्धा भक्तिपूर्वक नागको पूजा गरेमा अनिष्टको निवारण र ऐश्रर्यको प्राप्ति हुन्छ । जहाँ नाग रहन्छ त्यहाँ पानी हुन्छ भन्ने धार्मिक विश्वासका आधारमा हिन्दू धर्मावलम्बीहरूले नागको पूजा गर्ने गरको छन् । संस्कृतिविद्हरूको अनुसार सबै पोखरी, दह, कुण्डलगायतका पानी जम्मा हुने ठाउँलाई नागको प्रतीकका रूपमा लिइन्छ ।






