काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको खुद नाफा बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५८.०५ प्रतिशतले नाफा वृद्धि गर्दै सात करोड ८८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले चार करोड ९८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ५९ पैसा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको छ । असारसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ चार सय १९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १७३.३८ गुणा रहेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको कुल आय समग्रमा १०.४७ प्रतिशतले बढेर ९५ करोड ५८ लाख ७७ हजार पुगेको छ ।
कम्पनीको बिक्री आय सात अर्ब १७ करोडबाट २२.४९ प्रतिशत बढेर आठ अर्ब ७८ करोड २९ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो । १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ३६ करोड ५६ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । जुन अघिल्लो आवको तुलनामा छ करोड २० लाख अर्थात् ४.७६ प्रतिशतले बढी हो । कम्पनीले नुन, चिनी, ग्याँस, रासायनिक मलका साथै विभिन्न खाद्यवस्तुको कारोबार गर्दै आएको छ ।
विद्यमान बैंकिङ तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाका कारण तथा सरकारको निर्देशनसमेतको पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्नुपरेका कारण कुनै वस्तुमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाले अपेक्षित रूपमा मुनाफा आर्जन गर्न नसकिरहेको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts