नवलपरासी । भर्खरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आशाको किरण पलाएको छ । बर्दघाट-१२ मा चार वर्ष अगाडि स्याङ्जा विरुवा किचनासबाट बसाइँ सरी आउनुभएका शुकबहादुर नेपाली र श्रीमती जौमाया नेपालीको घरमा कक्षा १२ को नतिजाले बिहान उदाउँदो सूर्यको किरण जस्तै आशाको किरण देखिएको छ । छोरी नीराको कक्षा १२ मा उत्कृष्ट नतिजा आएसँगै परिवारमा खुसी र उत्साह छाएको छ । नीराले बर्दघाट-१ मा रहेको वाल्मीकि माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा ३ दशमलव ७४ जिपिए ल्याएर सामुदायिकतर्फ नवलपरासी जिल्ला प्रथम हुनुभएको छ । जुन नतिजाले नेपालीको घर परिवारमा शिक्षाको ज्योति मात्रै होइन जीवनको आशाको किरण पलाएको हो ।
सामान्य लेखपढ मात्रै जान्ने नीराको बुवा शुक्रबहादुर नेपाली भन्नुहुन्छ, ‘छोरी नीराको नतिजाले हाम्रो परिवारमा पनि साँच्चिकै अब सुखका दिन आउँछन् कि जस्तो लागेको छ । हाम्रो परिवारबाट कोही पनि सरकारी जागिरे छैनन् छोरीले सरकारी जागिर खाएको हेर्न मन छ । ‘नेपाली दम्पतीले सोचेजस्तो सरकारी जागिर खाने निरा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बुवा आमाको सपना पढाइबाट नै पूरा गर्छु भन्ने सोचेकी छु । सरकारी जागिर खाएर अफिसर बन्न मन छ ।’
तीन छोरी र एक छोरा रहेका नेपाली दम्पतीकी माइली छोरी नीराले आशा जगाउनुभएको छ । नीराकी आमा जौमाया नेपाली भन्नुहुन्छ, ‘छोरीको नतिजाले अबका केही वर्षमा छोरीले जागिर खान्छे होला नि ? अनि हाम्रो पनि दिन आउँछन् कि ∕ भगवान्ले सबैलाई हेर्छन् भन्छन् । हामीलाई पनि ईश्वरले हेर्न लागेजस्तो छ ।’
बिहान बेलुका मेलापात गर्ने शुकबहादुर र जौमाया नेपाली दुवै साक्षर मात्रै हुनुहुन्छ । ‘पढाइबाट राम्रो गर्न सकिन्छ भन्ने सुनेको छु हाम्रो घर परिवारमा धेरै पढेको पनि कोही छैन । छोरीले राम्रो पढेकी छिन् र त्यहीअनुसार नतिजा आयो हामी खुसी छौँ ।’ गहभरी आँसु बनाउँदै शुक बहादुरले भन्नुभयो ।
आत्मनिर्भर अनि स्वाभिमानी स्वभाव कि नीराको अनुशासन, लगनशील अनि क्षमताको कारण विद्यालयले छात्रवृत्ति प्रदान गरी सहयोग गरे तापनि उहाँले कहिल्यै आफ्नो आर्थिक समस्या देखाएर विद्यालयमा कुनै पनि सहयोगको माग गर्नुभएन । बिहान बेलुका सधैँ घरको काममा बुवा आमासँगै मेलापातमा साथ दिने, नेपालमै दलित समूहतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल नीरालाई बधाई दिन पुग्दा उहाँ पनि प्रचण्ड गर्मी भदौका टन्टलापुर घाममा बुवा आमासँगै खेतमा धान गोडिरहनु भएकी भेटिनुभयो ।
नीरालाई पढाउने शिक्षक प्रेम सापकोटा र जीवन पराजुलीतर्फ इंकित गर्दै नीराका बुवा शुक्रबहादुर भन्नुहुन्छ, ‘सर हामीलाई त केही थाहा छैन । १० र १२ कक्षामा तपाईंले नै पढाउनुभयो अब पनि के कसो हो तपाईंहरू नै जानेसुन्ने हुनुहुन्छ । तपाईंहरूले बाटो देखाइदिनुहोस् ।’
‘महिनाको एक हजार पाँच सय घरभाडा तिर्ने, खाना र बस्न पर्ने, अहिलेको परिस्थिति अनुसारको खर्च चलाउनुपर्ने नियमित आम्दानी केही नहुँदा निकै गाह्रो भएको छ ।’ दिउँसो ४ बजेतिर खेतमा काम गरिरहनु भएका शुकबहादुरले सुस्केरा हाल्दै भन्नुभयो, ‘हामीले जति दुःख गरे पनि छोराछोरीलाई यस्तो दुःख नपरोस्,’ उहाँले भन्नुभयो ।
उहाँहरू अहिले भाडामा बसेर ज्याला मजदुरी, अधिया ठेक्का गरि जीवन चलाइरहनु भएको छ । उहाँहरू भन्नुहुन्छ, ‘जीवनभर नै अरूको मेला पात गरेरै बित्छ कि जस्तो लागेको थियो । छोरीले माथि–माथि पनि यस्तै नतिजा ल्याइन् भने त अब यस्तै दुःख धेरै वर्षसम्म गर्न पर्दैन कि ।’ अहिले अरूको १० कठ्ठा खेत अदिया गरी जीविकोपार्जन गरिरहनु भएका नेपाली दम्पतीले राज्यको सहयोग पाए पशुपालन तथा कृषि गर्ने बताउनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts