डेढ अर्ब पुनर्कर्जा प्रवाह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० असार मसान्तमा एक अर्ब ५० करोड रहेको छ । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत् प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असारमा कुल एक लाख ४५ हजार सात सय ७८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९७ अर्ब छ करोड कर्जा बक्यौता रहेको छ । जसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार तीन सय ५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार सात सय १८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुर्ई हजार सात सय १० ऋणीको दुई अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्र्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय तथ्यांकअनुसार व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असारमा ७० करोड ९४ लाख बक्यौता रहेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले बढेको थियो । २०८० असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७, २६.६ र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.९, २७.६ र ५५.८ प्रतिशत रहेको थियो । २०८० असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असारमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत थियो ।

ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत् प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असारमा कुल एक लाख ४५ हजार सात सय ७८ ऋणीलाई प्रवाह भएको एक खर्ब ९७ अर्ब छ करोड कर्जा बक्यौता रहेको छ ।

त्यस्तै, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ र ३६.७ प्रतिशत थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.५ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह ७.६ प्रतिशत र वित्त कम्पनीको ०.६ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

२०८० असारमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घरजग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७९ असारमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ र १२.३ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.६ प्रतिशत र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा १२ वाणिज्य बैंकहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भई छ वाणिज्य बैंक बनेका छन् । त्यसैगरी १६ लघुवित्त वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर आठ संस्था कायम भएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको संख्या २०८० असारमा एक सय १२ रहेको छ । जसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७९ असारमा १० हजार पाँच सय २८ रहेकोमा २०८० असारमा ११ हजार पाँच सय ८९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज