पुस्तक : ‘दृष्टि : दृष्टिकोण’ मैनालीको समालोचनासङ्ग्रह

सुशीला घिमिरे
सुशीला घिमिरे
Read Time = 8 mins

युवराज मैनाली नेपाली साहित्यमा चिनाइरहनुपर्ने नाम होइन । अन्य विधामा पनि कलम चलाउँदै आउनु भएका मैनालीको ख्याति समालोचनामा बढी छ । साहित्यिक कार्यक्रमहरूमा सक्रियताका साथ संलग्न हुँदै आउँनु भएका मैनाली लेखनमा पनि निरन्तर लागिरहनु भएको छ । पूर्वप्रशासक समेत रहनु भएको मैनालीको हालै एउटा पुस्तक प्रकाशित भएको छ ‘दृष्टि : दृष्टिकोण’ । उहाँको समालोचनासङ्ग्रह हो भने यो पुस्तक डिएमआई साइजमा छ । साझा प्रकाशनबाट प्रकाशित भएको यस पुस्तकको छपाइ स्तरीय छ भने अशुद्धिहरू कतै-कतै मात्र पाइन्छन् । पहेंलो तौलयुक्त कागज यस पुस्तककमा प्रयोग भएको छ ।

पहिलो संस्करणका रूपमा २०७९ सालमा छापिएको यस पुस्तकको मुद्रण साझा प्रकाशनको छापाखाना, पुलचोक ललितपुरमा भएको छ । पुस्तक भूमिका खण्डमा आठ र पाठ्य खण्डमा ३१२ सहित ३२० पृष्ठको छ भने मूल्य ५८० रुपैयाँ । पुस्तकको आवरण सामान्य छ । माथि सेतो पृष्ठभूमिमा पुस्तकको शीर्षक ठूला काला अक्षरमा ‘दृष्टि : दृष्टिकोण’ राखिएको छ । बीचमा गोलो चक्रभित्र मानिसको आँखो जस्तो लाग्ने अमूर्त चित्र छ । त्यसले कुनै कुरामा दृष्टि दिइरहेको अर्थमा उक्त चित्र राखिएको हुनसक्छ । तल कलेजी रङको पृष्ठभूमि छ र त्यसमा समालोचक मैनालीको नाम साना सेता अक्षरमा ‘युवराज मैनाली’ भनेर राखिएको छ ।

यी समालोचनात्कम लेखहरूमा धेरैजसो कृतिपरक समालोचना छन् भने केही व्यक्तिकेन्द्री पनि रहेका छन् । साहित्यका प्रायः सबैजसो विधालाई उहाँले समेट्नु भएको छ । कवितासङ्ग्रह र उपन्यास धेरै सङ्ख्यामा आएका छन् । साथै निबन्ध सङ्ग्रह, मुक्तकसङ्ग्रह, महाकाव्य र लघुकथाहरूका कृतिहरूमाथि पनि समालोचना गरिएको छ ।

पृष्ठ आवरण सामान्य छ । सेतो पृष्ठभूमिमा माथि समालोचकको फोटो छ र त्यसमुनि उहाँको सामान्य चिनारी रहेको पाइन्छ । जसअनुसार उहाँ २०१७ साल चैत १० गते कानपुर १ काभ्रेपलाञ्चोकमा माता रेवती मैनाली तथा पिता केदार मैनालीका छोराका रूपमा जन्मिनुभएको थाहा हुन्छ । हाल उहाँ धूमवाराही काठमाडौंमा बस्तै आउनुभएको जानकारी यही पृष्ठबाट पाउन सकिन्छ । यहीँ उहाँका पूर्वप्रकाशित पुस्तकहरूको नाम दिइएको छ । जसअनुसार उहाँ समालोचना क्षेत्रमा नाम कमाउनु भए पनि अन्य विधामा कलम चलाउँदै आउनुभएको छ भन्ने जानकारी पाइन्छ । उहाँको मुर्दा बोल्यो कथासङ्ग्रह, भ्रष्टाचारको भाङ व्यङ्ग्य-निबन्धसङ्ग्रह र पृथक बाटो लघुकथासङ्ग्रह समालोचनाभन्दा पृथक विधाका पुस्तक भएको जानकारी पाइन्छ ।

ADVERTISEMENT

बाँकी केही प्रतिभा : केही प्रवृत्ति, समको पौराणिक नाट्यकौशल र कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण भने उहाँका समालोचना सङ्ग्रहकै रूपमा आएका देखिन्छन् । यही पृष्ठमा साझा प्रकाशनको लोगो र मुद्रक संस्थाको नाम दिइएको छ । भूमिका खण्डमा प्रकाशक संस्था साझा प्रकाशनको प्रकाशकीय, समालोचक मैनालीको आफ्नै कुरा छन्, त्यसपछि विषयसूची छ ।

यस समीक्षासङ्ग्रहमा समीक्षक मैनालीले विनोद अश्रुमाली, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, माया ठकुरी, नरेन्द्रराज पौडेल, अनिता तुलाधर, शङ्कर लामिछाने, चट्याङ मास्टर, बाजुराम पौडेल, ठाकुर शर्मा भण्डारी, हरिभक्त सिग्देल महेश, गङ्गा कर्माचार्य पौडेल, किशोर पहाडी, कलानिधि दाहाल, तीर्थराज अधिकारी, राधेश्याम लेकाली, श्रीहरि फुँयाल, कृष्ण धराबासी, प्राडा. खगेन्द्रसप्रसाद लुइँटेल, विमल भौकाजी, डा.दुबसु क्षेत्री, राम लामा अभिलाशी, नयनराज पाण्डे, विद्यानाथ घिमिरे, युवराज नयाँघरे, लालगोपाल सुवेदी, अच्युत घिमिरे र रवीन्द्र समीरका पुस्तकहरू समेटेर समालोचना गर्नुभएको छ ।

यी २९ वटा समालोचनात्कम लेखहरूमा धेरैजसो कृतिपरक समालोचना छन् भने केही व्यक्तिकेन्द्री छन् । साहित्यका प्रायः सबैजसो विधालाई उहाँले समेट्नु भएको छ । कवितासङ्ग्रह र उपन्यास धेरै सङ्ख्यामा आएका छन् । निबन्धसङ्ग्रह, मुक्तकसङ्ग्रह, महाकाव्य र लघुकथाहरूका कृतिहरूमाथि पनि समालोचना गरिएको छ तर तिनको सङ्ख्या कम छ । व्यङ्ग्यमाथि समालोचना भएको छ तर व्यङ्ग्य साहित्यको विधा नभएर भावमात्र भएका कारण ती निबन्धकै रूपमा आएका छन् ।

यस पुस्तकमा समेटिएका कृतिहरूमा जूनकीरी, अकविता, रहर लागेर, सन्तान, गमलाको फूल, रित्तो सहर, विज्ञानको कैदी, चट्याङ गीता, जूनकीरी, प्रकृतिमा मान्छे, गौराङ्ग, गङ्गाका छाल, कलानिधिका चुनिएका कविता, निरङ्कुशता, अनिदो आँखामा, शरणार्थी, राधा, जसको जोत उसको पोत, अश्वमेघ यज्ञका घोडाहरू, पिल्सिएको परदेशी मन, उलार, छैटौं इन्द्रिय, नीलडाम, रोटीको दन्त्यकथा, शिखर चढिरहेको मान्छे र अणु र पहाड रहेका छन् । अरूका कृतिहरू मेहनतका साथ पढेर समालोचना गर्ने समालोचक मैनाली धन्यवादका पात्र हुनुहुन्छ । उहाँलाई पुस्तकका लागि धन्यवाद तथा बधाई । उहाँबाट नेपाली साहित्यले यस्ता अन्य पुस्तकहरू पनि पाइरहोस्, त्यसका लागि उहाँलाई अग्रीम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?