कर्मफलका आध्यात्मिक र भौतिक पक्ष

डा. नारायणप्रसाद निरौला
डा. नारायणप्रसाद निरौला
Read Time = 12 mins

कर्म भनेको काम हो र फल भनेको सोही कार्यको लाभ हो । जस्तो कर्म गरेको छ त्यस्तै फल पनि प्राप्त हुने गर्दछ । सुन्तला रोप्नु, गोड्नु, मल, पानी हाल्नु कर्म हो । यति गरेपछि सुन्तला फल्नुपर्छ । नफल्न पनि सक्छ । फल लाग्यो भने कर्म सफल भयो र फल लागेन भने कर्म विफल भयो भन्ने हाम्रो भौतिकवादी मान्यता हो । फल लाग्न पनि सक्छ नलाग्न पनि सक्छ । फले स्वीकार गर फल नलागे फलको आशा नगर केवल आफ्नो कर्म गर भन्नु अध्यात्मिक पक्षलाई स्वीकार गर्नु हो ।
भौतिकवादीको कर्म र अध्यात्मवादीको कर्ममा यही भिन्नता रहन्छ । अध्यात्ममा कर्मको निरन्तर शृङ्खला लाखौंलाख जुनिसम्म चलिरहन्छ तर भौतिक मतमा कर्म केवल एक मनुष्य योनिका लागि मात्र हो । भौतिकवादीले तत्काल फलको आश गर्छन् भने अध्यात्मवादीले फल प्राप्त भए स्वीकार गर्दछन् तर फलको आशमा भने बाँच्दैनन् । यसैले ‘....माफलेषसु कदाचन’ (गीता) भनिएको हो ।

श्रीमद्भागवतको रहस्य पनि यही कर्मको गतिलाई दर्शाउनु हो । जति पनि कथाहरू पुराणमा उल्लेख छन् ती सबै कर्मको वेदीमा नै उभिएका पाइन्छन् । चाहे युधिष्ठिरका कथा हुन् चाहे दुर्योधनका । राजा परीक्षित पनि यस्तै कर्मको वेदीमा होमिएका उत्कृष्ट पात्र हुन् । जति पनि भागवतीय घटना घटेका छन् ती सबै कर्मकै डोरीमा उनिएका माला जस्ता छन् । पूर्वजन्ममा गरेका कार्यको प्रतिफल भोग्नु नै मानव जीवन हो । सोही कुरा नै ज्योतिषीय ग्रह नक्षत्रका रूपमा प्रतिबिम्बित हुन्छन् : ‘यदुपचितमन्यजन्मनिशुभाद्रशुभं तस्य कर्मणः पंक्तिम् । व्यञ्जयतिशास्त्रमेतत् तमसि द्रव्याणि दीपइव ।।’ (लघुजातकम्, १।३)

प्राणीले पूर्वजन्ममा शुभ या अशुभकर्म जे गर्छन् सो कर्मको परिणाम यो जातक शास्त्र यसरी प्रकाश गर्छ जसरी अन्धकारमा पदार्थलाई दीप वा बत्तीले समुज्वल बनाउँछ । यसैले हाम्रो कर्मसँग अन्यान्यजन्मको पनि सम्बन्ध जोडिएको हुन्छ । भौतिक मतमा यस्ता कुरा विश्वास गरिँदैन । मुक्ति जीवनको परं लक्ष हो । जुन कर्मको मार्गविना असम्भव रहन्छ । यसैले यो जन्म पनि पूर्वकर्मको फलभोग नै हो । मोक्षको मार्गमा अघि बढाउने एकमात्र तत्व कर्म हो । राजा परीक्षितले जरासन्धको सुनको मुकुट लगाउनु संयोगमात्र होइन त्यो उनको कर्मले आर्जन गरेको कर्मफल हो ।

प्राणीले पूर्वजन्ममा शुभ या अशुभकर्म जे गर्छन् सो कर्मको परिणाम यो जातक शास्त्र यसरी प्रकाश गर्छ जसरी अन्धकारमा पदार्थलाई दीप वा बत्तीले समुज्वल बनाउँछ । यसैले हाम्रो कर्मसँग अन्यान्यजन्मको पनि सम्बन्ध जोडिएको हुन्छ तर भौतिक मतमा यस्ता कुरा विश्वास गरिँदैन ।

यसैगरी राजा शिवि र जडभरतको मिलन, भरतको पुनर्जन्म पनि कर्मको फलभोग नै हुन् । पुरञ्जन पनि यही कर्मको फलभोगका निम्ति देखिएका पात्र हुन् । द्रौपदीको पूर्वप्रसङ्गलाई नजानी भौतिक दृष्टिबाट ब्याख्या गर्नु व्यर्थ हुन्छ । हरेक महाकाव्यका पात्रमा कर्मको पूर्वप्रसङ्ग अनुस्युत पाइन्छ । योग्य पाँच पति प्राप्त गर्ने वर स्वयम्ले मागेकी थिइन् । सोही कुरा महाभारत कालीन समयमा पूरा भएको छ । हरेक व्यक्तिको पूर्वापर जन्मजन्मान्तर कर्मको फलभोग जोडिएर आएको हुन्छ । स्वयं भगवानले लिएको चौबीस अवतार पनि कर्म योगको दृष्टान्तका निम्ति नै हुन् । संसरामा मान्छे कुनै न कुनै गुण र विशेषता लिएर आएको हुन्छ । उसले जस्तो कर्म लिएर आउँछ त्यस्तै फलको भोग पनि गरिरहेको हुन्छ ।

ध्रुवको कथा, सुनीति र सुरुचीको प्रसङ्ग पनि कर्मकै फल हुन् । पूर्वजन्ममा भाइ भएर दाजुको सेवा गरेका लक्ष्मण नै पछिल्लो जन्ममा बलराम भएर जन्म लिएको कथा पनि भागवतमा उल्लेख पाइन्छ । यसैगरी भक्तप्रल्हादको कथाले पनि यही कर्मको महिमागान गरेको पाइन्छ । ईश्वरीय चिन्तन हुनु, आध्यात्मिक बन्नु, कर्मलाई सही मार्गमा अघि बढाउनु हो । सम्पूर्ण पुराणको सार पनि ‘परोपकार पुण्याय पापाय परपीडनम्’ नै हो । परोपकारी बन्न सकियो भने हाम्रो कल्याण सम्भव छ । परोपकारी बन्ने पनि कर्मले नै हो । पुण्यात्माले नै दिग्विजय गरेको विगत पाइन्छ । सत्य नै ईश्वर हो ।

त्यसैले त ‘सत्यमेव जयते नानृतम्’ भनिएको छ । यो संसार हो । मान्छे आआफ्नै कर्म लिएर आएको हुन्छ । जे जति छ त्यो भोग गरेर इहलीला त्याग गर्छन् । सत्कर्मको फल आजै नदेखिए पनि त्यो सत्य नै हुन्छ । कालान्तरमा भोगयोग्य नै रहन्छ । हाम्रा चर्मचक्षुले देखेको मात्र संसार होइन । यसभन्दा भिन्न अनन्त संसार छ । विश्वास गर्न नसक्नु हाम्रो कमजोरी हो । हाम्रा पूर्वज ऋषिमहर्षिहरूले दिएका ज्ञान नै हाम्रा मार्गदर्शक हुन् । भौतिकवादी हुनु केवल यही क्षणिक र सीमित संसारका निम्तिमात्र हो । अध्यात्मिक पक्ष अनन्त रहन्छन् ।

ADVERTISEMENT

कर्म गर्नु नै जागरुक हुनु हो । जीवनमा कर्मयोगी मान्छे नै सफल भएका उदाहरण छन् । चाहे गान्धी हुन् चाहे मण्डेला सबै कर्मयोगकै बाटोबाट सफलता हात पार्न सफल भएका व्यक्तित्व हुन् । सबै कर्मले साथ दिएर नै त्यस स्थानमा पुगेका हुन् । हामी सबैले कर्मको नै फलभोग गर्ने हो । जे जस्तो कर्म लिएर आएका छौं त्यो भोग्नुको विकल्प छैन । यो संसार हो । यहाँ जस्ता पनि मान्छे छन् । बस्छन् र बाँच्छन् पनि ।

जीवनमा जे जति गरे पनि कर्मेतर हुँदैन । कर्महीन जीवन हुन सक्दैन । कर्मकै साहारामा हामी बाँचेका छौं । हाम्रो अस्तित्व पनि यही कर्ममै अन्तर्निहित रहेको छ । सत्कर्मको फल शुभ र असत्कर्मको फल अशुभ भोग्नु नै पर्छ जुन समग्र इतिहासले यही कुरा दर्शाएको पाइन्छ ।

जीवनमा सन्तुष्ट कोही पनि हुँदैन । सबैलाई साना ठूला पीर व्यथाले गाजि नै रहेको हुन्छ । केही न केही असन्तुष्टिको तुष लिएर नै मान्छे बाँचिरहेको हुन्छ । सुख क्षणिक लाग्छ दुःख निकै लामो र दर्दनाक फरक यत्तिमात्र हो । जसले जे जस्तो कर्म लिएर आएको छ त्यो भोग गर्नु नै पर्छ ।
‘धनानिभूमौ पशवश्चगोष्ठे भार्या गृहद्वारि जनःश्मसाने ।
देहश्चितायां परलोकमार्गे कर्मानुगो गच्छति जीव एक ।।’
अर्थात् कर्मअनुसारको जीवन नै यो चराचर जगत्मा घुमिरहन्छ । धन केवल भूमिमा रहुञ्जेलसम्मका लागि मात्र हो । पशुहरू केवल गोठसम्मका मात्र साथी हुन् । पत्नी घरको ढोकासम्मकी, देह चितासम्मको मात्र साथी हो । अन्ततः कर्मानुसारी जीवन नै परलोकमा जान्छ भन्ने नीति वचनले पनि कर्मलाई जोड दिएको छ ।

संसारका रक्षक ईश्वर हुन् । जसको सबैबाट अपहेलित छ उसका साथी ईश्वर हुन्छन् ‘अरक्षितं तिष्ठति दैवरक्षित । सुरक्षितं दैवहतंविनश्यति ।।’ यसबाट पनि सोही कुरा पुष्टि हुन आउँछ । जसको कोही केही पनि साहारा छैन उसका साथी ईश्वर हुन्छन् । त्यसैले एक्लो भएँ भनेर आत्तिनु व्यर्थ छ । ‘विहायकामान्यः सर्वान्पुर्माश्चरतिनिःस्पृहः । निर्ममोनिरहंकारः स शान्तिमधिगच्छति ।।’ अर्थात् शान्तिको श्वास फेर्ने हो भने कर्मकै मार्गमा लम्कनु आवश्यक छ । किनकि हाम्रो वशमा रहने भनेको नै कर्म हो ।

जीवनमा जे जति गरे पनि कर्मेतर हुँदैन । कर्महीन जीवन हुन सक्दैन । कर्मकै साहारामा हामी बाँचेका छौं । हाम्रो अस्तित्व पनि यही कर्ममै अन्तर्निहित रहेको छ । सत्कर्मको फल शुभ र असत्कर्मको फल अशुभ भोग्नु नै पर्छ जुन समग्र इतिहासले यही कुरा दर्शाएको पाइन्छ । पुनर्जन्म नमान्नेले पनि कर्मको फललाई स्वीकारेका छन् भने पुनर्जन्मवादीले पनि । चरेवैतिको वैदिक मूल मन्त्र पनि यही कर्मकै मार्गमा आधारित रहेकोले कर्मको मार्गविमुख अर्को संसारको परिकल्पना असम्भव छ । कर्मको भौतिक पक्ष सर्वस्वीकार्य छ । आध्यात्मिक पक्षमा भने भौतिकवादी विश्वास गर्दैनन् । रहस्यको उद्घाटनमा पनि असमर्थ छन् ।

इतिहासका पौराणिक आख्यानले पनि यही पक्षलाई दर्शाएको पाइन्छ । भौतिक भएर नभई आध्यात्मि भएर कर्म गर्न हाम्रा शास्त्रले निर्देश गरेका छन् । किनकि हाम्रो सूक्ष्म उपस्थिति जन्मजन्मान्तरसम्म रहिरन्छ । जे रोपेको छ त्यही फल्छ । जस्तो कर्म गरेको छ त्यस्तै हुन्छ । चाहे शुभ होस् चाहे अशुभ दुवैको फलभोग गर्नु नै पर्छ । आध्यात्मिक पक्षबाट कर्म गर्दा हाम्रो समग्र पक्षको कल्याण सम्भव छ भने भौतिक भएर कर्म गर्दा तात्कालिक मात्र रहन्छ । मूलतः फल प्राप्ति हाम्रो हातमा नरहने भएकाले कर्मको आध्यात्मिक पक्षमा अघि बढ्नु श्रेयष्कर देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?