✍️ वीरभद्र आचार्य
लामो समयसम्म गुरुहरूसँगको सत्संग, उपनिषद्हरूको श्रवण र मनन गरेपछि, मैले आफूलाई भौतिक वस्तु, विचार, भावना, संवेग, बुद्धि र कर्मभन्दा धेरै फरक भेट्टाएको छु । म त्यो ऊर्जाको क्षेत्र हुँ जसले यो ब्रहृमाण्डको सृष्टि गरेको छ । यतिसम्म मैले आफ्नो बारेमा बुझेको छु तर अझै म मेरो निरपेक्ष र शाश्वत स्वरूपसँग आम्नेसाम्ने छैन । जति खोज्छु उति गहिराई पाउँछु । चैतन्य भाव मेरो असली स्वभाव हो भनेर बुझेको छु तर मलाई थाहा छ मेरो खोज अनन्तमा छ । हो म काम, क्रोध, लोभ, मोह र इष्र्याभन्दा आफूलाई पर ठान्छु तर आदि शंकराचार्यले भन्नुभए जस्तै वैराग्य नै त्यहाँसम्म पुर्याउने एउटामात्र बाटो हो ।
सन्त महात्माहरूले त्यसै ‘त्याग’ भनेका होइनन् रहेछ । म सोच्न बाध्य हुन्छु, जबसम्म म विषय, सम्बन्ध र उपाधिको त्याग गर्न सक्दिन तबसम्म ममा ‘माया’ (यहाँ मायाको अर्थ ईश्वरीय माया हो) हावी हुन्छ । मलाई थाहा छ, मायाको जालबाट उम्कने एकमात्र उपाय त्याग हो, जसले मलाई सहज रूपमा वैराग्यमा पुर्याउन मद्दत गर्दछ । तर गृहस्त हुँ, गृहस्थको नाताले अझै कर्तव्यबाट च्युत हुन सक्दिन ।
म यो संसारबाट टाढा छु तर जबसम्म मसँग यो भौतिक शरीर छ, मलाई यो संसारमा रहनका लागि यी सबै भौतिक सामग्री तथा सम्बन्धहरू चाहिन्छ नै । म आफ्नो भौतिक र शारीरिक पहिचानसँग पनि चिनिँदैन किनभने यो पनि केही समयपछि विघटित हुँदै छ ।
अनि धेरै अघि पढेको पुस्तक (करिब ८०० वर्ष अघिका वेदान्तका प्रखर प्रणेता विध्यारण्य स्वामीको पुस्तक ‘पञ्चदशी’) लाई सम्झन्छु र उक्त पुस्तकमा विध्यारण्य स्वामीले भनेझैँ आफ्नो वरपरका वस्तुहरूलाई केलाएर हेर्छु, ती सबै नाशवान् पाउँछु, म मेरा सम्बन्धहरू जाँच्छु, तिनीहरू पनि नाश हुने पाउँछु, जब म आफ्नो परिवेश र सम्बन्धहरू केलाउँदै जान्छु, ती सबै अस्थायी नै पाउँछु । विस्तारै म बुझ्छु कि मेरा बुबा र आमा, दाजुभाइ र दिदीबहिनी, श्रीमती र बच्चाहरूसँगको सम्बन्ध सापेक्ष छ र मेरो मृत्युसँगै समाप्त हुन्छ । मैले यो महसुस गरेको छु कि मसँग यो भौतिक वस्तुहरूको संसारमा आफूलाई चिनाउने केही छैन ।
म यो संसारबाट टाढा छु तर जबसम्म मसँग यो भौतिक शरीर छ, मलाई यो संसारमा रहनका लागि यी सबै भौतिक सामग्री तथा सम्बन्धहरू चाहिन्छ नै । म आफ्नो भौतिक र शारीरिक पहिचान (वीरभद्र) सँग पनि चिनिँदैन किनभने यो पनि केही समयपछि विघटित हुँदै छ । मेरा बुबाले नवजात शिशुको नाम ‘वीरभद्र आचार्य’ राख्नुभयो तर त्यो केवल समाजमा त्यो शिशुलाई पहिचान दिन थियो । अनि जब म यी सबैलाई नकारेर आँखा बन्द गर्छु र ध्यानको अवस्थामा पुग्छु म मेरो वरपरको भौतिक संसारको ज्ञान गुमाउँछु । बिस्तारै ममा उब्जने भाव र विचारले मलाई छोड्छन् ।
जब ध्यान गहिरिँदै जान्छ म यो शरीरमा आफूलाई कहीँ कतै भेट्दिन । ममा मात्र एक शून्यता भेट्छु । जति आफूलाई खोज्छु त्यति नै गहिरिन्छु । त्यसपछि जब म ध्यानबाट निस्कन्छु, म वेदान्तको सहारा लिँदै भन्छु, हो ! म हाम्रो उपनिषद्को सद्वमा त्यो अनन्त हुँ, परम चैतन्य हुँ । यस भौतिक संसारमा सबै कुरा समाप्त हुँदा पनि रहिनै रहनेछु । किनकि म त्यो शून्यतालाई अनुभूति गर्ने एकमात्र तत्व हुँ र अक्षुण्ण छु । अनि म माथिको अनुभवलाई तर्कबाट प्रमाणित गर्न खोज्छु, के मेरा विचारहरू म हो त ? तर्क गर्दै जान्छु, मरो मनमा नकारात्मक र सकारात्मक दुवै विचार आउँछन् ।
यदि तिनीहरू मेरा हुन् भने म तिनीहरूलाई नियन्त्रण गर्न सक्थेँ, तर तिनीहरू अनियन्त्रित छन् । उपनिषद्मा दिगदृश्य दर्शन भने झैँ म मेरो विचारलाई अवलोकन गर्न सक्छु त्यसैले म आफूलाई मेरो विचारबाट अलग पाउँछु । केलाउँदै जाँदा मेरा भावना मेरा विचारहरू भन्दा सूक्ष्म पाउँछु । अनि तर्क गर्छु के म ती भावनाहरूको सँगालो हुँ ? तर अझै, मैले ती भावनाहरू र ममा उत्पन्न हुने संवेगहरूसँग आफूलाई चिनाउन सक्दिन, किनभने तिनीहरू स्थायी छैनन् ममा तरंगित हुन्छन् र केही क्षणमा हराउँछन् ।
यी भावना र संवेगहरूको मूल खोज्दै जाँदा पाउँछु कि ममा आर्जित सूचनाहरूले मेरो भावना र संवेगहरूलाई दिशा निर्देश गरिरहेका छन् । अनि सोच्छु, के म त्यही सूचनाको पुञ्ज हुँ त ? अनि फेरि, म सूचनाको विच्छेदन गर्छु र थाहा पाउँछु कि सूचनालाई मेरा ज्ञानेन्द्रियहरूले निर्देशित गरेका हुन्छन् । तसर्थ सूचना पनि म होइन । सूचना आर्जित हुन्छ र टुक्रा टुक्रामा आउँछ जब कि म अविच्छिन्न छु । तब म के यही पञ्च ज्ञानेन्द्रियहरूको पुञ्ज मात्र हुँ त ? फेरि सोच्छु, मेरा ज्ञानेद्रिन्यहरू मभन्दा पृथक् छन् किनकि तिनीहरू ‘म’ को अधीनस्थ छन् ।
फेरि विश्लेषण गर्छु र ज्ञानेन्द्रिय मेरा मूल हुन् त ? होइन । ज्ञानेन्द्रियहरू त बाहिरी विषयबाट प्रेरित हुन्छन् तर बुद्धिको प्रयोगबाट म मेरो ज्ञानेन्द्रियको प्रभावबाट टाढा रहन सक्छु । अर्को प्रश्न गर्छु, मेरो कार्यलाई केले उत्प्रेरित गर्छ ? म तर्क लगाउँछु, मेरो कार्यको पछाडि मेरो इच्छा शक्ति छ जसले मलाई कुनै पनि कार्य गर्न उत्प्रेरित गर्छ । जब म संकल्प गर्छु तब मबाट कुनै पनि कार्य सिद्ध हुन्छ । ज्ञानेन्द्रियको माध्यमबाट लिएको सूचनाको आधारमा कर्मेन्द्रियहरूले कर्म गर्छन् । जसले मेरा भावना र संवेग उत्तेजनालाई अभिप्रेरित गर्छ र अन्तमा मेरा विचारहरूलाई सम्प्रेषण गर्छ ।
हामी सामान्यतया विश्वास गर्छौं कि विचार कर्मका लागि पहिलो चरण हो, तर मेरो विश्लेषणमा कर्म नै विचारहरू तरङ्गित गर्ने उत्प्रेरक हो । एक भर्खर जन्मेको शिशुलाई हेरौं, जसको दिमाग खाली छ । बच्चाको उमेर बढ्दै जाँदा उसमा सोच्ने बानीको विकास हुन्छ । अर्थात्, हाम्रा पाँच इन्द्रियहरूले कार्यलाई उत्प्रेरित गर्छ र त्यो कार्यले विचारलाई उत्पन्न गर्छ । तसर्थ मेरो कर्म, भावना र संवेग र अन्त्यमा सोच्ने प्रक्रिया मेरो ज्ञानेन्द्रिय र कर्मेन्द्रिये निर्देशित गर्दछ । यिनै ज्ञानेन्द्रियबाट आर्जित सूचनाले हामीलाई कर्म गर्न अभिप्रेरित गर्छ ।
गीतामा कृष्णजीले निष्काम कर्म मात्र भन्नुभएको छैन, ‘हे अर्जुन तिमी निमित्तमात्र हौ, कर्ता भावबाट माथि उठ’ भन्नुभएको छ । मेरो मनमा ‘मैले यो गरेँ वा मैले त्यो गरे’ भन्ने भावना रहेसम्म यी भावहरूले मलाई छोड्दैनन् ।
यसो भन्दाभन्दै, कर्मभन्दा पनि अझै सूक्ष्म संकल्प शक्ति छ जसले ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुवैलाई नियन्त्रण गर्न सकिन्छ । तसर्थ सङ्कल्प शक्ति अझ गहिराइमा छ ? तर संकल्पलाई पनि कहिले काहीँ तीव्र इच्छाले विच्छेद गर्दछ । जसको अन्त्य नै छैन । यदि हामीले तीव्र इच्छालाई एकतर्फबाट नियन्त्रण गर्न खोज्यौँ भने यो अर्को छेउबाट फरक आयाममा निस्कन्छ । यदि हामीले यसलाई रोक्न खोज्यौं भने, यो विष्फोट हुन सक्छ । वैराग्य मात्र यस्तो अस्त्र हो जसले इच्छाशक्तिलाई नियन्त्रण गर्छ । प्रश्न उठ्छ के वैराग्य नै म हुँ त ? आफ्नो प्रश्नको जवाफ आफैं दिँदै भन्छु, वैराग्य स्वयंको प्राप्त गर्ने अन्तिम साध्य हो ।
अब अलि फरक प्रसंगमा जाऊँ । भौतिक शरीरमात्र मेरो पूर्ण व्यक्तित्व होइन र हुन पनि सक्दैन । मेरा भावनाहरू, संवेग, आवेग, उत्तेजनाले र यो जन्ममा मैले आर्जेको ज्ञानले मेरो पूर्ण व्यक्तित्व निर्माण गरेको हुन्छ । तसर्थ मेरो भौतिक शरीर छुट्दैमा मेरा आन्तरिक पक्षले मलाई छोडेका हुँदैनन् । यी नै आन्तरिक पक्षलाई हाम्रो ग्रन्थहरूमा सूक्ष्म शरीर भनिन्छ । जबसम्म म मेरो कर्म, भावना, संवेग र विचारहरूबाट आफूलाई अलग गर्दिन, तबसम्म यी सूक्ष्म शरीर मसँग रहिरहने छन् । सूक्ष्म शरीरबाट मुक्त हुनका लागि मैले आफूलाई कर्मबाट अलग गर्न आवश्यक छ अर्थात् मेरो सबै कार्यहरूमा ‘अकर्ता भाव’ हुनु आवश्यक छ ।
गीतामा कृष्णजीले निष्काम कर्म मात्र भन्नुभएको छैन, ‘हे अर्जुन तिमी निमित्तमात्र हौ, कर्ता भावबाट माथि उठ’ भन्नुभएको छ । मेरो मनमा ‘मैले यो गरेँ वा मैले त्यो गरे’ भन्ने भावनाहरू रहेसम्म यी भावहरूले मलाई छोड्दैनन् । जब ममा अकर्ता भाव आउँछ अथवा म निमित्त मात्र हुँ भन्ने चेत खुल्छ तब ममा वैराग्य आउँछ र मेरो महामृत्यु हुन्छ । म बुझ्छु कि आज मेरो व्यक्तित्वमा जे भइरहेको छ त्यो मेरो इच्छाबाट होइन । मभित्र विश्वव्यापी चेतना खेलिरहेको छ र यसले मेरो कर्मलाई निर्देशित गरिरहेको छ ।
मेरा पछाडि ऊर्जाको विशाल स्रोत छ जुन मेरो भौतिक र सूक्ष्म शरीरमार्फत कुनै न कुनै रूपमा उत्सर्जन भइरहेको छ । यो भौतिक संसार त्यो अनन्त ऊर्जा क्षेत्रको उत्सर्जन हो । अनि फेरि उपनिषद् दोहो¥याएर पढ्छु, यो परिवर्तनशील संसारमा, चिरस्थायी म मात्र हुँ । यो जन्म र मृत्युको संसारमा अजन्मा म मात्र छु । यो घृणा र द्वन्द्वको संसारमा परम शान्तिको प्रतिरूप म नै हुँ । यो अस्तव्यस्त संसारमा म मात्र निष्कलंकसित आनन्दमा छु । ॐ विशुद्धाय नमः
birbhadra011@gmail.com

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा