भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन सम्पन्न

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालु रहेको १३२ केभी सिंगल सर्किटमात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या थियो, अब २२० केभी लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज हुनेछ, भोल्टेजमा पनि सुधार हुनेछ ।’

अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउन पुरानोसहित तीनवटा सर्किट भएका छन् । २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ । पुरानो सिंगल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौंडाबाट नयाँ बुटवल सब-स्टेसनसम्म २२० केभी प्रसारण लाइन जोडिनेछ ।

ADVERTISEMENT

भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग ठेक्का सम्झौता भएको थियो ।

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको मागबमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनका दुईवटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएर निर्माण सुरु गरिएको आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो ।

दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत् निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो । भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो । प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौँडा-भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । २०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज