नेपालले पर्यटन क्षेत्रमा विशेष ध्यान दिन जरुरी छ : आजमान

‘नेपाल र मलेसियाबीचको सम्बन्ध अझ प्रगाढ बन्नेमा विश्वस्त छु’

प्रतीक्षा खनाल
प्रतीक्षा खनाल
Read Time = 16 mins

नेपाल र मलेसियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापना भएको हो । मलेसिया नेपालको एउटा प्रमुख श्रम गन्तव्य पनि हो । सन् २००१ मा मलेसियाले नेपाललाई आप्रवासी श्रमको स्रोत राष्ट्र तोकेको थियो । त्यसयता ठूलो संख्यामा आप्रवासी कामदार रोजगारीको सिलसिलामा मलेसिया पुगेका छन् । यसबाहेकका पनि धेरै क्षेत्रहरू छन् जहाँ यी दुई राष्ट्रले आपसी फाइदाका लागि द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउँदै लैजान जरुरी छ । दुई राष्ट्रको सम्बन्धलाई बलियो बनाउने रणनीतिहरूबारे प्रतीक्षा खनालले हिमालय टाइम्सका लागि मलेसियन दूतावासका चार्ज डी अफेयर्स मोहम्मद फिरदौस आजमानसँग गर्नुभएको कुराकानीको अंश :

छोटो समयको बसाइमा नेपालका बारेमा कस्तो धारणा बनेको छ ?

मलेसिया र नेपाल दुवै सांस्कृतिक विविधताका लागि परिचित छन् । मलेसिया मलय, चिनियाँ, भारतीय र आदिवासी बासिन्दा भएको बहुजातीय देश हो, जबकि नेपालमा पनि विविधतायुक्त जातीय र भाषिक जनसंख्या छ । यसबाहेक दुवै देशमा धार्मिक मिश्रण छ । मलेसियामा बौद्ध, हिन्दू र इसाईहरूका साथै मुस्लिमहरूको ठूलो जनसंख्या छ । नेपालमा ठूलोमात्रामा हिन्दू छ, यद्यपि यसले बौद्ध अल्पसंख्यकलाई पनि गर्व गर्दछ । हामीसँग धेरै समानताहरू छन् जुन हामी स्वीकार गर्छौं र कदर गर्छौं । नेपालीहरू निकै सरल र मिहिनेती पाएँ, आगामी दिनहरूमा नेपालका विविधताका बारेमा थप अध्ययन गर्ने मौका मिल्नेछ भन्ने आशा गरेको छु ।

ब्राण्ड एम्बेसडरका रूपमा आफ्नो अघिल्लो अनुभव र तपाईंले प्रतिनिधित्व गर्नुभएका ब्राण्डहरू के–के छन् ?

मैले अस्ट्रियामा मलेसियाको स्थायी प्रतिनिधिका रूपमा प्रतिनिधित्व गरेको छु । यसबाहेक, मैले संयुक्त राष्ट्र संघमा पनि मलेसियाको प्रतिनिधित्व गरेको छु । यद्यपि, म कहिल्यै उत्पादन वा सेवाका लागि ब्राण्ड एम्बेसडर भएको छैन ।

मलेसियामा नेपालीहरू मुख्यतः कुन उद्देश्यले भित्रिने गर्दछन् ?

नेपालीहरू मलेसिया जानुको प्रमुख उद्देश्य रोजगारी हो । हामीले उत्पादन, निर्माण र सुरक्षालगायत थुप्रै उद्योगहरूमा काम गर्नका लागि ठूलो संख्यामा नेपालीहरूलाई रोजगारी प्रदान गरेका छौँ । मलेसियाले फेब्रुअरी २०२३ सम्म तीन लाखभन्दा बढी नेपाली कामदारहरूलाई स्वागत गरेको छ । यसबाहेक, धेरै नेपाली आगन्तुकहरूले मलेसिया भ्रमण गर्नुका साथै हाम्रो आतिथ्यको प्रशंसा पनि गरेका छन् । यसका साथै नेपाली विद्यार्थी पनि मलेसियामा अध्ययन गर्न इच्छुक छन् ।

मलेसियाले आफूलाई पर्यटन हबका रूपमा विकसित गरेको छ । नेपालले आगामी दिनमा थप पर्यटक भित्त्र्याउन के–के कुरामा ध्यान दिन आवश्यक छ, तपाईंको सुझाव यस विषयमा के छ ?

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण राष्ट्र हो । प्राकृतिक तथा सांस्कृतिक विविधताले गर्दा नेपाल पर्यटकको आकर्षणको केन्द्रमा पर्न सक्षम छ । मेरो छोटो बसाइका बाबजुद पनि नेपाल आफ्नो मनमोहक प्राकृतिक बनावट र भिन्न सम्पदाका आधारमा पर्यटनका क्षेत्रमा फड्को मार्न सक्छ भन्नेमा म आशावादी छु । पर्यटकहरूलाई उपलब्ध गराइने सेवा र सुविधाको गुणस्तरमा थप सुधार भएमा नेपालले धेरैभन्दा धेरै विदेशी पर्यटक भित्त्र्याउन सक्छ भन्ने मेरो विश्वास छ ।

कुन–कुन क्षेत्रलाई नेपाल र मलेसियाको विकासमा योगदान पुर्याउन सक्षम क्षेत्रका रूपमा पहिल्याउनुभएको छ ?

वास्तवमा, नेपाल र मलेसियाबीच सहकार्यका प्रचुर सम्भावना छन् । मलेसिया उत्पादन, कृषि र सुरक्षा क्षेत्रमा नेपाली कामदारहरूको प्रवेशका लागि आभारी छ । नेपाली कामदारले हाम्रो अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । यसैगरी मलेसियामा श्रम गरेर आप्रवासी कामदारले नेपालको अर्थतन्त्रलाई पनि सहयोग गर्दै आउनुभएको छ । यसबाहेक, पर्यटन र शिक्षा पनि दुवै राष्ट्रको विकासमा योगदान पुर्याउन सक्षम क्षेत्रका रूपमा उदाएका छन् । पर्यटन र शिक्षाका क्षेत्रमा भने दुई देशबीचको सहकार्य सीमित भएकाले हामीले मिलेर काम गरिरहनुपर्ने अवस्था रहेको छ ।

नेपाल समृद्धिको यात्रामा अग्रसर छ । मलेसियाले यस कोसिसमा नेपालसँग कसरी सहयात्रा गर्न सक्छ ?

मलाई विश्वास छ कि नेपाल र मलेसिया आपसी हितका लागि फाइदा पुग्ने क्षेत्रहरू के–के हुन् भनी पहिल्याउन सक्षम छन् । निःसन्देह हामीले मानव संसाधनका क्षेत्रमा बलियो सहकार्य गरेका छौँ, जसले हाम्रा दुवै अर्थतन्त्रलाई निकै फाइदा पु¥याएको छ ।  यस क्षेत्रबाहेक हामी अन्य क्षेत्रमा पनि सहयोग विस्तार गर्न सक्छौँ । व्यक्तिगत रूपमा मलाई लाग्छ कि शिक्षाले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । फलस्वरूप,हामीले नेपाली विद्यार्थीहरूलाई सस्तो र उच्च गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छौँ । यसबाहेक हामीले दुवै देशमा पर्यटनलाई व्यापक रूपमा प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्ने देखिन्छ । किनकि नेपाल र मलेसिया दुवै पर्यटनको क्षेत्रमा प्रचुर सम्भावना बोकेका देश हुन् । यसका साथै गुणस्तरीय र भरपर्दो चिकित्सा सेवा प्रदान गरी स्वास्थ्य पर्यटनलाई विस्तार गर्दै लैजाने मलेसियाको लक्ष्यमा नेपालले पनि सहयोगी भूमिका खेल्न सक्दछ ।

ADVERTISEMENT

तपाईले भन्नुभएझैं मलेसियाले भरपर्दो र गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ र चिकित्सा सेवाको गन्तव्यका रूपमा विकास गर्ने बाटोमा छ । यसका सकारात्मक पक्षहरू के–के छन् ?

मलेसियाले पनि पश्चिमी देशहरू जस्तै सेवाहरू प्रदान गर्ने भएकाले दक्षिणपूर्वी एसियामा आफूलाई मेडिकल हबका रूपमा स्थापित गर्न खोजिरहेको छ । हामीसँग अन्य विकसित देशहरू जस्तै दक्ष जनशक्ति र विशेषज्ञता छ । तुलनात्मक रूपमा सस्तो खर्चमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी हामी धेरैभन्दा धेरै स्वास्थ्य पर्यटक भित्त्र्याउने सोचका साथ अघि बढेका छौँ । धेरै नेपाली विद्यार्थीहरूले उच्च शिक्षाका लागि मलेसियालाई रोज्ने गरेका छन् तर मलेसियामा उच्च शिक्षा हासिल गर्ने विचार गरिरहेका विद्यार्थीहरूलाई मद्दत गर्ने धेरै सेवा प्रदायक संस्थाहरू हामीले सुनेका छैनौँ, किन होला ? मलेसिया र नेपालको शैक्षिक साझेदारी अझै प्रारम्भिक चरणमै छ ।  यद्यपि हामी देख्न सक्छौँ, यस क्षेत्रमा दुवै देशहरूले लाभ उठाउन सक्ने सम्भावना प्रचुर छ । नेपालमा कतिपय सेवा प्रदायक संस्थाहरू छन् जसले हामीलाई मलेसियाको शिक्षा प्रवद्र्धन गर्न मद्दत गरिरहेको छ ।  हामी पनि यस क्षेत्रमा हाम्रो सहकार्यलाई कसरी विस्तार गर्न सकिन्छ भनेर अन्वेषण गर्न सबै सम्बन्धित पक्षहरूसँग मिलेर काम गर्न समर्पित छौँ ।

नेपालमा मलेसियालाई मात्रै प्रवद्र्धन गर्ने कुनै शिक्षा प्रदायक संस्था छ ? यदि छ भने त्यस कम्पनीले मलेसियाको शिक्षालाई नेपालमा प्रवद्र्धन गर्न के गरिरहेको छ ?

अहिले यस क्षेत्रमा दुई देशबीचको सहकार्य निकै सीमित छ ।  यद्यपि त्यहाँ केही कम्पनीहरू छन् जसले हामीलाई मलेसियालाई शिक्षा हबका रूपमा प्रवद्र्धन गर्न सहयोग गर्दै आएका छन् । शिक्षाको क्षेत्रमा हामीले हाम्रो सहकार्यलाई कसरी विकसित र सुदृढ गर्न सक्छौँ भन्ने विषयमा सबै सम्बन्धित सरोकारवालाहरूसँग मिलेर काम गर्न म तत्पर छु ।

नेपाली जनशक्तिले मलेसियाका विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेको छ । उनीहरूलाई सहयोग र उत्प्रेरित गर्न हामी मलेसिया सरकारबाट के नयाँ प्रावधानहरूको अपेक्षा गर्न सक्छौँ ?

धेरै नेपालीले वैदेशिक रोजगारीका लागि मलेसियालाई आफ्नो गन्तव्य राष्ट्रका रूपमा रोजेकोमा हामी साँच्चै कृतज्ञ छौँ । यसले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाएको छ । यस्तो सहयोगबाट दुवै देश लाभान्वित हुने सुनिश्चित छ । त्यसैले मलेसिया र नेपाल सरकार जनशक्तिको क्षेत्रमा हाम्रो सहयोगलाई कसरी सुदृढ गर्न सकिन्छ भनी अन्वेषण गर्दै निरन्तर रूपमा काम गर्न अडिग छौँ । मलेसियामा नेपाली जनशक्ति व्यवस्थापनका सन्दर्भमा सम्बोधन गर्नुपर्ने धेरै चिन्ताहरू छन् र हामी ती सरोकार सम्बोधनका लागि नेपाल सरकारसँग मिलेर काम गर्न तयार छौँ ।

आफ्नो कार्यकालका दौरान वैदेशिक रोजगारीका सन्दर्भमा के–कस्ता विषयलाई प्राथमिकतामा राख्नुहुन्छ ?

मलेसियामा रहेका नेपालीहरूले पटक–पटक विभिन्न समस्याहरूका विषयमा आवाज उठाएका छन् । हामी उनीहरूका हरेक खालका समस्या र चिन्ता सुन्न तत्पर छौँ । उनीहरूका तर्फबाट मात्र होइन, नेपाल सरकारको कुनै पनि चासो स्वागतयोग्य छ । मलेसिया पुगेका कामदारले सहमतिअनुसारको काम नपाउनु मुख्य चिन्ताको विषय हो । हामी ती नेपालीहरूलाई रोजगारी प्रदान गर्न र आफ्नो जीविकोपार्जन गर्न मद्दत गरिरहेका छौँ । मलेसियामा उनीहरूले सामना गरिरहेका कुनै पनि चुनौतीहरू सुन्न तथा ती समस्याको समाधान पहिचान गर्नमा पनि ध्यान दिनेछु । मलेसियामा रहेका सबै नेपालीलाई सहजता महसुस गराउन थप सहयोग गर्न सक्नेछु भन्ने मेरो आशा छ । 

पर्यटन प्रवद्र्धनका लागि केही योजना बनाउनुभएको छ ?

विशेषगरी पर्यटन प्रवद्र्धनमा लागि हामीले मलेसियाको आतिथ्यताको अनुभव लिन विदेशी सञ्चारमाध्यमलाई आमन्त्रित गर्ने र उहाँहरूले स्वदेशमा मलेसियाको कभरेज गर्ने बारेमा सोचेका छौँ । साथै स्थानीय साझेदारसँग मिलेर नेपाल र मलेसियाको भ्रमण र अन्वेषणका लागि काम गरिरहेका छौँ । यसै वर्षदेखि हामी यी कामको थालनी गर्न सक्छौँ भन्ने मेरो आशा छ ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने तपाईंको योजना के छ ?

नेपाल र मलेसियाका सरकारहरूबीच मात्र नभई नागरिकहरूबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन प्रयास गरिनेछ । मेरो लक्ष्य धेरैभन्दा धेरै नागरिकलाई एक अर्काको देशको भ्रमण गराउने र दुवै देशहरूले प्रदान गर्ने अनुभवहरूको आनन्द दिलाउनु हो । दुवै देशको हितमा हाम्रो सम्बन्ध विस्तार गर्ने तरिकाहरू पत्ता लगाउन स्थानीय सरोकारवालाहरूसँग सहकार्य गर्न पाउँदा म खुसी र उत्साहित छु । मेरो कार्यालयको ढोका हरेकका लागि सधैँ खुला रहनेछ । साथै सबै सरोकारवाला पक्षहरूसँग सहकार्यका तरिकाहरू छलफल गर्न हाम्रो दूतावासमा आमन्त्रित गर्दछु । यसैबीच, म नेपालका जनतालाई मलेसिया भ्रमण गर्न विनम्र निमन्त्रणा गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज