सिन्धुली । लगातार परेको वर्षासँगै आउने बाढी र खस्ने पहिरोले सिन्धुलीका सबै सडक असुरक्षित बनेका छन् । योसँगै यात्रामा असुरक्षा थपिएको छ । जिल्लाका तीन ठूला राजमार्गहरु बीपी राजमार्ग, मध्य पहाडी लोकमार्ग र मदनभण्डारी राजमार्गसहित ग्रामीण सडकहरुमा यात्रा गर्न जोखिम बढेको छ ।
अविरल बर्षाका कारण जमिन गलेर ठाउँ–ठाउँमा पहिरो बग्ने खतरा बढेकाले यात्रामा जोखिम बढेको हो । सबैभन्दा बढी मध्य पहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी खण्ड माथिबाट छिनछिनमा खस्ने पहिरोले पटक–पटक अवरुद्ध हुँदै आएको छ । ६१ किलोमिटर लामो खण्ड आइतबार (यो समाचार तयार पार्दा समेत) अवरुद्ध छ ।
एक ठाउँमा केही छिनअघि खसेको पहिरो पन्छाएर यातायात सञ्चालन हुन नपाउँदै अर्को ठाउँमा पहिरो खस्ने अथवा सोही ठाउँमा पटक–पटक दोहोरी रहने हुँदा यात्रुले हैरानी व्यहोर्नु परेको छ ।
खोटाङबाट काठमाडौँ अस्पताल विरामी आमालाई भेट्न हिड्नु भएकी फूलकुमारी राईले भन्नुभयो, ‘बाटोमा पन्छाउदै हिड्नु पर्ने बाध्यता छ । गाडीको यात्रामा पनि माथिबाट पहिरो खसेर थिच्ने होकी भन्ने डर भइरहन्छ ।’
खुर्कोट–घुर्मी खण्डमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुँदा सिन्धुली, रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले समस्या झेल्दै आएका छन् ।
गोलञ्जोर गाउँपालिका–६ हैबारमा रहेको अक्करेभिर र फिक्कल गाउँपालिका–६ रत्नावतीमा रहेको सोखुखोलाले वर्षादको मौसममा सधैँजसो सास्ती दिँदै आएको स्थानीयबासि सुवर्ण कोइरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आकाशबाट पानी परेपछि जमिन गलेर अक्करे भिरमा पहिरो खस्न सुरु हुन्छ । यता फिक्कलेको सोखुखोलामा बाढीले सडक अवरुद्ध हुन्छ । यो समस्या वर्षौँदेखि भोग्दै आएका छाैँ, दीर्घकालीन रुपमा नियन्त्रण गर्न कसैको ध्यान गएको छैन ।’
अक्करे भिरमा वर्षादको मौसममा मात्र नभई हिउँदको मौसममा पनि लामो समय पानी प¥यो भने पहिरो खस्ने गर्दछ । सोखुखोलामा बाढी आउनाले सवारी साधान गुड्न सक्दैनन् । यात्रुलाई पदैन हिड्न पनि समस्या हुने गरेको छ ।
मध्य पहाडी लोकमार्ग बनेको एक दशक बितिसक्दा समेत सोखु खोलामा पक्की पुल सम्पन्न नहुँदा यो समस्या आएको यस क्षेत्रका जनप्रतिनिधि सोमप्रसाद बरालले सुनाउनुभयो । ‘भारी वर्षा हुनासाथ सोखुखोलामा बाढी आएर यातायात अवरुद्ध हुन्छ । बाढी घटेर सामान्य भएपछि मात्रै यातायात सुचारु हुने गरेको छ' उहाँले भन्नुभयो ।’
यात्रुको यात्रालाई सहज बनाउन खटिएका जनप्रतिनिधि, सुरक्षाकर्मी र सम्बन्धित सरोकारवाला व्यक्तिहरुलाई पनि सास्ती छ । वर्षातको समयमा बाढी र पहिरोले लोकमार्गसहितका ग्रामिण सडकहरुमा क्षति हुने र मर्मत तथा सम्भारमा अधिकाँस समय खटिनु पर्ने बाध्यता रहेको गोलञ्जोर–६ का वडाध्यक्ष रविन कुमार श्रेष्ठले दुखेसो गर्नुभयो ।
बीपी राजमार्ग र मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा पहिरो र साना–ठूला खहरेखोलाले बेलाबेला राजमार्ग अवरुद्ध भइरहन्छ । केही दिन यतादेखि निरन्तर परेको अविरल वर्षाले जिल्लाका दर्जनौँ ग्रामिण सडकहरुमा सवारी साधनहरु चल्न सकेका छैनन् । यसले गर्दा आकस्मिक रुपमा विरामी भएर सिन्धुलीमाडी तथा काठमाडौँका अस्पतालहरुमा पुग्न समेत समस्या हुने गरेको छ । विभिन्न ठाउँको यात्रामा रहेका यात्रुहरु बाढी, पहिरोको कारण लामो समय सडक अवरुद्ध हुँदा विच सडकमै अलपत्र हुने गरेका छन् ।
यस्तो समस्या बर्षातको समयमा यात्रुहरुले बर्षैनी पटक–पटक खेप्दै आएका छन् । सडकको दिगोपनालाई ख्यालै नगरि भौगोलिक क्षेत्रको अध्यननै नगरि जथाभावि गरिने विकास निर्माणले यस्ता समस्या आइरहेका स्थानीयको बुझाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच