ऊर्जा क्षेत्रका समस्या समाधानको माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौंं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रका समस्या सामूहिक रूपमा समाधान गरिने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्या समाधान हुने बताउनुभएको हो ।

उहाँले ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवद्र्धन गर्ने सरकारको योजना रहेको जानकारी गराउँदै आन्तरिक लगानीकर्तालाई प्रवद्र्धन गरेमात्रै विदेशी लगानी पनि भित्र्याउन सकिने बताउनुभयो । त्यसका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न लागिएको उहाँको भनाइ थियो ।

आन्तरिक रूपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छवटा प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गराउँदै ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो । आन्तरिक रूपमा खपत गरेर बढी भएको विद्युत्मात्रै निर्यात गर्ने सोचका साथ सरकारले काम गरिरहेको उहाँको भनाइ थियोे ।

ADVERTISEMENT

बंगलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने र बंगलादेशले तत्काल नै ४० मेगावाट विद्युत् लैजाने तयारी गरेको मन्त्री बस्नेतले जानकारी गराउनुभयो । निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार रहेको भन्दै थप लगानीका पनि उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले विराटनगर, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको विद्युत् समस्या समाधान गर्न आफू तत्पर रहेको बताउनुभएको थियो ।

सो अवसरमा महासंघ अध्यक्ष ढकालले नेपाल विद्युत् प्राधिकरणले आवश्यक पर्दामात्रै विद्युत् किन्ने गरेकाले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो । साथै उद्योगी व्यवसायीले भोल्टेज समस्या भोगेको तथा पटक-पटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न पनि ढकालले मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । महासंघ अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्याबारे ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज