खोटाङ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङले दिक्तेलबजारका क्लिनिक तथा फार्मेसीको अबैध कामप्रति चासो देखाएको छ । हिमालय टाईम्ससहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर आयोगले चासो देखाएको हो ।
आयोगले प्रकाशित समाचारको(कटिङ/प्रिण्ट) सहित जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार पत्रचार गरेर समाचार सम्बन्धमा के कसो हो ? दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य सेवाहरु के कति रहेको छ ? स्वास्थ्य संस्थाहरुले कानूनी मापदण्ड पुरा गरेको छ÷छैन ? उक्त समाचार बमोजिम कार्य भए/गरेको भए त्यहाँ कार्यालयबाट सो को कानूनी कारवाही प्रक्रिया के, कुन अवस्थामा रहेको छ ? भन्दै यथाशिघ्र सत्यतथ्य विवरण उपलब्ध गराईदिन भनेको छ ।
नेपालको संविधानको धारा २४९ तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ बमोजिम विवरण उपलब्ध गराईदिन प्रशासनलाई पत्रचार गरिएको र बोधार्थ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पठाईएको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव गीता कुमारी दाहालले बताउनुभयो ।
९ साउनमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको नेतृत्वमा जिल्ला अस्पतालको फार्मेसी र फेमेली केयर अस्पतालसहित दिक्तेलबजारका फार्मेसी र क्लिनिक अनुगमन गर्दा दिक्तेलबजारको मानवअधिकार चोक(सिंचाई गेट)नजिकको ॐ हलेसी मेडिकेयर क्लिनिकले गर्भवती महिलाहरुको अबैध रुपमा भिडियो एक्सरे गर्ने गरेको पाईएको थियो ।
बिना इजाजत, बिना तालिम प्राप्त उक्त क्लिनिक सञ्चालक वेदनारायण साह तेलीले ४७ दिनसम्मको अर्थात छ हप्ता पाँच दिनको गर्भवती महिलाको भिडियो एक्सरे गरेको भिडियो एक्सरे मेशिनमा रेकर्ड(डाटा)भेटिएको थियो । अनुगमनमा पुगेको टोलीले गर्भवती महिलाहरुको अवैध रुपमा भिडियो एक्सरे गरेको एक दर्जन पुर्जा फेला पारेको थियो । पुर्जा सञ्चार गृहसँग सुरक्षित छ ।
उक्त क्लिनिकलाई अबैध रुपमा भिडियो एक्सरे नगर्न र गरेमा पसल सिल गर्ने अन्तिम चेतावनी दिएको थियो । तर, त्यसपछि प्रशासनले त्यसको फलोअप गरेका छैनन् । एमडी रेडियोलोजिस, तालिमप्राप्त डाक्टर र (एसविए)तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले मात्रै गर्भवतीको भिडियो एक्सरे गर्न पाउँछन् । तर, दिक्तेलबजारका क्लिनिक र फार्मेसी सञ्चालकले नै गर्भवतीको भिडियो एक्सरे गर्नाले स्वास्थ्यमाथि नै गम्भीर खेलबाड भएको पुष्टि हुन्छ ।
क्लिनिक सञ्चालक वेदनारायणकै नाममा दर्ता भएको न्यू हलेसी डेन्टल क्लिनिक प्रालिमा पनि अबैध रुपमै दाँत सम्बन्धी उपचार हुने गरेको पाईएको छ । दाँत स्कृनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको वेदनारायणले जबर्जस्त रुपमा जोखिम मोल्दै दाँतको डाक्टरले गर्ने सम्पूर्ण उपचार गर्ने गरेको पाईएको थियो ।
डेन्टल साँघुरो, सफा नभएको तथा मापदण्ड पूरा नभएको पाईएको थियो । ताकि डेन्टल दर्ता भए पनि इजाजत प्राप्त दन्त चिकित्सक राखेर मात्रै डेन्टल चलाउन पाइन्छ तर, वेदनारायणले दिनदहाडै नागरिकको स्वास्थ्यमाथि गम्भिर रुपमा खेलवाड गरेको पाईएको थियो ।
कागज एउटा, व्यवहार अर्कै
९ साउनमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको नेतृत्वमा जिल्ला अस्पतालको फार्मेसी र फेमेली केयर अस्पतालसहित दिक्तेलबजारका फार्मेसी र क्लिनिक अनुगमन गरेर फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थितिमा मात्रै औषधि विक्रीवितरण गर्न चेतावानी दिए पनि अझै त्यो कार्यान्वयन भएको छैन । अन्य व्यक्तिले नै औषधि विक्रीवितरण गरिरहेका भेटिन्छन्/ देखिन्छन् ।
निको मेडिकल दिक्तेलले फर्मासिष्ट राम कुमार मुग्राती, ॐ हलेसी मेडिकेयर क्लिनिकले फर्मासिष्ट जानकी कुमारी शाह, हसिन फार्मेसी दिक्तेलले फर्मासिष्ट हरिहर श्रेष्ठ हो भनेर कागजमा हस्ताक्षर गरेकोे छ । तर, औषधि विक्रीवितरणमा उनीहरु भेटिँदैनन् ।
अनुगमनमा जाँदा भन्दा अघिबाटै फर्मासिष्ट बिनै औषधि विक्रीवितरण गरिरहेको फेमेली केयर अस्पतालले रनमाया चेपाङ र खिलानन्द अमात्य फर्मासिष्ट रहेको भन्ने कागजात पेश गरेको थियो । तर, उनीहरु अस्पतालमा भेटिएका थिएनन् । अनुगमनका क्रममा क्लिनिक र फार्मेसीले बुझाएको कागजात सञ्चार गृहसँग सुरक्षित छ ।
औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, दिक्तेलबजारका क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक बिनै खुलेआम औषधि विक्रीवितरण भईरहेको छ ।
क्लिनिक तथा फार्मेसी सञ्चालकले जथाभावी औषधि विक्री गर्दा मानिसको ज्यानै जोखिममा पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । फार्मेसी पढेकाले मात्रै औषधि विक्री गर्न पाउने जान्दाजान्दै पनि क्लिनिक तथा फार्मेसी सञ्चालकहरु नै मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै औषधि विक्रीवितरण गरिरहेका छन् । यसले स्वस्थ्य क्षेत्र असुरक्षित देखिएको छ ।
नारायण मेडिकलको धनी र फर्मासिष्ट नारायणकाजी श्रेष्ठ हुन् । त्यहाँ उनै श्रेष्ठले औषधि विक्री गर्ने गरेको अनुगमनमा जाँदा भेटिएको थियो । नेहा फार्मेसी दिक्तेलमा फर्मासिष्ट अशोक कुमार साहले नै औषधि विक्रीवितरण गर्ने गरेका छन् । न्यु हलेसी मेडिकेयर क्लिनिकले मनिस कुमार गेमी फर्मासिष्ट राखेको छ । तर, त्यहाँ अन्यले औषधि विक्रीवितरण गरिरहेको पाईन्छ ।
ॐ हलेसी मेडिकेयर क्लिनिकले अबैध रुपमा राखेको भिडियो एक्सरे मेशिन । तस्विर, चिसाङ शेर्पा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच