जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : ओली

‘पहिचानको नाममा साम्प्रदायिक घृणाको राजनीति गर्न खोजियो’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचान सकरात्मक र देशको हितमा हुनुपर्ने बताउनुभएको छ । २९औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले घृणा फैलाउनका लागि पहिचानको कुरा गर्न नहुने बताउनुभयो । नेपाल विविधतासहितको देश रहेको भन्दै त्यसलाई सम्पत्तिको रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।

पहिचानको राजनीति भन्दै समाजमा साम्प्रदायिक घृणा, विद्वेष र कलह फैलाउन खोजिएको समेत आरोप लगाउनुभयो । ‘म गर्वका साथ भन्न चाहन्छु । हाम्रो पार्टी स्थापना हुँदैदेखि सामाजिक न्याय, समानताको आवाज उठाउने पार्टी हो । अस्तिसम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा, ३३ प्रतिशत महिला आरक्षणको कुरा गर्दा, उत्पीडित समुदायको आरक्षणको कुरा गर्दा, आदिवासी जनजातिहरू माथिको उत्पीडन अन्त्यको कुरा गर्दा, उहाँहरूको सहभागिता यथोचित ढंगले हुनुपर्छ भन्दा हाम्रो मजाक उडाउनेहरू आज त्यसको हिमायती हुन खोजेका छन्,’ उहाँले भन्नुभयो ।

अहिले तिनै तत्वहरू अर्को रङ बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायिक घृणा, विद्वेष र कलहको राजनीति गर्न खोजिरहेको उहाँको आरोप थियो । ‘यो कुरा खास गरी २०५२ सालमा जब नेपालमा हिंसा सुरू भयो अगाडि बढ्यो, त्यो हिंसालाई बढाउनका लागि सबैभन्दा बढी सामाजिक सेन्टिमेन्टल कुरा के हुन्छ भनेर जात, भूगोल, विश्वास, आस्था, धर्मको कुरा ल्याएको हो,’ उहाँले भन्नुभयो । उहाँले नेपालको विविधतालाई बिथोल्न, सद्भावलाई खलबल्याउन खोजिएको पनि टिप्पणी गर्नुभयो । पहिचानको मुद्दा देशमा समस्या खडा गर्न नभई समाधान गर्न हुनुपर्ने उहाँको तर्क थियो । ‘पहिचानलाई विकृत रूपमा हामीले लिनु हुँदैन । पहिचान सकरात्मक ढंगले लिनुपर्छ । पहिचान देशका हितमा हुनुपर्दछ । देशको हितका लागि पहिचान हो,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

एमाले जहिले पनि नागरिकको समान हक र अधिकारका लागि लडेको ओलीको भनाइ थियो । उहाँले एमाले राष्ट्रिय एकताको पक्षमा उभिएको बताउनुभयो । पहिचानलाई लिएर नागरिकमा घृणा फैलायो भने देश नै नरहने ओलीको भनाइ थियो । ‘यदि कुनै पनि हिसाबले हामीलाई जातका आधारमा, केहीका नाममा भावनामा बगाएर कसैले हामीबीचमा घृणा, विद्वेष फैलायो भने हाम्रो देश सकिन्छ,’ उहाँले भन्नुभयो । मुलुकमा विविधता हुनु स्वाभाविक भएको बताउँदै असमानता अन्त्य गर्नुपर्ने ओलीको भनाइ थियो । विविधतालाई कलहको विषय बनाउन नहुने उहाँले बताउनुभयो । राज्यको कुनै जात, धर्म, नश्ल नहुने ओलीको भनाइ थियो । कुनै पनि धर्मको राष्ट्र नहुने उहाँले बताउनुभयो । राष्ट्र निष्पक्ष हुनुपर्ने उहाँले बताउनुभयो । राज्यले सबै नागरिकप्रति समानताका अवधारणामा काम गर्नुपर्ने उहाँको भनाइ थियो । ‘राज्य कुनै एउटा धर्म र जात विशेषको हुँदैन,’ उहाँले भन्नुभयो ।

पहिचानका सम्पूर्ण आन्दोलनको नेतृत्व एमालेले गरेको छ : नेम्बाङ
एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपालको राजनीतिमा समावेशिता र पहिचानका आन्दोलनको नेतृत्व एमालेले मात्रै गरेको र आगामी दिनमा गर्ने बताउनुभएको छ । २९औँ विश्व आदिवासी दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय ललितपुर च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले समावेशिता र पहिचानको आन्दोलनको नेतृत्व गर्नेमा एमालेसँग अरू कसैको पनि तुलना हुन नसक्ने दाबी गर्नुभयो । एमाले आदिवासी र जनजातिको पक्षको पार्टी भएको बताउनभुयो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा एमालेको नेतृत्वमा भएको पनि उहाँले बताउनुभयो । ‘आदिवासी जनजातिसम्बन्धी घोषणापत्रमा कसको भूमिका छ ? हाम्रो नेतृत्व र पहलमा नै संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपाल घोषणा गर्‍यौँ । अब त्यसलाई कार्यान्वयन गर्न लाग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘किराँतहरूका महागुरु फाल्गुनन्दलाई हामीहरूले राष्ट्रिय विभूति घोषणा गरेका हौँ । यो देशका सबै जाति, भाषा, धर्म, संस्कृतिका जनतालाई एकताबद्ध बनाएर लैजाने काम जति एमालेले गरेको छ‚ त्यति अरू कसैले गरेका छैनन् ।’ समावेशी र पहिचानसँग सम्बन्धित काममा नेपाली राजनीतिक दलहरूको एमालेसँग तुलना नै हुन नसक्ने नेम्बाङको दाबी थियो । ‘समावेशिता, पहिचानका सम्पूर्ण आन्दोलन र अभियानको नेतृत्व एमालेले गर्छ, गरेको छ । यसमा कुनैसँग पनि तुलना हुन सक्दैन,’ उहाँले भन्नुभयोे । एमालेले कुनै पनि समुदायसँग सर्त राखेर काम नगर्ने बताउनुभयो । उहाँले एमालेले संविधान बनाउन भूमिका खेलेको र आदिवासीलाई संविधानले अधिकार दिएको भन्दै कामले देखाउनुपर्ने बताउनुभयो । एमालेलेका गरेका काम जनताको समक्ष रहेको भन्दै उहाँले सबै जातजाति र धर्मका मान्छेलाई एकताबद्ध बनाएर लैजान आफ्नो पार्टी सक्षम रहेको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?