दलहरू कहाँनेर चुके ?

Read Time = 15 mins

कथित ठूलादलहरू आफ्नो विकल्प कोही छैन भन्ने भ्रमले आज अरू नयाँ राजनीतिक शक्तिहरूको जन्म भएको हो । नयाँ राजनीतिक शक्तिहरूले पनी जबर्जस्त रूपमा आफ्नो उपस्थिति नेपाली समाजमा स्थापित गराइसकेका छन् । यस्तो हुनुको मूलकारण नै पुराना राजनीतिक दलहरू क्रमशः कांग्रेस, एमाले र माओवादी हुन् । यिनीहरूको अहमताले नयाँ पार्टीहरूको जन्म गराउन तिनै पार्टी संगठनका कार्यकर्ताको नै अहम भूमिका देखिन्छ । किन कि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई यो उचाइमा पुर्‍याउन अर्को कुनै लोकबाट मतदाता आएका थिएनन् ।

यसबाट बुझ्नुपर्छ कि परम्परावादी दलहरूले आत्मासमीक्षा गरे भने प्रष्ट हुनेछन् हामी कहाँ चुक्यौं भनेर । यद्यपि उनीहरूले अझैं आपूmलाई करेक्सन गर्न ठोस कदम चालेको आभास हुँदैन । बरू पार्टीको आन्तरिक जीवनमा एकले अर्कोलाई खुइल्याउनेतर्फ उद्दत देखिए । त्यो विषय विशेष गरेर कांग्रेसको केन्द्रीय समितिमा आफ्नो आङ कन्याएर छारो उडाउने काम ताजा स्मरण छ । कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएको कारण उदांग बनेर देखायो आफ्ना नंगरूप लाइभ टेलिकाष्ट गरेर । अब हेर्नु छ एमाले के गर्ला । माओवादीले पनि केन्द्रीय समितिको बैठक लाइभ गराउने निर्णय गर्‍यो ।

मूलतः यी तीन पार्टीलाई कडा चुनौती बनेर आएका पार्टीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी फलामकै चिउरा हुने निश्चित छ । तराईमा पनि मधेस केन्द्रित दलहरू जसपा र लोसपाको एक क्षत्र हैकम तोड्दै जनमत र नागरिक उन्मुक्ति पार्टी उदाएका छन् । त्यसको छिर्का कांग्रेस, माओवादी र एमालेमा पनि केही न केही पर्नेवाला छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि कम आँक्नु हुँदैन । जनताको बढ्दो असन्तुष्टिको फाइदा उसले उठाएका मुद्दाहरूप्रति आमनागरिकको आकर्षण बढ्दो छ । त्यसैले क्रमशः गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध जनमत तयार हुँदै गएको छ ।

अतः सर्वप्रथम दल र नेताहरूले तीनवटा कुराको आशक्ति त्याग्नै पर्छ त्यो हो पद, पैसा, प्रतिष्ठा । आफ्नो नीति, सिद्धान्त, आदर्शलाई केन्द्रमा राखेपछि सत्ता, शक्ति र प्रतिष्ठा त्यसै प्राप्त हुन्छ । यति धेरै निर्लज्जताको निकृष्ट खेल खेल्नै पर्दैन ।

यी मुद्दालाई भ्रष्टाचारका काण्डहरूले थप मलजल गरेको छ । अर्को पक्ष हो प्रदेश सरकारको प्रभावकारी कार्यान्वयन नहुनु । अहिले प्रदेश सरकारहरूको औचित्य र आवश्यकता माथि चौतर्फी औला ठड्याइएको अवस्था छ । सरकार र प्रमुख प्रतिपक्ष पूर्णरूपले अनभिज्ञ छ भन्न नसकिए पनि ‘सुतुरमुर्ग’ जस्तै भएका छन् भन्नु सान्दर्भिक होला । आफ्नो पार्टीको जनतामा गुम्दै गएको अविश्वासको हेक्का त गरेका होलान् तर कसरी गुमेको जनविश्वास फर्काउन सकिन्छ भन्ने सूत्र सायद भेट्टाउन नसकेका हुन सक्छन् । यति साँच्चै चेतना आएकै हो भने एक पटक पार्टीभित्र पूर्णभावनात्मक रूपले एकताबद्ध हुँदै पुनरावलोकन गर्नुपर्ने देखिन्छ ता कि कहाँनेर चुकियो ? तर त्यस्तो होला जस्तो देखिँदै छैन ।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति र संसदीय दलको नेता बन्ने तथाकथित युवानेताहरूको अधैर्यले त्यही संकेत गरेको पाइयो । साथसाथै माओवादी केन्द्र र नेकपा एमालेमा पार्टीको आन्तरिक जीवनलाई एकताबद्ध बनाउन नसके निसन्देह यिनीहरूको पतन पनि अवश्यमभावी छ । तसर्थ परिवर्तनकारी राजनीतिक शक्तिहरूले आफूले विगतमा गरेका संघर्ष, त्याग र बलिदानलाई एकपटक स्मरण गर्दै आफ्ना कमीकमजोरी सच्याउन सके गुम्दै गरेको साख अझै जोगाउन सक्ने झिनो सम्भावना छ ।

अतः सर्वप्रथम दल र नेताहरूले तीनवटा कुराहरूको आशक्ति त्याग्नै पर्छ त्यो हो पद, पैसा र प्रतिष्ठा । आफ्नो नीति, सिद्धान्त र आदर्शलाई केन्द्रमा राखेपछि सत्ता, शक्ति र प्रतिष्ठा त्यसै प्राप्त हुन्छ । यति धेरै निर्लज्जताको निकृष्ट खेल खेल्नै पर्दैन । त्यसैले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षदलहरूले एकपटक पछाडि फर्केर कुनै आग्रह पूर्वाग्रह नराखी पुरावलोकन गरेमा आफूले सच्याउनुपर्ने कुरा ऐना जस्तै छर्लंग देखिने छन् र आफू कहाँ चुकेका रहेछौं भन्ने पनि थाहा हुन्छ । प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरू चाहे सत्ता पक्ष होस् वा प्रतिपक्ष नै किन नहोस् सिष्टमको सामु सत्ता महत्वपूर्ण हुँदैन भन्ने तथ्य बिर्सनु भएन ।

अहिले राजावादीहरूमा देखिएको उत्साह र उमंग पनि हेर्न लाएको छ । गद्दी च्युत राजा ज्ञानेन्द्र शाहको सलबलाहट पनि गणतन्त्रवादीका लागि अर्को चुनौतीको रूपमा देखिँदैछ । यसै पनि नवोदित अन्य पार्टी कम चुनौतीपूर्ण छैनन् । त्यसैले यदि बेला नघर्कदै पुरानादल चाहे सत्ताधारी हुन् वा प्रमुख प्रतिपक्ष नसच्चिए उनीहरूमा ‘हिस्स बुढी खिस्स दाँत’ हुने पक्का जस्तै देखिँदैछ । त्यस्तो पश्चतापपूर्ण परिस्थिति नआओस् र ‘भुइँको टिप्न खोज्दा पोल्टाको नपोखियोस्’ भन्ने हेक्का रहनै पर्छ । बाँचिरहे नाचिरहन पाइन्छ । दलहरू विशेष गरेर परिवर्तनकारीको अहिलेको प्राथमिकता के हो त्यसबारे प्रष्ट हुन जरुरी छ ।

ADVERTISEMENT

पछिल्ला राजनीतिक घटनाक्रमले प्रतिगामी शक्ति सत्तालाई भन्दा सिष्टमलाई केन्द्रमा राख्दै विभिन्न कालखण्डमा भएका आन्दोलनका उपलब्धि नष्ट गर्न योजनाबद्ध ढंगले लागेको तथ्य कहीँ कतै छिपेकै छैन । त्यसैले राप्रपा र उनीहरूका मतियार शक्ति हिन्दु राजतन्त्रात्मक पक्षमा खुलेर लागेको अवस्था जगजाहेर नै छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वका हिमायति सत्ताको किचलो छोडेर मूलविषयमा केन्द्रित नभए अहिलेको राजनीतिक प्रणाली नै कोल्याप्स हुने खतरा त्यत्तिकै टड्कारो रूपमा देखिइरहेको छ । जनतामा पर्न गएको केही भ्रम केही यथार्थतालाई चिर्दै विभिन्न सञ्चारमाध्यमबाट छ्यापछ्याप्त भएका भ्रष्टाचारका केसलाई क्रमशः स्वतन्त्र र निष्पक्षरूपले छानविन गरी जनसमक्ष ल्याउन आनाकानी गर्नु हुँदैन ।

नेपालीहरू आ-आफ्नो धर्म संस्कृति र परम्परा अनुरूप चलेको अवस्था छ तर राजनीतिक स्वार्थ सिद्विका लागि धर्मको आड खोज्नु बेइमानीबाहेक केही होइन । केही हिन्दु अतिवादीहरूले जनतामा भ्रम सिर्जना गर्दै अन्य धर्मावलम्बीमाथि विभेद गर्ने कुत्सित मनशाय राखेको देखिन्छ ।

सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई बडो उत्सुकताका साथ हेरेका छन् । देश लुट्नेमात्रै होइन विश्वको सामु नेपाल र नेपालीको शिर निहुर्‍याउनुपर्ने स्थिति सिर्जना गर्नेहरूमाथि निर्मम ढंगले कारबाही भएको प्रत्येक नेपाली नागरिकहरूले हेर्न चाहेका छन् । तसर्थ सरकार भ्रष्टाचारका सम्बन्धमा चालिएका कदमहरू दृढतापूर्वक ठोस निष्कर्षमा पुर्‍याउनुको विकल्प छैन । यति कुरा सरकारले राम्रोसँग हेक्का राखोस् ।

भनिन्छ नि ‘जति लामो दाम्लो बाँटे पनि गाँठो उहीँ एउटै हो’ । अर्थात् यहाँ जेजति विषयमा केन्द्रित भएर गन्थन मन्थन गरे पनि कुरो आखिरी उहीँ हा,े दलहरूले आफूलाई रिभ्यु गरुन् र यो जुँगाको लडाइँ छाडुन् । जनताले दिएको जनादेशको आधारमा आ-आफ्नो दायित्व र जिम्मेवारीलाई इमानदार भएर काम गर्दै जाने हो । एउटा माघले जाडो सकिँदैन एउटा चुनावले सम्पूर्ण राजनीति सकिने होइन बरू त्यो चुनावले दिएको जनादेशको पूर्ण पालना गर्नु असल नेता र पार्टीको दायित्व हो । व्यक्ति केन्द्रित राजनीतिमा मात्रै हतारो गर्न खोजेको हुन्छ नत्र व्यवस्था केन्द्रित राजनीतिमा सत्ताको अनावश्यक हानथाप सान्दर्भिक देखिँदैन ।

तर, अहिलेको ताजा राजनीतिक स्थितिको अध्ययन र आकलन गर्दा दलहरू र तिनका सबै तहका नेताहरू आत्मकेन्द्रित भएको अनुभव गरिँदै छ जुन नेपाल र नेपालीका लागि दुर्भाग्य नै मान्नुपर्छ । यसर्थ अब दलहरू खास गरेर कांग्रेस-कम्युनिष्ट गम्भीर भएर कहाँ-कहाँ गल्ती कमजोरी भए सोच्नुपर्ने बेला आयो समय घर्कनै लागेको छ पर्खेर बस्दैन । अहिके संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी र समानुपातिक पद्धतिमा नै कडा चुनौती खडा गरिएको अवस्थालाई नकार्न सकिँदैन । नेपाल कुनै एक जात-जाति, भाषाभाषी र धार्मिक समुदायको देश होइन ।

यहाँ धेरै जाति छन्, त्यस्तै धेरै भाषी र धेरै धर्म सम्प्रदायका मानिस छन् । त्यसैले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको हो । सबै नेपाली आ–आफ्नो धर्म संस्कृति र परम्परा अनुरूप चलेको अवस्था छ तर राजनीतिक स्वार्थ सिद्धिका लागि धर्मको आड खोज्नु बेइमानीबाहेक केही होइन । केही हिन्दु अतिवादीहरूले जनतामा भ्रम सिर्जना गर्दै अन्य धर्मावलम्बीमाथि विभेद गर्ने कुत्सित मनशाय राखेको देखिन्छ । यशतर्फ पनि होसियार हुनुपर्ने छ तर पनि राज्य कतिपय सन्दर्भमा चुकेको कुरा सत्य हो । जातीय विभेद र छुवाछूत जस्ता घृणित र निन्दनीय घटना अझै देख्नु र सुन्नु परिरहेको छ ।

तर, यसमा जुन धर्मले यत्रो विभेद र छुवाछूतको अवस्था ल्यायो त्यसबारे धर्मगुरुले मुख खोलेको पाइँदैन । अहिले देशको राजनीतिलाई धमिलो बनाउन अतिवादी हिन्दु पनि हात धोएर लागेका छन् । यसबाट बँच्न पनि राज्य (सरकार) चनाखो हुनुपर्नेछ । कुनै बेला धार्मिक र जातीय हिंसा भड्किन सक्ने खतरा त्यत्तिकै देखिँदैछ । यी सबै पक्षमा सरकार र सरकारमा सामेल पार्टीहरू प्रमुख विपक्षी सचेत हुनुपर्ने देखिन्छ । परिवर्तनकारी शक्तिहरू झिनामसिना विषयमा अल्झिँदा व्यवस्था माथिको खतरालाई नजरअन्दाज नगरौँ र दलहरू कहाँनेर चुके त्यसको सही निक्र्याैल गर्दै जानसके धेरै हदसम्म राजनीतिमा देखापरेको अन्यौलता र अस्थिरता अन्त्य गर्न सहज हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. नीति ,सिद्धान्त , आदर्शलाई तिलान्जली दिएर व्यक्तिगत स्वार्थमा गरिने राजनीतिले देश र जनताको हित हुंदैन। नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएकोमा दाजुप्रति आभार!

रिलेटेड न्युज

छुटाउनुभयो कि ?