देशभर ५० प्रतिशत व्यापारिक सटर खाली

व्यवसायी भन्छन्- ‘बाध्यता’

Read Time = 9 mins

रमेश भारती/हिटा
काठमाडौं । एकातिर आर्थिक मन्दी अर्कातिर बैंक तथा वित्तीय संस्थाहरूले बढाएको चर्को ब्याजका कारण व्यवसायी छाड्नुपर्ने बाध्यता भएको महाबौद्धमा होलसेल जुत्ता व्यापार गदै आउनुभएका दीपेन्द्र कार्कीले बताउनुभयो । सात प्रतिशतका दरले लिएको ऋण अहिले १७ प्रतिशतसम्म तिर्नुपर्ने बाध्यता भएकै कारण व्यवसायी छोड्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ । ‘बैंकको चर्को ब्याजका कारण ख्याति कमाएका व्यापारीसमेत धराशायी बन्दै छन् । हामी त सामान्य भयौँ । एकातिर व्यापार छैन, भने अर्कोतिर बैंकले छाड्दैन । त्यही भएर समस्या सुरु भएपछि व्यापार छाडेको हुँ ।’ कार्कीले भन्नुभयो, ‘खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून हुँदा व्यवसायी विस्थापित भइरहेका छन् । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरैजना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएका छन् ।’ अहिलेको अवस्थामा व्यापार छाड्नुपर्ने अवस्था भएको उहाँको भनाइ छ ।

यस्तै, व्यापारीहरू धराशायी हुनुको मुख्य कारण आर्थिक मन्दी र बैंकको चर्को ब्याज रहेको न्युरोडमा कपडा पसल गर्दै आउनुभएका रामेछापका विकास अधिकारी आँैल्याउनुहुन्छ । आर्थिक मन्दीबाट पार लाग्न राष्ट्र बैंकले अर्थ नीति बनाउनुपर्ने हो, तर यसमा सरकार र राष्ट्र बैंक नै जिम्मेवार नभएको उहाँको बुझाइ छ । ‘सबैभन्दा पहिला आर्थिक मन्दीका बेला सरकारले करका दरहरू बढाउनुभएन । अहिले सरकारले करका दायराहरू बढाएका कारण व्यापारमा अझ प्रभाव परेको छ ।’ उहाँ भन्नुहुन्छ, ‘सरकार राजनीतिक खेलमा लाग्यो । स्थानीय सरकारले व्यापारको अवस्था कस्तो चासो दिएन । अहिलेको समस्या यही भएका कारण व्यापार छाड्नुपरेको हो ।’

कार्की र अधिकारी त न्युरोडका प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरू जस्तै ३० प्रतिशत न्युरोड क्षेत्रका व्यापारीले व्यवसाय छाडेका छन् । यो आर्थिक मन्दी र बैंकको ब्याजको कारण भएको व्यवसायीको आरोप छ ।

घरधनीको भाडा वृद्धि, बैंकको चर्को ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेको राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो । आर्थिक संकट र बैंककै व्याजका कारण व्यापार व्यवसाय चलन नसक्दा मुलुकभर ५० प्रतिशत सटर खाली हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

मुख्य सहरमै प्रभाव
अहिले देशभरका व्यापारिक मुख्य बजारमा हरेक चोक र टोलका घर र सटरमा ‘टुलेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोस्टर भेटिन्छन् । केहीमा भाडा रकमसमेत खुलाइएको हुन्छ । यसका मतलव देशमा व्यापार–व्यवसायीको अवस्था नाजुक बन्दै गएको छ ।
विगत तीन महिनायता काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर देखिन थालेका छन् । यो क्रम साउन लागेपछि अझ बढेको विभिन्न क्षेत्रका व्यापारीहरू नै बताउँछन् । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । यसको अर्थ देशभर व्यवसायमा संकटमा परेको स्यंम व्यवसायीहरूले स्वीकार्ने थालेका छन् ।

ADVERTISEMENT

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रूपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायीहरू पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यावसायिक सटर तथा गोदामहरू धमाधम खाली हुन थालेका छन् ।
देशभरमा मुख्य सहरमा आर्थिक मन्दीका धमाधम व्यावसायिक सटरहरू खाली हुन थालेका छन् । नयाँ आर्थिक वर्ष लागू भएपछि झन् व्यापारिक सटरहरू बन्द हुनेक्रम बढेको स्वयम् व्यवसायीहरूले बताइरहेका छन् । कुनै समय थाम्नै नसक्ने गरी व्यापार हुने न्युरोड, असन र महाबौद्ध र वसन्तपुर आसपासका मुख्य बजार क्षेत्रका सटरहरू आर्थिक मन्दीका कारण धमाधम बन्द भइरहेको छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यापारीहरूकै आरोप छ । उद्योग व्यवसाय पूर्ण रूपमा चल्न नसक्नु, रोजगारीका अवसर नहुँदा पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको सरकारी अध्ययनहरूमा भनिएको छ । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था राष्ट्रिय व्यवसायी महासंघका अनुसार मुलुकभर ४० देखि ५० प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको संख्या बढ्दै गएको समेत महासंघले औल्याएको छ ।

बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा धेरै व्यवसाय बन्द हुन थालेका छन् । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय चलाउने गरेकामा अहिले नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्कीले जानकारी दिनुभयो । सुन, लत्ताकपडा, गाडी, जुत्ताचप्पल, निर्माण सामग्री, हार्डवेयरका सामानको व्यापारमा कारोबार ५० प्रतिशतभन्दा कम भएको छ । भने, चारवटा सटर भएका व्यवसायीले दुईवटा सटरमा व्यवसाय झारेको उहाँले बताउनुभयो । अहिलेको अवस्था कायमै रहे आर्थिक अवस्थामा मात्र होइन । व्यवसायी पनि समस्याग्रस्त हुने उहाँको दाबी छ । व्यवसायीका अनुसार व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा पछिल्लो समय व्यवसायबाट पलायन हुनेक्रम दिन प्रतिदिन बढ्दै छ । कोभिड-१९ को असरसँगै गत वर्ष देखापरेका रुस-युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या हृवात्तै बढेको छ । १० वटा उजुरीमध्ये आठवटा उजुरी भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाऊँ भन्ने खालको आउने गरेको महानगरले जनाएको छ । आर्थिक मन्दीका कारण घरबेटीहरू नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौं महानगरपालिकाको आँकलन छ । यो समय पछिल्लो समय देशभर देखिन थालेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *