काठमाडौं । भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी तीन नेपालीको मृत्यु भएको छ । अन्य आठ जना बेपत्ता रहेका छन् । मृतक तीनैजना जुम्ला पातारासी गाउँपालिकाका स्थायी बासिन्दा हुन् । पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार मृत्युहुनेमा सोही गाउँपालिका वडा नम्बर २ का ५६ बर्षीय धनराम बुढा, २२ बर्षीय नन्द नेपाली र वडा नम्बर ३ का ४१ बर्षीय सुकराम रावत रहनुभएको छ । उहाँहरूको भारतीय प्रहरीले सनाखत गरेको बताइएको छ । बोहराले बाँकी आठ जना पातारासी, तिला र तातोपानी गाउँपालिकाका नागरिक रहेको जानकारी दिनुभयो । सो पहिरोमा तीन जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस पनि भएको जनाइएको छ । पहिरोमा ११ नेपालीसहित जम्मा १९ जना बेपत्ता भएका थिए ।
यसैबीच, गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृहले स्थानीय ‘हिलवाणी’ न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनुभयो । उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो । उहाँले भारत सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिएको बताउनुभयो ।
गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरू बसेको होटेल नै पहिरोमा परेको हो । केदारनाथ पहिरोमा बेपत्ता भएको जुम्ला नागरिकहरूको जानकारी लिनका लागि प्रहरी टोली गाउँपालिकातर्फ परिचालन गरिएका प्रशासन कार्यालयले जनाएको छ ।






