✍️ मोतीराज बम
प्रसिद्ध राजनीतिशास्त्री मेकियावेलिका अनुसार राजनीतिक नेतालाई तीन भागमा वर्गीकरण गरिएको छ । १, जन्मजात नेता : जसमा नेताका गुणहरू आमाको गर्भदेखि नै विकसित भएर आएका हुन्छन् । २, लोकप्रिय नेता : जो आफ्नो अटुट परिश्रमले बनेको हुन्छ त्यो सर्वथा लोकप्रिय र जनजनमा भिझेको हुन्छ । ३, अरूद्वारा बनाइएको नेता : जोसँग नेतामा हुने कुनै गुण हुँदैनन् ऊ राजनीतिमा लागे पनि अलोकप्रियतामै उसको सम्पूर्ण जीवन गुज्रन्छ । मेकियावेलीका अनुसार ठ्याक्कै त्यस्तो राजनीतिक नेता नेपालमा नभेटिएलान् तर छैनन्/थिएनन्/हुने छैनन् भन्न मिल्दैन ।
बीपी कोइराला, गणेशमान सिंह, किसुनजी, महेन्द्रनारायण निधि त्यस्ता उदाहरण हुन् जो मेकियावेलिका काल्पनिक पात्र बन्न लायक मानिन्छन् । राजनीति, भन्न, व्याख्या अपव्याख्या गर्न जति सजिलो छ त्यसलाई तार्किक निष्कर्षमा पुर्याउन र परिणाममुखी बनाउन त्यति नै कठिन छ । राजनीतिक परिदृश्यलाई सिंहावलोकन गर्ने हो भने नेपाल त्यस्तो देश हो जो मेकियावेलिको तेस्रो बुँदामा भनेझैँ लामो कालखण्डदेखि अभ्यस्त रहँदै आएको छ । जहाँ अधिकांश नेताहरू अरूद्वारा तानिएका र बनाइएका मात्र छन् र राज्यसत्ताका प्रमुख सञ्चालक उनीहरू नै छन् । त्यसैले त बेलाबेलामा रक्त बलिदानीबाट प्राप्त लोकतन्त्र खतरामा पर्ने संकेतहरू देखिन्छन् र सच्चा लोकतन्त्रवादीले खबरदारीका लागि पटकपटक आवाज उठाउनुपर्ने बाध्यता आइपर्छन् ।
पिता राजनीतिज्ञ भएका कारण पुत्र राजनीतिमा आएको हो भनी निधिलाई बिल्ला भिराउनु अपव्याख्या, अल्पज्ञानको पराकाष्ठा हो भन्न मिल्छ । त्याग, समर्पण, निष्ठा, इमानदारीता, प्रेरणा र निश्चित राजनीतिक लक्ष्य प्राप्तिको पवित्र मार्ग रोजेकाहरूलाई लिगेसीको खादाले अपमान गर्नु किमार्थ शोभनीय मानिँदैन ।
यस्तो परिस्थितिमा लोकतन्त्रको रक्षार्थ उठ्ने, जाग्ने र बलिवेदीमा उत्सर्ग हुन तयार हुने पार्टी नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसको अघिल्लो बीपी पुस्ता जो सबको देहावसान भइसकेको छ । अब कांग्रेसलाई सबल, सक्षम र लोकतन्त्रको निर्विकल्प पहरेदारको रूपमा उभ्याउने जस्तो गहन र युगिन जिम्मेवारी यो पुस्ताका हस्तीहरूमध्ये विमलेन्द्र निधि अब्बल नै छन् भन्दा अत्युक्ति नहोला । उहाँलाई नेतृत्वमा पुगे पनि कमान्ड नसम्हालेका युवा पुस्ताको जोडबल, विवेक र कार्यक्षमताको साथ र सहयोगको उत्तिकै अपरिहार्यता छ ।
मुलुकको दुई तिहाइ जनसंख्या र उत्तिकै भूभाग ओगटेको सिमावर्ती क्षेत्र तराईको विशाल फाँटमा जन्मिएर लोकतन्त्र स्थापनाको महान् क्रान्तिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका विमलेन्द्र निधि (नेका पूर्वउपसभापति) वर्तमान पुस्ता, भावी पुस्ता र पार्टीका लागि जाँगरिला, भरिला अनि दूरदृष्टि भएका नेताको रूपमा चिनिन्छन् । उनी नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहँदाको बखत उनको नेतृत्वमा गरिएका रचनात्मक क्रियाकलाप, देखाएको तदारुकता, पार्टीलाई नौवटा अवधारणामा प्रविष्ट गराउन व्याख्यासहितको मार्ग निर्माण गरेकाले पनि यो तथ्य प्रमाणित हुन्छ कि ‘विमलेन्द्र निधि ठाउँ पाए नाउँ राख्न सक्छन्’ भन्ने यथार्थ । कटु सत्यलाई अन्यथा नमान्ने हो भने कांग्रेस वृत्तमा बाक्लो गरी कुरा उठिरहन्छन्/उठाइरन्छन् ‘पिताको नाममा पुत्रलाई नेताको पगरी’ तर विमलेन्द्र निधि फरक पात्र हुन् । उनी पिताको परिचय र बिरासतबाट उदाएका पात्र होइनन् । उनीसँग आफ्नै गर्विलो, डरलाग्दो र जाज्वल्यमान क्रान्तिमय गाथा गाँसिएको इतिहास छ । उनी लोकतन्त्रका लागि १४ वर्षको उमेरमा जेल परे त्यो पनि पूर्वी पहाडको जिल्लामा । २०३६ सालको जनमत संग्रहमा हजारौं युवा विद्यार्थीको नेतृत्व गर्दै बहुदलको पक्षमा उभार ल्याउने काम गरे । बाल्यवस्थादेखि नै पञ्चायतका चिसा र काला कोठरीहरूको सास्ती भोगे ।
त्यस्ता थुप्रै संगीन परिस्थितिसँग जुधे । निधि नेतृत्वका यस प्रकारका थुप्रै उदाहरण छन् तर उनले यस अवस्थासम्म आइपुग्दा पिताको नामबाट बद्नाम हुने काम गरेनन् । कांग्रेसका हरेक कार्यालय र संरचनाहरूमा बीपी कोइरालादेखि सादगी नेता भीमबहादुर तामाङको तस्वीर राख्दा महेन्द्रनारायण निधिको तस्वीर किन राखिएन ? भनेर प्रश्न गरेनन् । यसर्थ पनि विलेन्द्र निधिको राजनीतिक इतिहासमा भिन्नता र विशिष्ठता छ । प्रेरणा, पिताबाटै प्राप्त भयो होला तर आफ्नो भिन्न परिचय र भिन्न क्रान्तिगाथा निर्माण गरेर राजनीतिमा स्थापित नाम हो विमलेन्द्र । यो पनि भनिन्छ राजनीतिमा सफलताको अचुक सूत्र लिगेसी हो तर लिगेसीको सूत्रपात र परम्परा कुनै क्षमतावान व्यक्तिबाटै प्रारम्भ हुने तथ्यलाई हामीले कदापि भुल्नु हुँदैन । समयले त्यस्ता पुरुषहरू जन्माउँछ र जन्मिरहन्छन् पनि ।
लिगेसीका आफ्नै आयाम, अर्थ र परिभाषा हुन्छन् । यसका छुट्टै प्रवृत्ति र सिमारेखाहरू होलान् । यसलाई परिभाषित गर्नेहरू नै जानून् तर पिता राजनीतिज्ञ भएका कारण पुत्र राजनीतिमा आएको हो भनी निधिलाई बिल्ला भिराउनु अपव्याख्या र अल्पज्ञानको पराकाष्ठा हो भन्न मिल्छ । त्याग, समर्पण, निष्ठा, इमानदारीता, प्रेरणा र निश्चित राजनीतिक लक्ष्य प्राप्तिको पवित्र मार्ग रोजेर देश र जनताको समग्र मुक्तिका निम्ति क्रान्तिको दावानलमा होमिएर जीवनको कठिनतम् परीक्षा उत्तीर्ण हुनुलाई लिगेसीको खादाले अपमान गर्नु किमार्थ शोभनीय मानिँदैन । यसर्थ लोकतन्त्रका उन्नायक विमलेन्द्र निधिले प्रतिष्ठान प्रमुखको जिम्मेवारी सम्हाल्दा वर्तमान परिस्थितिको मिहिन अध्ययन अनुसन्धान गरी पार्टीको दीर्घकालीन हितलाई मध्यनजर गर्दै अपनाएका नौवटा अवधारणामाथि विशद, विचरण र विश्लेषण गर्नु वाञ्छनीय हुन्छ ।
२०१२ सालमा (माघ १०/११) वीरगञ्जमा भएको नेपाली कांग्र्रेसको महाधिवेशनले पहिलो पटक पार्टीभित्र लोकतान्त्रिक समाजवाद भित्र्यायो । यही महाधिवेशनबाट नेपाली कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, लोकतन्त्र, समाजवाद रहँदै आयो । तत्पश्चात २०६२ साल असार ६ गते केन्द्रीय सदस्य नरहरि आचार्यले मूल सिद्धान्तमै रहेर दुवाकोट बन्दीगृहबाट तत्कालीन महामन्त्री सुशील कोइरालालाई चिठी लेख्दै पार्टीको ११औं महाधिवेशनमा कांग्रेसलाई गणतन्त्र र संघीयताको पक्षमा उभिन र युगको माग सम्बोधन गर्न थप सुझाबसहित पत्र पठाए । पार्टीले ११औं महाधिवेशनमा आएर नरहरि आचार्यको ‘गणतन्त्र र संघीयतासहितको कांग्रेस’ भन्ने प्रस्ताव पारित गर्यो ।
यही महाधिवेशनले आफ्नो विधानबाट ‘संवैधानिक राजतन्त्र’ हटायो र गणतन्त्र शब्द संकल्पसहित थप्यो । कांग्रेसका लागि त्यो दिन एक अग्रगामी फड्को थियो । यसैगरी २०६४ साल असौज ८ गते संयुक्त रूपमा बसेको नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको महासमिति बैठकमा पारित सातवटा बुँदामध्ये लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशी र पूर्ण लोकतान्त्रिक शासनप्रणालीलाई विशेष जोड दिएको पाइन्छ । यस संयुक्त बैठकमा मूल पार्टी नेपाली कांग्रेसले कांग्रेस प्रजातान्त्रिक पार्टीले अघि सारेको ‘कदमजम’ (कर्णाली, दलित, महिला, जनजाति, मधेसी)लाई थप मूलमार्ग बनाउने निर्णय आत्मसात गर्यो ।
लामो अध्ययन, अनुसन्धान र गान्धीवादी नेता पिता महेन्द्रनारायण निधिको प्रेरणा र उपदेशको माध्यमबाट प्रतिपादित अहिंसा र शान्तिसहितको नेपाली कांग्रेस अबको युगले सहजै अंगीकार गर्न सक्ने उत्तर आधुनिक लोकतान्त्रिक पार्टी बनाउने निधिको धेय हो ।
पार्टीभित्र यो अर्को वैज्ञानिक समाजवादी फड्को थियो । गणतन्त्र प्राप्तिपछि भएको पार्टीको १२औं महाधिवेशन लगत्तै सभापति सुशील कोइरालाले गठन गरेको प्रोटोकलमा केन्द्रीय कार्यसमितिभन्दा तल र विभागभन्दा माथि रहेको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी पाएपछि प्रमुख विमलेन्द्र निधिले पार्टीलाई अझ नयाँ ढंगले परिभाषित गरी जनसमक्ष पुर्याउन पार्टीभित्र नवीन अवधारणा प्रविष्ट गराएका छन् । यसलाई वीरगञ्ज महाधिवेशनको मूल सिद्धान्त, नरहरिको प्रस्ताव र कदमजको परिस्कृत रूपमा लिइएको छ ।
यसमा थपिएको ‘अहिंसा र शान्ति’ शब्दले बल्ल नेपाली कांग्रेस आफ्नो सिद्धान्त, आदर्श र निर्दिष्ट मार्गमा परिपूर्ण भएको मान्नुपर्छ । निधिले नीतिगत रूपमा ल्याएको नवीन अवधारणाको प्रारूप यस्तो छ । यसमा नौवटा तत्वलाई समाविष्ट गरी पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको छ । जस्तो-राष्ट्रियता, लोकतन्त्र, समाजवाद पार्टीको शरीर हो । संघीयता, समावेशी, धर्मनिरपेक्षता, आवधिक निर्वाचन प्रणाली र कानुनी राज्य पार्टीका अवयब हुन् । अहिंसा र शान्ति पार्टीको राजनीतिक लक्ष्य हो र सम्पूर्ण समाधानको उपाय लोकतान्त्रिक पद्धतिबाट सम्भव छ पार्टीको नारा हो । लामो अध्ययन, अनुसन्धान र गान्धीवादी नेता पिता महेन्द्रनारायण निधिको प्रेरणा र उपदेशको माध्यमबाट प्रतिपादित अहिंसा र शान्तिसहितको नेपाली कांग्र्रेस अबको युगले सहजै अंगीकार गर्न सक्ने उत्तर आधुनिक लोकतान्त्रिक पार्टी बनाउने निधिको ध्येय हो । व्यवस्था, अवस्था, प्रणाली जेसुकै तत्वमा जस्तोसुकै आभास मिलोस् त्यसको पूर्णता हासिल गर्ने मूल मार्ग अहिंसा र शान्ति नै हो ।
विभिन्न जनआन्दोलनबाट प्राप्त हर उपलब्धिको रक्षा गर्दै पार्टीलाई जनमनमा स्थापित पुनःस्थापित गर्नु हामी जोकोहीको कर्तव्य हो । पार्टीमा उन्नत र वैचारिक रूपमा नयाँ प्राण भर्न बीपी, नरहरि र निधिको भूमिकालाई महत्वपूर्ण मान्नुपर्छ । ‘निधि सम्पत्ति हो भने विधि सम्पत्तिलाई परिचालन गर्ने पद्धति हो’ पार्टीलाई पद्धति अनुरूप परिचालन गर्ने नयाँ विधिको प्रतिपादन नै अहिंसा र शान्ति हो । उत्तर दक्षिणका मित्र मुलुकले नेपालको जुनसुकै ठाउँको भूभाग जतिसुकै परिमाणमा अतिक्रमण गरुन् त्यो नेपालमाथिको ठाडो हस्तक्षेप र घोर अपमान ठान्ने निधि यसलाई पनि बाहुबलले होइन अहिंसा र शान्तिको माध्यमबाटै बुद्विबलले मात्र समाधान खोज्नुमा बुद्धिमता देख्छन् ।
यस्तै विविध पक्ष, विविध विचार, विविध आयाम र विविध धारणाका कारण विमलेन्द्र निधि फरक व्यक्तित्व र फरक इतिहासका परिचायक हुन् । उनमा हरपल एउटा चिन्तनले पिरोल्ने गरेको छ । ‘राजनीतिले त मन्त्री बनाउला, प्रधानमन्त्री बनाउला, राष्ट्रपति पनि बनाउला तर नेता बन्न सकिएन भने राजनीति गर्नुको कुनै अर्थ छैन ।’ सार्थक जीवन निरर्थक भएर सिद्धिन सक्छ । यसकारण गान्धीवादी नेता नेपाली कांग्रेसका उन्नायक स्व.महेन्द्रनारायण निधिका बरदपुत्र विमलेन्द्र निधिको नेपाली कांग्रेसलाई युग सुहाउँदो वैचारिक पार्टी बनाउने पवित्र र महान् अभियानले सफलता प्राप्त गरोस् शुभकामना ।






