समाजवादको आधार सुशासन

Read Time = 15 mins

जुन मुलुक र समाजमा सुशासन कायम हुनसकेको हुँदैन त्यहाँ भ्रष्टाचार हुन्छ भन्ने बुझ्नु पर्छ । भ्रष्टाचार र सुशासन एक अर्काका परस्परविरोधी प्रवृत्ति हुन् । आज हाम्रो नेपाली समाजमा भ्रष्टाचार बढी हाबी हुँदा नागरिकको सुशासनको चाहना पूरा हुनसकेको छैन । यता सुन्यो उता सुन्यो जताततै भ्रष्टाचारबाहेकका कुनै चर्चै सुनिँदैन । जबसम्म भ्रष्टाचारजन्य गतिविधिप्रति राष्ट्रिय सहमति बन्दैन तबसम्म यो समस्याको जरो उखेलेर फाल्न धेरै कठिन छ ।

तसर्थ यस्को (भ्रष्टाचारको) जरो उखेलेर फाल्न राष्ट्रिय प्रतिबद्धता अनिवार्य शर्त हो । यसको निम्ति राजनीतिक शक्तिहरूमा इच्छाशक्ति आवश्यक देखिन्छ । राज्य संयन्त्रको प्रयोगले सुशासन त स्थापना गर्न सकिएला तर त्यो चिरस्थाई नहुन सक्छ । असल शासन नै समाजवादको पहिलो खुड्किलो हो । सुशासन नहुनु भनेको भ्रष्टाचार हुनु हो । नेपालका अधिकांश राजनीतिकदल कुनै न कुनै ढंगले आफूलाई समाजवादी भन्न लालायित भएको पाइन्छ । कथित ठूला भनिएका दलमा त कोभन्दा को बढी समाजवादी हुने भन्ने होडबाजी चलेको आभाष मिल्छ । उनीहरूको समाजवादी मार्गचित्र सर्वसाधारणले बुझ्ने गरी आएको छैन । समाजवादको परिभाषा एक बृहत् मानवीय चिन्तनबाट उत्पत्ति भएको अनुमान गर्न सकिन्छ । मानवीय चिन्तन खाने, लाउने, बस्नेमात्रै भन्ने संकीर्ण परिभाषा सुनिन्छ । चिन्तन वा दृष्टिकोण एकांगी र अपूर्ण छ । गाँस, बास, कपासका साथ मानिसका स्वतन्त्रतालाई सोच्नुपर्ने हुन्छ । आजको दुनियाँ गाँस, बास र कपासले मात्रै चाहना पूरा गर्न सक्दैन ।

राजनीतिक र सैद्धान्तिक दृष्टिले नयाँ उदय भएका र पुनरोदयको जमर्को गर्दै गरेका पुरातनवादी शक्तिहरूमा पनि समाजवादप्रतिको आकर्षण देखिन्छ । यसरी हेर्दा सिंगो नेपाली समाजले समाजवादी बाटो पहिल्याउन अँध्यारोमा छामछुम गरे पनि उज्यालो भेट्टाउन सकेका छैनन् ।

नागरिक वा मौलिक अधिकारको प्रत्याभूति हुनु अत्यावश्यक हुन्छ । एउटा पुरानो समाजवादी चिन्तनले मानिसलाई आर्थिक प्राणिको रूपमा मात्रै चित्रण गरेको पाइन्थ्यो, पुरातनवादी चिन्तन विस्तारै नेपाली समाजले छोड्दै गएको अनुभव गरिँदैछ र हिजो बुर्जुवा वा दलालपुँजीका पृष्टपोषक भनेर चिनिएको नेपालको सबैभन्दा पुरानो पार्टी कांग्र्रेसले पनि आज आफूलाई समाजवादको मसिहा ठानेको छ । यो बिन्दुमा कांग्र्रेस र कम्युनिष्टलाई ल्याउन विश्वेश्वरप्रसाद कोइराला र पुष्लाल श्रेष्ठको विशेष योगदान छ भन्ने कुरा उनीहरूको वार्ता र संवादबाट अवगत हुन्छ । अतः लोकतन्त्र समाजको मिलन बिन्दुमा नेपाली कांग्रेस र अपवादबाहेक सबै खाले कम्युनिष्ट आइपुगेको अवस्था विद्यमान छ ।

त्यति मात्रै होइन राजनीतिक र सैद्धान्तिक दृष्टिले नयाँ उदय भएका र पुनरोदयको जमर्को गर्दै गरेका पुरातनवादी शक्तिमा समाजवादप्रतिको आकर्षण देखिन्छ । सिंगो नेपाली समाजले समाजवादी बाटो पहिल्याउन अँध्यारोमा छामछुम गरे पनि उज्यालो भेट्टाउन सकेका छैनन् । यसबाट के बुझ्न सकिन्छ कि राजनीतिमा सबैभन्दा कष्टकर बाटो नै लोकतान्त्रिक समाजवाद रहेछ । लोकतान्त्रिक समाजवादको बाटो अलि लामो र सन्तुलित छ भन्ने बित्तिकै मानिसका सबै आकांक्षा एकैपटक पूरा हुन सक्दैनन् ।

मानिसका आवश्यकतालाई प्राथमिकताको आधारमा क्रमशः हल गर्दै जानुपर्छ । पट्यारलाग्दो राजनीतिक यात्रामा धैर्यको खाँचो देखिन्छ । यी सबै कार्यका लागि घुमिफिरी उहीँ सुशासनमै नपुगी सुख नै छैन । समाजवादको प्रस्थान बिन्दु सुशासन हो । हाम्रो समाजमा जसले जे सुकै भने पनि विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको विशिष्ट योगदान रहेको छ ।

सायद यस दिशामा बीपी कोइराला र पुष्पलाल धेरै पहिले नै सहमत थिए तर तत्कालीन राजनीतिक परिस्थिति अनुकुल नहुँदा थाती रहेका थिए तर आज त्यसका लागि बाटो सहज बनेको छ । अब समाजवाद भन्ने बित्तिकै के बुझ्नु आवश्यक छ कि समाजवादलाई बृहत् अर्थमा बुझ्नुपर्ने हुन्छ । त्यो पुरानो (माक्र्सवादी र लेनिनवादी) दर्शन होइन अहिलेको मानवीय चेतनालाई सम्बोधन गर्न सक्ने समाजवाद नै लोकतान्त्रिक समाजवाद हो । यद्यपि यो समाजवादको गन्तव्यमा पुग्न सुशासन एकमात्र विकल्प हो । त्यसैले समाजवादको आधार नै सुशासन हो ।

आज नेपालमा समाजवादी राजनीतिकदल र तिनका नेताहरू समाजवाद रूपी ललिपप देखाउन छाड्दैनन् । तर, उनीहरूलाई थाहा छैन आफूहरू भ्रष्टाचारको जालोमा फनफनी बेरिएको । तसर्थ नेपाली समाज आज त्यही भ्रष्टाचारको जालोबाट मुक्त हुनुभनेकै सुशासनयुक्त समाज निर्माण गर्नु हो । यस मार्गमा अनेक दलाल र माफिया बलियोसँग पकड जमाएर बसेका छन् । जबसम्म ती दलाल र माफियामुक्त समाज निर्माण हँुदैन तबसम्म सुशासन एकादेशको कथामात्रै हुने निश्चित छ । युवा पुस्तालाई पहिलो र दोस्रो जन-आन्दोलनका उपलब्धिभन्दा पनि त्यसभन्दा पहिलेको निरंकुश पञ्चायती तानाशाहको भूत सबार भएको भान हुन्छ ।

ADVERTISEMENT

लोकतन्त्र, गणतन्त्र, समावेशी समानुपातिक विकास र प्रतिनिधित्व अनि संघीयताप्रति निकै नकारात्मक सन्देश प्रवाह भएको मात्रै छैन कि प्रभावित भएको देखिन्छ । तर, त्यो ३० वर्षे कालरात्रिमा चेतनशील र जागरुक नेपालीलाई कति दबाइएर राखिएको थियो भन्ने कमै युवालाई हेक्का होला । न त्यहाँ वाकस्वतन्त्रता न प्रेस स्वतन्त्रता थियो न संगठन गर्ने अधिकार नै । त्यस्तो कठोर तानाशाही जाँतोमा पिसिएका ६ दशका लामो उमेरका सबै नेपाली आफैं भुक्तभोगी छन् । त्यो अवधिमा भएका राजनीतिक असहिष्णुताका पराकाष्ठा सुन्ने सुनाउने कोही देखिँदैनन् ।

बरू महेन्द्रकालीन केही उद्योग र दुई-तीनवटा सडकको बखान गरेर नथाक्नेले वर्तमानका विरुद्ध विषवमन गर्न उद्दत छन् र त्यसको प्रभावले यो पद्धतिको खोइरो खनिरहेकै अवस्था छ । त्यसलाई चिर्न हरेक जन-आन्दोलनका संबाहक असफलजस्तै देखिनु परिवर्तनकामी नेपालीका लागि दुर्भाग्यपूर्ण मान्नुपर्छ । यसको मुख्य कारण कांग्रेस कम्युनिष्टबीचको असमझदारी हो । तसर्थ जति सक्यो छिटो दलहरूबीचको तिक्तता हटाएर एउटा नयाँ ढंगको राजनीतिक समझदारी कायम गरेर जानुपर्ने अनवश्यकता टड्कारो रूपमा खड्किराखेको छ ।

हाल जसरी भ्रष्टाचारका फाइल खोलिँदै छन् त्यसबाट भ्रष्टाचारीलाई एक-एक गरेर फाल्नै पर्छ । कोही कसैलाई बचाउने र फसाउने होइन तथ्यको आधारमा कारबाही अगाडि बढाउन राष्ट्रिय सहमति जस्तै गरेर जानुको अर्को विकल्प देखिँदैन । तर, अहिले दलहरूमा जे देखिइरहेको छ निःसन्देह त्यसले राम्रो सन्देश दिइरहेको छैन । भ्रष्टाचारी देशका धमिरा हुन् तेरो मेरो भन्नु हुँदैन तर नियोजित रूपले कसैकाप्रति दूराग्रह राखेर गरिने कारबाही र लञ्छना अत्यन्तै खेदजनक मानिन्छ । यस्तो स्थितिबाट सबै बाँचौं र बचाऔं ।

समग्रतामा देशका नागरिकको जीवन पद्धति हेर्दा पनि विगत र वर्तमानको भिन्नता पाउन सक्छौं तर यी सबै कुरालाई नजरअन्दाज गर्दै केही भ्रष्टाचारजन्य घटनाको कोपभाजन भएका छन् विगतका उपलब्धि । यो एउटा गम्भीर चिन्ताको विषय बनेको छ ।

समाजवादको आधार सुशासन हो भन्ने सन्दर्भमा केही विगत र वर्तमानको सूक्ष्म विश्लेषणविना सही निष्कर्षमा पुग्न सकिँदैन । यो अत्यन्तै गम्भीर विषय हो । पहिलो कुरा त समाजवाद आफैंमा एउटा बृहत् र गम्भीर विषय हो । विश्लेषकहरूले आआफ्नै ढंगले व्याख्या गर्ने गरेको पाइन्छ तर त्यसको बृहत् परिभाषा समय सान्दर्भिक हुनु आवश्यक देखिन्छ । समाजको आर्थिक, सामाजिक चेतना र शैक्षिक जागरणले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न सक्ने समयानुकूल व्याख्या विश्लेषणले नेपाली समाजलाई मार्ग निर्देशन गर्न र समाजका विद्यमान सबै खाले समस्याको समाधान दिन सक्ने राजनीतिक प्रणाली र समाजवादको लक्ष्यमा पुग्न सुशासन अकाट्य र अपरिहार्य छ ।

त्यसका लागि राजनीतिक प्रणाली लोकतान्त्रिक त आवश्यक छ नै साथ साथै लोकतान्त्रिक प्रणालीले अवलम्बन गर्नुपर्ने पारदर्शिता, जबाफदेहिता, योग्यताक्रम र सुशासनमा अर्जुनदृष्टि दिनु अनिवार्य शर्त हो । हामी नेपालीहरूले समाज बिकासक्रमलाई तीन भागमा बाक्डेर हेर्न सक्यो भनेमात्रै सही निष्कर्षमा पुग्न सक्छौँ । त्यसको विश्लेषणात्मक अध्ययनविना वर्तमानको सही र वास्तविक मूल्यांकन हुन सक्तैन । नेपालमा प्रथम जनक्रान्तिपूर्वको एउटा डरलाग्दो कालखण्ड थियो । त्यसको चित्रण एउटा लामो कथा जस्तै छ । त्यसलाई छोडेर दोस्रो कालखण्ड २०१७ पुस १ देखि २०४६ चैतसम्मको छ र तेस्रो कालखण्ड जो आजसम्म बरकरार छ ।

यसलाई तुलनात्मक अध्ययनबिना कुनै कालखण्डको उपलब्धिलाई ठीक ढंगले सही निष्कर्षमा पुग्न सकिँदैन । नेपाल सरकारको २०४८ सालको तथ्यांक र क्रमशः त्यसपछिका तथ्यांकले जे देखाउँछ त्यही हो विकास । शिक्षाको क्षेत्रमा के कति विकास भयो, सडक सञ्जालको अवस्था, स्वास्थ्य र सूचना तथा सञ्चारको तुलनात्मक अध्ययन र विश्लेषणले मात्रै सत्यतथ्यमा पुगिन्छ । बालमृत्यु दरको अवस्था कस्तो थियो अहिले के छ । मानिसको औषत आयुको अध्ययन गरौं । सात्क्षारतको स्थिति के छ ।

अनि समग्रतामा देशका नागरिकको जीवन पद्धति हेर्दा विगत र वर्तमानको भिन्नता पाउन सक्छौं तर यी सबै कुरालाई नजरअन्दाज गर्दै केही भ्रष्टाचारजन्य घटनाको कोपभाजन भएका छन् विगत उपलब्धि । यो एउटा गम्भीर चिन्ताको विषय बनेको छ । हामी राजनीतिक पक्षविपक्षमा उभिएर होइन यथार्थतामा टेकेर समाजवादको बाटोमा देखापर्ने आरोह अवरोहलाई हटाउँदै सुशासनको दिशामा अग्रसर हुन हामी सबैलाई सद्बुद्धि आयो भने अवश्य सुशासनको माध्यामबाट समाजवादको गन्तव्यमा पुग्न सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?