सुन तस्करीको छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाऔं : वर्षमान पुन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताउनुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताउनुभयाे । सरकारको भ्रष्टाचारविरोधी अभियान सही रहेको भन्दै उहाँले त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गर्नुभयाे ।

पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको बताउनुभयाे । उहाँले सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी गर्नुभयाे ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिनुभयाे । ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो’, पुनले भन्नुभयाे, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’ पुनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै सत्यतथ्य छानबिनको माग गर्नुभयाे ।

ADVERTISEMENT

उहाँले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताउनुभयाे । त्यस प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउन माग गर्नुभयाे । ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ’, पुनले भन्नुभयाे, ‘हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ । जेल जान तयार हुनुपर्छ ।’ यस्ता प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने उहाँको भनाइ थियो ।

‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन’, उहाँले भन्नुभयाे, ‘देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ ।’ पुनले पार्टीबाहिर वा भित्र अमुक व्यक्ति वा एक निकायको नाम जोडिँदैमा अर्को पक्षले अपराधीकरण गर्ने प्रवृत्ति सह्य नहुने बताउनुभयाे । पुनपछि बोलेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने जवाफ दिनुभयाे ।

सुन तस्करी प्रकरणमा आफ्नो कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिहेको भन्दै उहाँले यो अभियानलाई निस्कर्षमा पुर्‍याउन पार्टीका सबै नेता कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयाे । भ्रष्टाचार र अनियमितताविारेधी अभियान निस्कर्षमा पुर्‍याउन पार्टीभित्र आन्तरिक एकता मजबुत हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?