रोकौं भ्रष्टाचार, आवाद गरौं कालिबञ्जार

Read Time = 16 mins

✍️ सुरेशकुमार भट्ट

२०४६ पछिको भ्रष्टाचार संस्थागत छ । २०४६ अघि पनि थियो तर संस्थागत थिएन । अहिले भ्रष्टाचारभन्दा बलियो सरकारी वा राज्यको मिसिनेरी छैन । यो नेपालको राजनीतिमा लागेको क्रोनिक क्यान्सर हो काटेर फाले नि किमा (अख्तियार) लाएर पोले नि सिआइबीको आइगिलास लाएर खोजे नि हेरे नि ¤ भित्रभित्र सरिसक्छ फैलिसक्छ जसले राज्यमात्र होइन राष्ट्र नै खान्छ खाइरहेको छ । बाहिर मुलुक चलेको देखे नि ! भित्रभित्र कलिलो सल्लाको फलेक झैँ भ्वास-भ्वास जाने गतिमा पुगिसकेको छ । चोक्टा–चोक्टा भएर खसेर हृवांग प्वाल देखिने बेला भइसकेको छ ।

यसको शल्यक्रिया हुन थालेकोमा खुशी प्रकट गर्नैपर्छ । काम हुँदाहुँदै रोकिन्छ कि भनेर झस्किहाल्नु आत्तुरी होला भइहालेछ भने पनि नेपालको इतिहासमा के नौलो कुरा हो र ? भइगयो यत्ति भनौं ‘मर्दले आँटेपछि किमार्थ छाड्दैन, गए गर्दन जाला ।’ अर्कोतिर समकालीन यी जो जो मुलुक चलाउने भन्नेहरूले रुसले खर्च धान्न नसकेर अलास्का अमेरिकालाई बेचेजस्तो गरी बेच्न बेर छैन किनकि यी कुनैको आत्मामा पनि नेपालको स्वाभिमानी सास र मुटुमा स्वाभिमानी रगतको धड्कन छैन ।

हाल राजनीति गर्ने फाइदा लुट्ने नमिले अवसर नपाए विदेश भास्सिने सम्पत्ति परिवार सबै सुरक्षित बस्ने रहने यस्तो राजनीति गर्नेहरू यो पार्टी ऊ पार्टी होइन अलिकति धेरै एउटामा होला अर्कोमा कम होला तर कुनैमा नभएका होइनन्, छन् ।

यिनका देश चलाउने तौरतरिका र स्वार्थ अनि मुलुक सुक्दै गएको आयस्रोतले गर्दा बढ्दै गएको परनिर्भरताबाट के देखिन्छ भने वर्षामा बाल्ने दाउरा हिउँदमा नकाट्ने वर्षामा बाल्ने कुरा नहुँदा घरको छानाको भाटा तानेर बाल्ने गृहस्थीभन्दा यी र यिनको सोच एक इन्च माथि छैन, यी ऋण गरेर ल्याउने निजी ढुकुटीतिर लाने मुलुकलाई ऋण भार थप्ने कंगाल बनाएर भोलि फेरि सर्वहाराको नारा लगाउने गति र मतिका छनक देखाइरहेका छन् । मानसिकता नै कंगाली भएपछि महाजन नै भए पनि कसको के लाग्छ र ? अहिले हाम्रो शासक र नेतृत्वमा टड्कारो दुई थरीका मनोभावना देखिइरहेका छन् । अनि स्थिर सरकार, शासन प्रणाली/पद्धति, समृद्धि कसरी हुनसक्छ ? हाँस्यास्पद तर्क र गतिमतिमा मुलुक चलिरहेको छ ।

वर्तमानमा देखिएका नेता र शासक यस्ता छन्-
१. फड्केमा राजनीति गर्ने
२. छड्केमा राजनीति गर्ने
परिणाम-व्यवस्थापन कसले गर्ने ?
१. फड्केमा राजनीति गर्ने-
स्वदेशमा जीविका नचलेपछि, स्तरीय शिक्षा र रोजगारी नपाइने भएपछि, साँझ बिहान हातमुख जोड्नै समस्या भएपछि, कमाउने बनाउने र धनी हुने बाटोमा काँडा लागेपछि, मुलुकमा भन्दा बाहिर स्वच्छन्द र ऐश आराम हुने भएपछि, कुनै पनि अवसरबाट वञ्चितै हुनुपरेपछि, सुरक्षाको सवाल पाइला पाइलामा भएपछि, श्रम र पसिनाको मूल्य र बजार नभएपछि, विभिन्न देशमा अवसर खुलेपछि नेपालमा यसरी जकडिएका र पिल्सिएका युवा र प्रौढसमेत विदेशिन थाले अनि गाउँघर युवाशून्य भयो खेतबारी बाँझिँदै गए शहरका समेत युवा र सीप शिल्पीहरू विदेशिन थाले विद्रोहको आवाज आउने छाँट रहेन जल्दाबल्दा युवा नै देशभित्र नभएपछि मुलुक टाट पल्टिँदै र विदेश निर्भर हँुदै गयो जवाफदेहिता विहीन राजनीति गर्नेलाई लोटेउ बुढा हो बाटै काटियो, कुचाले गर्ने आँधीले गर्‍योे जस्तो भयो ।

युवा जति खाडी मलेसिया परदेशी भए गाउँशहर खाली भयो याने बोके राजनीति गर्ने ठेट्नाको सोच, अष्टमी बाँचे नवमी देखाजाला भनेर राजनीति गर्नेलाई मुलुकभित्र सजिलो भयो फ्रिक्वेन्सी भयो ठीक यस्तै गरी अवसर च्याएर राजनीति गर्ने फड्केका पड्केहरूलाई झन् भित्रबाहिरै मौकामा चौका हान्न सजिलो भयो । किनकि जसरी जे गरेर भए पनि विदेशमा छोराछोरी परिवार स्थापित भएका छन् । मुलुकको राजनीतिको र स्वाधीनतामा जो नेता भइखाएको छ उसैलाई विश्वास छैन स्थिर होला यो प्रणाली याने पद्धति रहला भन्नेमा । २०४८ पछि नै यसको अभ्यास भयो किनकि सात महिनामै सात करोड कमाइ भयो भन्ने हल्ला चल्यो । त्यतातिर नजाऔं ।

ADVERTISEMENT

हाल राजनीति गर्ने फाइदा लुट्ने नमिले अवसर नपाए विदेश भास्सिने सम्पत्ति परिवार सबै सुरक्षित बस्ने रहने यस्तो छड्केको राजनीति गर्नेहरू यो पार्टी ऊ पार्टी होइन अलिकति धेरै एउटामा होला अर्को कम होला । तर कुनैमा पनि नभएका होइनन् छन् अनि भतुवा गोठालो सरहको राजनीति गर्ने फड्के नेताले गरेन भनेर भन्नु, त्यसैलाई एक छाक मासुभातमा भोट बेच्नु र नेता बनाउनु, नेता मानेर अघिपछि लाग्ने खादामाला पहिराउनु भन्दा हाँस्यास्पद के हुन सक्छ ?

नजिकको छिमेकीका दलाल यस्तै नेता मन्त्री छन् फड्केमा राजनीति गर्ने आफ्नै धुनमा जतिन्जेल चल्ला चल्ला नचले विदेशमा जाला त्यसैले मुलुकमा यतिखेर एउटा पनि मुलुकको हित चिताएर काम गर्ने नेतै छैन । नयाँ अनुहार भन्नु होला यिनले पाएको भोट सौताको रिसले लोग्नेको काखमा फोहोर पारेजस्तो देखिन्छ । किनकि तिनका संगठनभित्रका र स्थायी कार्यकर्ता भोटर्स सबका सब त होइनन् कि ?
वर्तमानका फड्के, छड्के पड्के र बञ्चरेका कारण आजित भएर लौ जा त बरू भनेर रिस पोखेका हुन् । यही गति रहे हामी जस्ताले पनि सोच्नै पर्ने हुन आउँला तर त्यहाँ छड्केमा फड्के राजनीति गर्नेको कुनै कमी छैन नाम लिइहाल्न अहिले मिल्दैन तर फिलिपिन्सको मार्कोस र उसकी श्रीमतीको इतिहासलाई मनमा हेक्का राख्नैपर्छ । त्यहाँ भयो यहाँ के होला ? भनेर अब संक्षेपमा चर्चा गरौं छड्के राजनीतिको ।

२. छड्केमा राजनीति गर्ने
यो मुलुकमा छड्के हान्नेले नै सत्ता हत्याएका र लामो अवधि शासनको बागडोर समालेका छन् । टुमटुम मात्र कुरा गरौं-बहादुर शाहलाई यो हारमा अहिले नराखौं तर दरबारको घातप्रतिघात हेरी छड्के हानेर भीमसेन थापाको उदय भयो, यौनविलास र सौतेलो कचिंगलमा छड्के हानेर जंगबहादुरको उदय भयो, रणोद्धिप सिंहको कमिकमजोरीबाट फाइदा उठाएर धीरशमशेरका छोराहरू वीरशमशेरलगायतले छड्के हानेरै जंगबाट शमशेर खलकमा शक्ति गयो, चन्द्रशमशेरले देवशमशेरलाई छड्के हानेर शक्ति हत्याए र राणाहरूमा क्लास विभाजनमा छड्के हानेर सुवर्णशमशेर कांग्रेस भए, मोहनशमशेरले पद्मशमशेरलाई छड्के हानेर शक्ति हत्याए बाबु चन्द्रशमशेरको पारा निकालेर मोहनशमशेरले त्रिभुवनलाई छड्के हानी नातिमा पनि माइलालाई राजा बनाएर २००७ सालको जनक्रान्ति निम्त्याए ।

गिरिजालाई छड्के हान्दा शेरबहादुर आए, एमालेले कांग्रेसलाई छड्के हान्दा माओवादी जन्माए, कांग्रेस र माओवादीले छड्के हान्दा एमाले फुट्यो, दरबारले दरबारलाई नै छड्के हान्दा वीरेन्द्रको वंश नाश भयो, ज्ञानेन्द्रको उदय भयो, ज्ञानेन्द्रले दलहरूलाई माहेन्द्री अस्त्रले छड्के हान्दा ४४९ वर्षको गोरखा राजवंश समाप्त भयो ।

महेन्द्रले बाबु त्रिभुवनको स्वास्थ्य स्थितिमा छड्के हानेर शक्ति हत्याउँदै परिवर्तनकारी शक्ति र नेताहरूलाई लत्याउँन थाले, बीपीले मातृका, मातृकाले बीपीलाई छड्के हान्दा महेन्द्रलाई बल पुग्यो, कांग्रेस आफैंभित्र लामो-लामो छड्के छिर्के चल्न थाल्यो चलिरहृयो चल्दैछ र चलिरहन्छ यो पाटामा अहिले नजाऊँ । भित्रबाट बाहिरै पुग्यो कांग्रेस कचिंगलो बीपीको सरकालाई छड्के हानेर महेन्द्र निरंकुश शासक बने, (बीचको अहिले नछुऔं) बीपीको आदर्शमा छड्के हानेर वामसँग जोडिँदा २०४७ साल आयो कांग्रेस यही बिन्दुबाट ओरालो लाग्यो, किशुनजीलाई २०४८ मा छड्के हान्दा गिरिजा आए, गिरिजा बाबुलाई छड्के हान्दा २०५१ आयो, फेरि पनि गिरिजालाई छड्के हान्दा शेरबहादुर आए, एमालेले कांग्रेसलाई छड्के हान्दा माओवादी जन्माए, कांग्रेस र माओवादीले छड्के हान्दा एमाले फुट्यो, दरबारले दरबारलाई नै छड्के हान्दा वीरेन्द्रको वंश नाश भयो, ज्ञानेन्द्रको उदय भयो, ज्ञानेन्द्रले दलहरूलाई माहेन्द्री अस्त्रले छड्के हान्दा ४४९ वर्षको गोरखा राजवंश समाप्त भयो, गिरिजाले राजालाई छड्के हान्दा कोइराला परिवारको शताब्दी समाप्त भयो, माओवादीले गिरिजालाई छड्के हान्दा आफ्नै बहुमत कमजोर भयो ऐतिहासिक घात भयो, एमाले र कांग्रेसको तालमेलको छड्केले माओवादी धुलिसात भयो, खड्ग ओलीको नक्कली वामएकताले एमाले (ओली) दुई तिहाइ भयो प्रचण्डको हरिविजोक भयो, प्रचण्डले ओलीलाई छड्के हानेर आफू छुट्टिए, एमाले फुटाइदिए, ओलीले फेरि जेठी छड्के हानेर माओवादीलाई अरू नंग्याएर चोइट्याइदिए, ओलीले मध्यावधिको छड्के हान्दा संसद्माथिको छड्के हनाइमा कानुनले साथ दियो, ओली पछारिए, पार्टी फुट्यो ?

चुनावी गठबन्धन छड्के बन्यो देउवा, दाहाल, नेपालले एमालेलाई संगठित छड्के हाने तर लछारपाटो लागेन दोस्रो स्थान लिई छोड्यो । शेरबहादुरलाई छड्के हानेर ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाए तर गिरिजालाई झैं ओलीलाई लत्याएर प्रचण्ड शेरबहादुरतिर गए । यसरी भुरा खेलेको जस्तो मेच घुमाइको खेल र एउटाले अर्कोलाई छड्के हानिरहने छिर्के नेतृत्वबाट मुलुकको विकास हुन्छ भन्नु हाम्रै मुर्खता सिवाय केही होइन । आफैं स्थिर सोच नभएकाबाट मुलुकमा सर्वपक्षीय व्यवस्थापनको कुरा त बल्लो घाटको पल्लो लहरो नै हो । त्यसैले तरिँदैन जँघार बरू मुलुक खुरी खँगार । तैपनि यिनैकोबाट पनि यति त गरे हुन्छ नि ! गरे सकिन्छ-किनकि गर्ने भए गर होइन भने मुलुकका उर्बर खेतबारी बाँझो राख्ने काली बञ्जार बनाउने, युवा जति खाडी खेद्ने अनि साँझबिहान खान बोरा ओसार्ने ?

यस्तो छोटो बच्काने बुद्धिले मुलुक उभो लाग्दैन । अझै केही गर्ने इच्छाशक्ति नेताहरूको घैँटामा कतै छ भने सामुदायिक वा सामूहिक खेती किसान गर्ने स्पष्ट नीतिनियम कानुन बनाओ र सारा बाँझो जमिनको माटोको परीक्षण गरी उपयुक्त बाली लगाउने योजना गर, सँगसँगै मल, बिउ, प्रविधि, यन्त्र, साधन, शीतभण्डार र किसानको उत्पादनले बजार नपाए राज्यले खरिद गरी भण्डारण गर्ने वा सुरक्षा दिने प्रबन्ध गर । यतिमात्रै गरे पनि मुलुक अहिलेको गतिमा उँधो-उँधो धसिएर किमार्थ जाँदैन । सोच, मुलुकको स्वाभिमान बचाउने भए । अझै बेला छ लाग्छ घाम । जोगिन्छ राष्ट्रको दाम । रोक भ्रष्टाचार, आवाद गर काली बञ्जार भएको बाँझा खेतबारी र बगर । अस्तुः ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?