खडेरीले सिरहामा ५० प्रतिसत खेतमा मात्र धान रोपाइँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

सिरहा । पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन् ।

आकाशे पानिको भरमा खेती गर्दै आएका किसानहरु पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा आकाशे पानी नपरेको कारण किसानहरु चिन्तित बनेका हुन् ।

लामो समयको खडेरीले धेरै किसानहरुले धान रोप्न पाएका छैनन् । रोपेका धान पनि सुक्न थालेका छन भने रोप्न बाँकी रहेका किसानको विउ व्याडमै सुक्न थालेको छ । धानमात्र हैन, पानी अभावका कारण फल्न लागेका मकै, मडुवा (कोदो)लगायतका बाली पनि सुक्न थालेको किसानहरु बताउँछन् ।

आकाशे पानी नपर्दा जिल्लामा करिव ५० प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । धान रोप्ने समय बितिसक्दा पनि सिरहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई बिगहा खेत बाँझै छ । करिव १२ कठ्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुने गरी पानी नपर्दा यादबको बाँकी खेत बाँझै रहेका छन् ।

पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले पनि धान रोप्न राखेको एक विगहा जमिन अझै बाँझै छ। साउनको मध्ये सम्ममा पनि सुख्खा जारी रहेकाले महताेको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताउनुभयाे ।

महताेको जमिनमा कमलाको नहर लाग्ने भए पनि लामो समय देखिको खरेडीले नहरमा पानी नआउँदा रोपाइँ हुन सकेको छैन । उहाँले भन्नुभयाे ‘रोपाइँको समय घर्किन लाग्दा पनि खेत बाँझै छ। बिउ ब्याडमै सुक्न थालिसक्यो । पानी पर्ने छाट अझै छैन ।'

ADVERTISEMENT

सिरहा नगरपालिका-१० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिव एक विगहा जमिन अधिया गर्नुभएकाे छ। उहाँले ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरे पनि खडेरीले रोपाे सुक्न थालेको छ।

धान रोप्ने समय सकिनै लागेपनि सिरहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँकालागि अवाश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो ।

आकाशे पानीको भरमा खेतिहुँदै आएको सिरहामा विशेषगरी धानरोप्ने मुख्य समयमा पानी नपरेको कारण  रोपाइँमा कमी आएको कृषि ज्ञानकेन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विशेषगरी सिरहामा आकाशे पानीकै भरमा धानखेति हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धानरोप्न मिल्नेगरी एकपटकमात्र पानी परेकाले रोपाइँमा कमी आएको हो।’ गत वर्ष यहि समयमा जिल्लाको कुल ५९ हजार धान खेतियोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भईसकेको ज्ञान केन्द्रका प्रमुख महासेठकाे भनाइ छ ।

पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरुमा सन्तोषजनक रोपाइँ भएको भए पनि राजमार्ग आसमापासका गाउँ पालिकामा कम रोपाइँ भएको ज्ञान केन्द्रका प्रमुख बताउनुहुन्छ।

उता लहान नगरपालिकामा ५० प्रतिशत, धनगढीमाईमा ४५ प्रतिशत, गोलबजारमा ३५ प्रतिशत, मिर्चैयामा ३८ प्रतिशत, कर्जन्हामा ६० प्रतिशत रोपाइँ हुदाँ सुखिपुर नगरपालिकामा ३० प्रतिशत भगवानपुर गाउँ पालिकामा ८५ प्रतिशत, नरहामा गाउँपालिकामा ३० प्रतिशत, विष्णुपुर गाउँपालिकामा ५५ प्रतिशत, सखुवा नन्कारकट्टी गाउँपालिकामा ७० प्रतिशत, औरही गाउँपालिकामा २५ प्रतिशत र नवराजपुर गाउँपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको ज्ञान केन्द्रले जनाएको छ ।

स्थानीय जातको धानहरु कम फल्ने भएकाले उन्नत जातका धानहरु किसानको रोजाइमा पर्ने ज्ञान केन्द्रको भनाइ छ । जिल्लामा विशेषगरी वासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्ख २ र ३, कतर्नीलगायत जातको धानखेती हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?