बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ ।
विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ ।
“बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभएको छ ।
बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उहाँको भनाइ छ ।
“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा नेपालले पनि उक्त प्रतिबद्धताअनुरुप बाघको सङ्ख्या करिब तेब्बर वृद्धि गरी सन् २०२२ मा रुसकै भ्लादिभोस्तोक सहरमा भएको दोस्रो बाघ सम्मेलनमार्फत आफ्नो मुलुकको उपलब्धि अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको छ ।
“बाघ संरक्षणका लागि भएका प्रयासका उपलब्धीस्वरुप नेपालमा बाघको सङ्ख्या वृद्धि हुँदै गएकोमा संरक्षणकर्मीको मनोबल र हौसलाले उचाइ लिएको सहजै अनुमान लगाउन सकिन्छ । समुदाय र बस्तीस्तर विशेष गरी मध्यवर्ती क्षेत्रका मानिसमा बाघको महत्व, बाघ र मानवको द्व्रन्द्व कम गर्ने उपायका विषयमा ज्ञानको बिस्तार गरी संरक्षणलाई निरन्तरता दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *