पञ्चाङ्ग गणनाका आध्यात्मिक र भौतिक पक्ष

Read Time = 16 mins

संसारमा भौतिक र आध्यात्मिक दुई विषयवस्तु विद्यमान छन् । भूतपदार्थ भौतिक हुन् जो प्रत्यक्ष आँखाले दखिन्छन् । आँखाले देखिने कुराको मात्र विश्वस गर्नु भौतिक हो भने त्यसभन्दा पनि परको कुरा विश्वास गर्नु अध्यात्म हो । वस्तुसत्यलाई मात्र स्वीकार्नु भौतिकवादीको सीमा हो भने त्यसभन्दा पनि परको कुरा स्वीकार्ने अध्यात्मवादी हुन्छन् । भौतिकवादीले ईश्वरलाई स्वीकार गर्दैनन् भने अध्यात्मवादीले ईश्वरीय सत्तालाई स्वीकार गर्दछन् । सूर्यको प्रकाशले ताप दिन्छ यो भौतिक विषय भयो भने सूर्यबाट आत्मिक शक्तिको ऊर्जा मिल्छ भन्नु आध्यात्मिक पक्ष हो ।

अझ भनौँ सूर्यलाई आगाको तातो पिण्डमात्र मान्ने भौतिक हुन् भने सूर्यलाई देवताका रूपमा अनन्त शक्ति संवाहकका रूपमा पूजा गर्ने अध्यात्मवादी हुन् । हाम्रा पञ्चाङ्ग अर्थात् पात्रा गणना दुई प्रकारले हुने गरेका छन् : भौतिक र आध्यात्मिक । भौतिक विषयवस्तुको प्राप्तिका निम्ति भौतिक ग्रह पिण्डको साधना गरिन्छ भने आध्यात्मिक विषयवस्तुको उपयोगका लागि आध्यात्मिक ग्रह गणना गरिन्छ । भौतिक वस्तुलाई मात्र स्वीकार गर्नु भौतिकवादी हुनु हो तर भौतिक र आध्यात्मिक दुवै पक्षलाई स्वीकार गर्नु आध्यात्मिक हुनु हो ।
सामान्य अर्थमा भनौँ ढुंगालाई केवल पत्थर देख्नु, परमाणुको संयोजन मात्र देख्नु भौतिक हो भने उक्त ढुंगामा परमात्माको सत्ता अथवा देवता देख्नु अध्यात्म हो । पृथ्वी, जल, तेज, वायु र आकाश भौतिक हुन् जो नाशवान् छन् भने त्यसभन्दा परको आत्मिक तत्त्व जो अविनाशी छ यही आत्मिक विषयवस्तुको परिज्ञान, साधनाका निम्त हाम्रा पञ्चांग निर्माण हुने गर्दछन् । भौतिकसँगै आध्यात्मिक पक्षको पनि काल गणना पौरस्त्य वाङ्मयले बताएका पञ्चांगा हुने गर्दछ ।

आजको समयमा यस्ता विषयवस्तुलाई दुई कित्तामा राखेर हेर्ने गरिन्छ । वैज्ञानिक र अवैज्ञानिक । भौतिक कुरालाई वैज्ञानिक भनिन्छ अनि आत्मिक कुरालाई अवैज्ञानिकको संज्ञा दिइएको छ । अध्यात्मिक कुरा गर्ने अवैज्ञानिकको कोटिमा पर्ने गर्दछन् । यसरी कित्ता काट गर्नु र आत्मिक पक्षलाई स्वीकार्न नसक्नु भौतिकवादीको कमजोरी हो । संसारमा जति सूक्ष्म कुरा छन् ती त्यति नै शक्तिशाली हुन्छन् । आत्मिक पक्ष शक्तिको सूक्ष्मतम एकाइ हो । हाम्रा आँखा, कान आदि इन्द्रियको ग्रहण गर्न सक्ने क्षमता सीमित छ । यसैले आँखाले देखे जतिमात्र सत्य मान्नु गलत हुन्छ ।

वैज्ञानिक र अवैज्ञानिक दुई कित्तामा राखेर विभिन्न कुरालाई हेर्ने गरिन्छ । भौतिक कुरालाई वैज्ञानिक भनिन्छ अनि आत्मिक कुरालाई अवैज्ञानिक । अध्यात्मिक कुरा गर्ने अवैज्ञानिकको कोटिमा पर्ने गर्दछन् । यसरी कित्ता काट गर्नु र आत्मिक पक्षलाई स्वीकार्न नसक्नु भौतिकवादीको कमजोरी हो ।

पात्रोमा वर्षको निर्धारण गरिएको हुन्छ । वर्ष सूर्यले एक चक्र भोग वा ३६० अंश पार गरेपछि निर्धारण हुन्छ । अर्थात् एक वर्षमा २६५.२५८७५६५ दिन हुन्छ । प्रायः चार वर्षमा ३६६ दिनको एक वर्ष हुन्छ । यसरी सूर्य ग्रहले परिक्रमा गर्ने आधारमा हाम्रा वर्षको निर्धारण हुन्छ । आजको आधुनिक भनिने नासाप्रदत्त स्वीस एफेमेरिजले गर्ने गणना पनि यसमा समान जस्तै छ । चार वर्षमा लिपइयर नै मानिन्छ । यसपछि महिना निर्धारण गर्दा हाम्रा महिना र ईशवीय वर्षका महिना निर्धारणमा फरक धारणा छ । ईशवीय वर्षका महिना निश्चि तर स्थिर छन् तर हाम्रा महिनाको निर्धारण सूर्यको चलगतिका आधारमा भएका कारण चल छन् ।

यसैले सूर्यसिद्धान्त अनुसार निर्धारण गरिएका महिना ३२ दिनका पनि हुन्छन् । तर एफेमेरिजका गणनामा भनौं वा ईशवीय वर्षका महिना ३२ दिनका हुँदैनन् । यसरी महिना निर्धारण गर्नुमा आध्यात्मिक पक्ष जोडिएको छ । प्रत्येक महिना सूर्यले ३० अंश पार गरेपछि हुन्छ जसलाई सङ्क्रान्ति भनिन्छ । सङ्क्रान्ति स्नान, दान आदि पुण्यकर्मका लागि उत्तम मानिन्छन् । अझ भनौँ सङ्क्रान्तिको पुण्यकाल निर्धारण गर्ने सन्दर्भमा हाम्रा महिना २९ देखि ३२ सम्मका हुन सक्छन् । सामान्यतः संक्रान्ति भएको १६ घडी (घडीलाई २.५ ले भाग गर्दा घण्टा हुन्छ) पूर्वापर पुण्यकाल हुने गर्दछ : ‘सङ्क्रान्तिकालादुभयत्र नाडिकाः पुण्या मता षोडश षोडशोष्णगोः ।
निशीथतोद्रर्वागपरत्र सङ्क्रमे पूर्वापराहान्तिमपूर्वभागयोः ।।’(मुहूत्र्तचिन्तामणि, सङ्क्रान्तिप्रकरण, श्लो.५)

सूर्यसङ्क्रान्तिकालबाट पहिले र पछि १६।१६ घटी (अर्थात् ३२ घटी) पुण्यकाल हुन्छ । यदि आधा रात पहिले संक्रान्ति लाग्यो भने पहिलो दिनको उत्तराद्र्ध (१२ बजेबाट सूर्यास्तसम्म) तथा आधा रातपछि सङ्क्रान्ति लाग्यो भने दिनको पूर्वभाग (सूर्योदयबाट दिनको १२ बजेसम्म) पुण्यकाल रहन्छ । रातमा स्नानदानका कार्य निषिद्ध रहने भएकाले ऋषिहरूले यस्तो व्यवस्था गरेका हुन् । यही पुण्यकालको निर्धारणले गर्दा हाम्रा महिना ईशवीय महिनासँग मिल्दैनन् । अझ भनौँ दिनमानभित्र सूर्यसङ्क्रान्ति भए त्यही दिनलाई मकर सङ्क्रान्ति मानिन्छ । दिनमान वा सूर्यास्तपछि सङ्क्रान्ति वा सूर्य मकर राशिमा प्रवेश गरे भने भोलिपल्ट सङ्क्रान्ति वा १ गते हुन्छ । यसैगरी श्रावण सङ्क्रान्ति अहोरात्र वा ६० घडीभित्र भयो भने त्यही दिन सङ्क्रान्ति मानिन्छ ।

अन्य सङ्क्रान्ति मिश्रमानिकालिक (मध्यरात्रिकालिक) हुन्छन् । यसरी आध्यात्मिक पक्षलाई साधन गर्र्नका निम्ति उचित समयको निर्धारण हाम्रा पात्रामा गरिएको हुन्छ । आजका स्वीस एफेमेरिजले यी काम गर्दैनन् । मूलतः पञ्चाङ्ग शब्द नै आध्यात्मिक हो । हामीले प्रयोग गर्ने तिथि मिति क्यालेण्डर होइनन् पञ्चाङ्ग वा पात्रा नै हुन् । किनकि पाँच कुराको अनिवार्य व्यवस्था हाम्रा पञ्चाङ्गमा अनिवार्य छ । तर, भौतिक गणितमा तिथि, नक्षत्र, योग, करणको आवश्यकता छैन । कुनै प्रयोजन पनि छैन । यसैले हामी भौतिक अझ भनौँ आजको आधुनिक गणितकै पछि लाग्न सक्दैनौँ । किनकि हाम्रा आफ्नै मूल्य र मान्यता छन् । गणना पद्धति छन् र आवश्यकताको सिद्धान्तमा आधारित पनि छन् । आकाशमा दृश्य भए पनि आध्यात्मिक दृष्टिले दृश्य हुनु आवश्यक रहन्छ ।

ADVERTISEMENT

वैदिक एवं पौराणिक कालमा दृक्पक्ष र सौरपक्ष दुवैको ज्ञान थियो तर ऋषिले ज्योतिषमा सौरपक्षको नै प्रयोग गर्न आदेश दिएका छन् । यसैले हाम्रा पात्रा सूर्यसिद्धान्तमा आधारित छन् । जसबाट आध्यात्मिक र भौतिक दुवै पक्षको गणना गर्न सकिन्छ ।

समयक्रमसँगै ग्रहका गतिमा केही विचलन रहन्छ । अयननचलनले गर्दा सायन र निरयणमा भेद आउने गर्दछ । अयनांश जोडेर गरिने गणना पनि हाम्रा सिद्धान्तमा व्यक्त छन् र गणना पनि हुन्छन् । गणना गर्न नसकेर होइन आध्यात्मिक दृष्टिले योग्य नभएर नै निरयण पद्धतिका आधारमा हाम्रा पञ्चाङ्गको गणना गरिएको हो । ग्रहण, चर, वेलान्तर आदि अयनांश जोडेर नै साधन गरिन्छन् । अर्थात् भौतिक दृष्टिले पनि योग्य बनाइन्छन् भने अन्य कुरा आध्यात्मिक पक्षसँग जोडिने भएकाले भिन्न रहेका हुन् । यसरी वर्ष, संवत्सर, अयन, ऋतु, महिना, तिथि, वार, नक्षत्र, योग करण आदि निर्धारणका हाम्रा स्वकीय सिद्धान्त छन् जुन निरयण पद्धतिमा आधारित छन् । जुन आध्यात्मिक विषयवस्तुको सापेक्ष रहेर साधना गरिन्छन् ।

यसैगरी हाम्रो ग्रहगणना पद्धति प्रत्यक्षतः चार अर्ब ३२ करोड वर्षको गणनामा आधारित छ । जसलाई कल्प भन्दछौं । यही कल्पअन्तर्गत १४ मनु, ७१ महायुग अन्तर्निहित छन् । जसको एक एक उच्चारण हाम्रा सङ्कल्पमा हुने गर्दछ । हरेक धार्मिक कार्यमा कल्पअन्तर्गतका विषयवस्तु सङ्कल्पमा उच्चारण गरिन्छ जसका निम्ति आध्यात्मिक ग्रहको अवस्तिथि आवश्यक पर्छ नकि भौतिक । यसैले हाम्रा गणना निरयण वा अयनांशरहित छन् । आजको दृश्यस्थानबाट २४ अंशको अन्तरमा छन् । यसैले निर्णयसिन्धुमा अदृष्ट फलसिद्धिका निम्ति अर्कगणित (सूर्यसिद्धान्त) गणना गर्नु भनी आदेश गरिएको छ :
‘अदृष्टफलसिद्ध्यर्थं यथार्कगणितं कुरू
गणितं यदिदृट्यर्थं तद्दृष्ट्युद्भवतस्सदा ।।’ (निर्णयसिन्धु)
अदृष्ट फलसिद्धिका लागि ग्रहपिण्डको अदृश्य ग्रह (देव बिम्ब) आवश्यक हुन्छ । किनकि भौतक चक्षुद्वारा देवताको दर्शन असम्भव छ । अदृष्ट फलका लागि पञ्चाङ्ग उपयोगी तिथ्यादिको निर्णयमा दृग्गणितलाई ऋषिले निषेध गरेका छन् । वैदिक एवं पौराणिक कालमा दृक्पक्ष र सौरपक्ष दुवैको ज्ञान थियो तर ऋषिले ज्योतिषमा सौरपक्षको नै प्रयोग गर्न आदेश दिएका छन् । यसैले हाम्रा पात्रा सूर्यसिद्धान्तमा आधारित छन् । जसबाट आध्यात्मिक र भौतिक दुवै पक्षको गणना गर्न सकिन्छ ।

तर, अधिक चाहिने कुरा आध्यात्मिक भएकाले भौतिक पक्षको त्यति धेरै आवश्यता पर्दैन । ग्रहणलाई दृग्योग्य नै मानिएको छ । यसैले ग्रहणको गणना भौतिकदृश्य विधिले गर्ने शास्त्रनिर्देश र गणना पद्धति पाइन्छ । चिना कुण्डलीको फलादेशमा पनि सायन पद्धतिलाई स्वीकारिएको छैन । निरयण पद्धतिबाट नै फलादेशका सूत्र बताइएका छन् । किनकि फलादेश पनि आध्यात्मिक विषयवस्तुसँग जोडिएको हुन्छ ।

आजको विज्ञानले मान्ने सूर्योदय र हामीले अर्घ दिने सूर्योदयकाल भिन्न छ । सनराइज र सूर्योदयमा अन्तर छ । किरणवक्री भएर सूर्य क्षितिजमा अघि नै देखिन्छन् । जसलाई आजको विज्ञानले सनराइज भन्छ । हाम्रा पद्धतिका सूर्योदय सूर्यको बिम्बको आधा भाग क्षितिजमा आएपछि मात्र हुन्छ । जसलाई सन्ध्या भनिन्छ :
‘सन्ध्या त्रिनाडीप्रमितार्कबिम्बादद्र्धोदितास्तादधऊध्र्वमत्र ।’ (मुहूत्र्तचिन्तामणि, सङ्क्रान्तिप्रकरण, श्लो.७)

सूर्यबिम्बको आधा उदय हुनु पहिले तीन घडी प्रातः सन्ध्या र सूर्यबिम्बको आधा अस्त भएपछि तीन घडी सायंकालको सन्ध्याकाल हुन्छ । यसरी सूर्योदय र अस्तसँग सन्ध्या जोडिएर आउने गर्दछन् जुन हाम्रा सन्ध्याबन्धन, जप, ध्यानका निम्ति उत्तम समय मानिन्छन् । नासाले गणना गर्ने एफेमरिजमा सन्ध्या समयको आवश्यकता पर्दैन । यसैले सनराइज र सूर्योदयमा फरक छ । सूर्योदयसँगै हाम्रा तिथि, बार, नक्षत्र आदि गणना आरम्भ हुन्छन् ।

पौरस्त्य वाङ्मयले आत्मिक ज्ञानका निम्ति नै अधिक जोड दिएको छ । भौतिकभन्दा पनि आत्मिक पक्षको चिन्तन मानवका निम्ति कल्याणकारी रहन्छ । किनकि भौतिक क्षणिक हुन्छ भने आत्मिक पक्ष दीर्घकालिक हुन्छ । यसैले पञ्चाङ्ग गणना पनि आत्मिक वा आध्यात्मिक पक्षको साधनाका निम्ति सहायक हुनेगरी निर्धारण गरिएका हुन्छन् । जुन भौतिकभन्दा भिन्न रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. २६५.२५.. दिनको १ वर्ष अनि श्लोक आदि कूरा अशुद्ध भए । धेरै पटक पढेर मात्र हाऴन परो गुरु । अरु त राम्रो छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?