काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।
राजस्व अनुसन्धान विभागले आइतबार विमानस्थल भन्सार अधिकृतसहित ६ जनालाई नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको हो ।
पक्राउ पर्नेहरूमा विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स-रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली रहेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परेकाहरूमाथि छानविन गर्न उच्च अदालत पाटनबाट आइतबारै ६ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ । यसअघि सुन बरामद भएकै दिन गत बुधबार राति ६ जना र अर्को दिन चार जना पक्राउ परेका थिए ।
पक्राउ परेका ६ जनामाथि १० दिन र त्यसको अर्को दिन पक्राउ परेका चारजनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो । नौ दिन म्याद थप भएकाहरूमा चिनियाँ नागरिक जेयुङ लिनसहित कार्गो कम्पनीका सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट रहेका छन् ।
यस्तै १० दिन म्याद लिएर अनुसन्धान जारी रहेकाहरुमा सुन ओसारपसारमा संलग्न ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् ।
यही साउन ३ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएका बेला भन्सार कार्यालय अगाडिबाट विभागले झन्डै एक क्विन्टल सुन बरामद गरेको थियो । हङकङबाट ल्याइएको उक्त सुनको परीक्षण र तौल लिनका लागि नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts