देखावटी अनुगमन, तानसेन बजारमा ठूलो परिमाणमा अखाद्य वस्तु भेटिएपनि भएन कारवाही

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । सरकारी/गैरसरकारी निकायहरूको जम्बो टोलीले आर्थिक वर्षको पहिलो दिन गत सोमबार पाल्पाको सदरमुकाम तानसेनका बजार अनुगमन गर्दा अखाद्यवस्तु बेचबिखन भइरहेको फेला पारेको छ । तिनै पसलमा भोलिपल्टैबाट फेरि उही हालतको खाद्यन्न बिक्री भइरहेको छ । त्यो अनुगमनको झड्काले अन्यत्रका उस्तै व्यवसायीलाई छोएको पनि छैन । मौसमी, देखावटी र सौदाबाजीका लागि गरिने यस्ता अनुगमनको व्यवसायीहरू जानकार नभएका हैनन् ।

तानसेन नगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ र नेपाल पत्रकार महासंघको टोलीले ठूलो परिमाणमा अखाद्य वस्तु फेला पारी नष्ट ग-यो । टोलीले त्यसरी अखाद्य वस्तुु विक्री गर्ने व्यवसायीहरुलाई कारवाही गर्नुपर्नेमा सम्झाई बुझाई गरेर मात्र छोड्यो । जसले गर्दा अनुगमन गरेको अर्को दिनदेखि तानसेनका व्यापारीले फेरी त्यस्तै अखाद्य वस्तु विक्री गर्न थालेका छन् ।

तानसेनका पसलहरुमा बेला–बेलामा मौसमी अनुगमन हुने गर्दछ । हरेक वर्ष दसैं–तिहार र आर्थिक वर्षको सुरुमा बजार अनुगमनले राम्रै प्राथमिकता पाउने गर्दछ । बजार अनुगमन गर्दा गुणस्तरहिन बस्तु नस्ट गरिन्छ । अनि यसको प्रचारप्रसार पनि राम्रै हुन्छ तर, कारवाही भने हुँदैन । अनुगमन टोलीले अनुगमन गर्दा सधैँ सुझावमात्रै दिने,कुनै कारवाही नगर्ने कारण मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाउने गर्दछ । गत सोमबार तानसेनको विशालबजार, पेट्रलपम्प, गौरी शंकर गेष्टहाउस क्षेत्रमा गरिएको बजार अनुगमनकोे क्रममा ठूलो परिणाममा अखाद्य बस्तुहरु भेटिए । उक्त क्षेत्रको २५ वटा पसलहरुमा अनुगमन गर्दा २० हजार बराबरको अखाद्य बस्तुहरु जफत गरी तानसेन नगरपालिका क्षेत्रमा जलाई नष्ट गरिएको छ ।

अनुगमन गरिएका क्षेत्र चर्चित डिपाटमेण्टल स्टोरदेखी बाटोघाटो चोक चोकका पसलहरुमा बढी मात्रामा अखाद्य पदार्थहरु भेटिएका हुन् । विस्कुट, किसमिस, पास्ता, टोस्ट, मसला, बेकन, एस आर मैदा, कुरकुरे, पोटाटो चिप्स, जेम्स, सुजी, आचार खाने तिल, मरिच पाउडर, सेनचुरी चिकन मसला, बेसन, बदाम जुस, करेन्ट पोटाटो क्रयाकर, चिल बल्व, मायोनेज, वलिम, बोतल पानी, डाइजेस्टिक विस्कुट, चोको प्लेक्स, चाउमिन सेकुवा मम गरम सब्जी र पानीपुरी मसला, आटा, वियर लगायतका अखाद्य बस्तुहरु रहेको अनुगमन टोलीका संयोजक तथा तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो । ठूलो परिमाणमा अखाद्य वस्तु फेला परे पनि जफत गरी जलाउने काम मात्र भयो ।

अनुगमन टोलीले उपभोक्ता हित विपरितका क्रियाकलापमा संलग्न रहेका व्यवसायीहरुलाई सम्झाई बुझाई छोडेको छ । सम्झाई बुझाई गरी छोड्दा मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढ्ने गरेको राप्रपाका नेता देवेन्द्रबहादुर रायमाझीले बताउनुभयो । उहाँले भन्नुभयो ‘वर्षको एक/दुईपटक बजार अनुगमन हुन्छ तर जतिपटक अनुगमन गरे पनि अनुगमन टोलीले मापदण्डविपरीतका पसलेलाई जहिले पनि सम्झाई बुझाई छोड्छन्, कारवाही कहिले हुँदैन, यस्तो अनुगमनको कुनै अर्थ छैन् । यसले अखाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढाएको छ ।’

ADVERTISEMENT

अनुगमनको क्रममा भेटिएका अखाद्य वस्तुहरु जफत गर्ने र मुचुल्का गरी जलाउने गर्दै आए पनि अबका दिनमा समान जफतसँगै परिणाम अनुसार दण्ड जरिवाना गर्नेदेखी पक्राउ गरी मुद्दासम्म चलाउने सम्मको कारवाही गरिने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुुभयो । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरी तथा बर्षातको मौसमलाई मध्यनजर गरी होलसेल पसलहरुले ग्रामीण क्षेत्रमा अत्याधिक मात्रामा अखाद्य बस्तुहरु पठाएको अवस्था हुन सक्ने भएकाले सबै स्थानीयतहलाई बजार अनुगमन गर्न भनिएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी प्रशासकीय अधिकृत रमा श्रेष्ठ बताउनुभयो ।

संघीय संरचनापछि बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिएको छ । आफ्नो क्षेत्रभित्रको बजार अनुगमनसँगै कारवाही गर्ने अधिकार पनि स्थानीय तहलाई दिएको छ भने जिल्लाभित्रको प्रशासन कार्यालयलाई दिइएको छ । बेला–बेलामा अनुगमन भए पनि कारवाही नहुँदा अखाद्य वस्तुको बिक्रीवितरण गर्नेले प्रश्रय पाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?