काठमाडौं । क्लाइमेट एक्सन नेटवर्क साउथ एशिया (कान्सा) को राष्ट्रिय रणनीतिमा अपांगता सवाललाई समावेश गर्नुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । कान्सा तथा अपांगतासम्बन्धी काम गर्ने कान्साको एकमात्र सदस्य संस्था सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालको संयुक्त आयोजनामा राजधानीमा आयोजित नेपालमा जलवायुसम्बन्धी कार्यमा अपांगता समावेशीकरण विषयक एक संवाद कार्यक्रममा सो विषयमा छलफल गरिएको हो ।
नेपालमा जलवायुका कारण पर्ने असरबाट सबैभन्दा बढी अपांगता भएका व्यक्ति प्रभावित हुने हुँदा कान्साको राष्ट्रिय रणनीतिमा अपांगता सवाललाई समावेश गर्नु एकदमै आवश्यक देखिएकाले यसै विषयलाई मध्यनजर गर्दै सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालकोे विशेष पहलमा सो संवाद राखिएको हो ।
कान्साको राष्ट्रिय तदर्थ समितिको सन् २०२३ देखि २०२५ सम्मको तीन वर्षे राष्ट्रिय रणनीतिमा समावेशीताको दृष्टिकोणबारे संवाद कार्यक्रममा एक प्रस्तुतीकरण गर्नु हुँदै कान्साको राष्ट्रिय तदर्थ समितिका प्रमुख तथा प्रज्ञा सिड्स नेपालका अध्यक्ष प्रणय श्रेष्ठले यो तीन वर्षभित्रमा कान्साले आफ्ना सदस्य संस्थामार्फत जलवायुसम्बन्धी विषयमा के कसरी काम गर्न सक्छ र त्यसभित्र अपांगता सवाललाई समावेशीकरण के कसरी गर्न सकिन्छ भन्ने बारे स्पष्ट पार्नुभयो ।
संवादमा सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालका राष्ट्रिय निर्देशक सुरज सिग्देलले जलवायुसम्बन्धी कार्यमा अपांगता समावेशीकरण किन गर्नुपर्छ त भन्ने विषयमा प्रस्तुतीकरण दिनुहुँदै अपांगता सवाल एक समावेशीकरणको विषय भएको र अपांगता भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा हुनेहुनाले जलवायुको कुरा गर्दा उनीहरूलाई सबैभन्दा पहिला समेटिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव सुगम भट्टराईले लगभग सबै जिल्लामा महासंघको उपस्थिति रहेकाले अपांगता सवाललाई समावेश गर्नुपर्ने सन्दर्भमा कुरा गरिरहँदा कान्साले महासंघलाई पनि सदस्य संस्थाका रूपमा समावेश गरेमा कान्सालाई अपांगता सवालमा काम गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।
संवाद कार्यक्रममा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै कान्साको मुख्य कार्यसमिति सदस्य प्रवीणमान सिंहले अपांगता सवाल एक समावेशीकरणको विषय भएकाले नै कान्साले अपांगता सवाललाई उठाउन र यससम्बन्धी विषयमा काम गर्न चाहेको बताउनुभयो । संवाद कार्यक्रममा उपस्थित अपांगता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधिले नेपालको सन्दर्भमा जलवायुका कारण धेरै अपांगता भएका व्यक्ति तथा तिनका परिवार कुनै न कुनै माध्यमबाट प्रभावित हुने गरेकाले यस सवाललाई प्राथमिकताका साथ समावेश गरेर काम गर्न सुझाब दिनुभयो ।
त्यसैगरी उपस्थित जलवायु तथा वातावरणसँग सम्बन्धित क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले अपांगता भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा रहेको कुरालाई मनन् गर्दै अबका दिनमा अपांगताको सवाललाई आफ्नो कार्यक्रममा समावेशीकरण गर्दै लैजाने विषयमा ऐक्यबद्धता प्रकट गर्नुभयो ।
दक्षिण एशियाका आठवटा राष्ट्रहरूका तीन सयभन्दा बढी नागरिक समाजका संघसंस्थाको सदस्यता रहेको कान्सा जलवायुसम्बन्धी काम गर्ने एक ठूलो सञ्जाल हो र यसको राष्ट्रिय तदर्थ समिति नेपालमा जलवायुसम्बन्धी काम गर्ने विज्ञहरूको अगुवाइमा सन् २०१० मा कान्साको स्थापना भएको हो । त्यसैगरी सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपाल अपांगताको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्था हो र यसले विगत चालीस वर्षदेखि नेपालमा अपांगताको सवाललाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा आयोजित यो संवाद कार्यक्रमलाई सिबिएम ग्लोबल डिसेविलिटी इन्क्लुजन नेपालका प्रतिनिधि दिनेशप्रसाद बरालले सहजीकरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच