पढ्ने भनेको परीक्षा दिनमात्र होइन, जान्नका लागि हो : आयुष्मा श्रेष्ठ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं ।  मिहिनेत गरेर पढियो भने जहाँ रहे पनि सफलता चुम्न सकिन्छ भन्ने आफूलाई लागेको आयुष्मा श्रेष्ठ बताउनुहुन्छ । गोरखा सदरमुकामबाट झण्डै ५० किलोमिटर टाढा आरूटारकी आयुष्माले यसपालिको एसइईमा चार जीपीए लिएर उत्तीर्ण भएपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आरूघाट नेप्लिज एड्भान्स सेकेण्डरी स्कुलबाट एसइईमा चार जीपीए ल्याउनुभएको हो ।

स्कुलमा डा.सन्दुक रुइतको जीवनी पढेपछि आफूमा पनि त्यस्तै बन्ने इच्छा भएको आयुष्माको भनाइ छ, उहाँ भन्नुहुन्छ, ‘गोमा भट्ट मेडमले नेपाली विषयमा डा.सन्दुक रुइतको जीवनी पढाउनुभयो । सफल हुन रुइतले गरेको संघर्षबारे सुनाउनुभयो । डाक्टर भएपछि उहाँले गरेको योगदान र पाएको सफलताबारे भिडियो पनि देखाउनुभयो । डा.रुइतको जीवनीले मलाई भित्रैदेखि छोयो ।’

‘पढ्ने भनेको परीक्षा दिनमात्र होइन, जान्नका लागि हो । त्यसैले परीक्षाको मुखमा मात्र पढ्ने होइन । परीक्षाको मुखमा मात्र दुःख गरेर हुँदैन । सुरुदेखि नै मिहिनेत गरेर पढियो भने भित्रदेखि नै जानिन्छ भन्ने मलाई लाग्थ्यो ।’

श्रेष्ठ भन्नुहुन्छ, ‘उहाँ ताप्लेजुङको विकट बस्ती ओलाङचुङगोलाको हुनुहुन्थ्यो । जो त्यतिबेला १५ दिन पैदल हिँडेर दार्जिलिङ पढ्न जानु भएको रहेछ । त्यो जीवनी पढेपछि मलाई सफल हुन ठूलो शहरमै जन्मनुपर्ने पनि रहेनछ भन्ने लाग्यो । ठूलो शहरको नाम चलेको स्कुलमै पढ्नुपर्छ भन्ने पनि रहेनछ भन्ने लाग्यो । मिहिनेत गरेर पढियो भने जहाँ रहे पनि सफलता चुम्न सकिन्छ भन्ने लाग्यो ।

हाम्रो आरूघाट पनि गोरखा सदरमुकामबाट झण्डै ५० किलोमिटर टाढा पर्छ । मेरो घर त आरूघाट बजारबाट पनि बाहिर आरूटारमा पर्छ । मैले मिहिनेत गरेँ भने यहाँ रहेर पनि सफलता हासिल गर्न सक्छु भन्ने लाग्यो ।’

ADVERTISEMENT

आफ्नो मिहिनेत देखेर अभिभावक र स्कुलका शिक्षक शिक्षिका उत्साहित हुँदै आफूलाई हौसला दिइरेको र सफलता प्राप्त भएको भन्दै उहाँ भन्नुहुन्छ, ‘बुबा, आमा, प्रिन्सिपल भोजराज भट्ट, भाइस प्रिन्सिपल गोमा भट्ट मेरो मिहिनेत देखेर उत्साहित हुनुहुन्थ्यो । उहाँहरूले मलाई सधैं प्रेरणा दिइरहनु हुन्थ्यो । आफूले पढेको कुरा साथीसंगीलाई सुनाइयो भने, अरूलाई पनि सिकाइयो भने आफ्नै ज्ञान बढ्छ भन्ने मलाई राम्ररी थाहा थियो । त्यसैले म आफूले जानेको कुरा साथीहरूलाई सिकाउँथें । यसले पनि मलाई थप आत्मबल बढ्थ्यो ।’

पढ्ने भनेको परीक्षा दिनमात्र होइन भन्नुहुने श्रेष्ठ, ‘पढ्ने भनेको परीक्षा दिनमात्र होइन, जान्नका लागि हो । त्यसैले परीक्षाको मुखमा मात्र पढ्ने होइन । परीक्षाको मुखमा मात्र दुःख गरेर हुँदैन । सुरुदेखि नै मिहिनेत गरेर पढियो भने भित्रदेखि नै जानिन्छ भन्ने मलाई लाग्थ्यो ।’
आफ्नो मिहिनेत बारेको उहाँको बुझाइ छ, ‘मैले जति पनि पढ्दै जान्थेँ त्यसलाई दोहोर्‍याएर पढ्नु नपर्ने गरी सुरुदेखि नै ‘कम्प्लिट’ गर्दै जान्थेँ । सर, मिसहरूले त स्कुलमा सहयोग गर्ने हो । मलाई मिहिनेत त आफैंले गर्ने हो भन्ने लाग्थ्यो । मैले त्यसरी नै मिहिनेत गरेको थिएँ ।’

एसइईमा चार जीपीए आएकोमा श्रेष्ठ भन्नुहुन्छ, ‘बुबा-आमाले मेरो मिहिनेत र क्षमता देखेर एसइईमा जीपीए ४ ल्याउँछ भनेर अड्कल गर्नु भएको थियो । म आफूलाई पनि जीपीए ४ आउँछ भन्ने त लागेको थियो । तर, ढुक्क थिइनँ । बुबा-आमा भने ढुक्क हुनुहुन्थ्यो । नभन्दै मेरो जीपीए ४ आयो ।’

आफ्नो सफलतामा सबै खुशी भएको भन्दै उहाँ भन्नुहुन्छ, ‘मेरो सफलताले खुशी बुबा-आमा धेरै खुसी हुनुभयो । सर, मिस पनि असाध्यै खुसी हुनुभयो । उहाँहरूको खुसी र उत्साह देखेर मलाई जिम्मेवारी बढेको महसुस भएको छ । मैले उहाँहरूको सपना साकार पार्न अब केही नगरी हुन्न भन्ने अठोट गरेकी छु ।’ अबको योजना बारे श्रेष्ठ भन्नुहुन्छ, ‘मैले अब कक्षा ११-१२ मा विज्ञान पढ्ने र मेडिकल क्षेत्रमा पढ्ने योजना बनाएकी छु । किनभने, मैले पहिलेदेखि नै डा.सन्दुक रुइतजस्तै ठूलो डाक्टर बनेर स्वास्थ्य सेवा गर्ने सपना पालेकी छु । मैले त्यही अठोट गरेर प्लस टु को प्रवेश परीक्षाको तयारी गरिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज