खाद्यान्न संकट अझै महामारीअघिको स्तरभन्दा माथि : संयुक्त राष्ट्रसंघ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

पेरिस । विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसंघीय निकायले बताएका छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।

गतवर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा विश्व जनसंख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो संख्या बढेर ९.२ प्रतिशत पुगेको छ । ‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य संकट करिब ३८ लाख मानिसको संख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीले चेतावनी दिएका छन् । यो प्रतिवेदन ‘विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेकोे र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो । यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१९ यता यी संकटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ । ‘महामारीपछिको आर्थिक पुनर्रुत्थानले स्थितिमा सुधार ल्याउन मद्दत गर्‍यो, तर युक्रेनको युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले सामान्य प्रगतिलाई कमजोर बनाएकोमा कुनै शंका छैन’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यो अनुमानले भोकमरी ‘अब विश्वव्यापी स्तरमा बढिरहेको छैन’ तर यो ‘कोभिड-१९ महामारीअघिको स्तरभन्दा निकै माथि छ र भोकमरीमुक्त विश्वको दिगो विकास लक्ष्य-२ हासिल गर्ने मार्गबाट निकै टाढा छ ।

संयुक्त राष्ट्रसंघका निकायहरूका अनुसार विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल संकटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहनेछ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको बताउनुभएको छ । तर, समग्रमा भन्नुपर्दा दिगो विकास लक्ष्यलाई उकास्न हामीलाई तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो छ ।

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१५ मा तयार पारेको दिगो विकास लक्ष्यमा भोकमरी र गरिबीको अन्त्यलगायत १७ वटा अन्तरसम्बन्धित उद्देश्य समावेश छन् । यदि प्रगतिको गति अघि बढ्न सकेन भने सन् २०३० सम्ममा पनि करिब ६० करोड मानिस भोकमरीको चपेटामा पर्न सक्छन् ।

खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारक द्वन्द्व, आर्थिक संकट, प्राकृतिक विपत्तिका साथै असमानता नवसामान्य बन्न पुगेको संयुक्त राष्ट्रसंघका निकायहरूले चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले भन्नुभयो, ‘हामीले जुन कुराको कमी महसुस गरिरहेका छौं, त्यो भनेको लगानी र राजनीतिक इच्छाशक्ति हो ।’

विश्व खाद्य कार्यक्रमले गत मे महिनामा सोमालिया, केन्या र इथियोपियाका दुई करोड ३० लाखभन्दा बढी मानिसलाई अनिकाल पर्ने चेतावनी दिएको थियो ।

सन् २०२२ मा विश्वका १० मध्ये तीनजना गरी करिब दुई अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए ।
महामारीले धेरै मानिसको आयमा असर पारेको र युक्रेन युद्धका कारण मूल्यवृद्धि भएको र अर्बौं मानिस किफायती स्वस्थ आहारको पहुँचबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय निकायले बताएका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार गतवर्ष तीन अर्ब १० करोडभन्दा बढी मानिससँग स्वस्थ र सन्तुलित आहारका लागि पर्याप्त पैसा थिएन ।

डब्लुएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले चेतावनी दिँदै भन्नुभएको छ, ‘भोकमरी बढिरहेको छ भने अति जोखिममा रहेकाहरूको सुरक्षाका लागि हामीलाई तत्काल आवश्यक पर्ने स्रोत खतरनाक रूपमा कम भइरहेका छन् ।’

म्याक्केनका अनुसार हामीले अहिलेसम्म देखेको सबैभन्दा ठूलो मानवीय चुनौतीको रूपमा भोकमरीको समस्याको सामना गरिरहेका छौं । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?