काठमाडौं ।
अनुसन्धान व्यवस्थापन एकाइ, वाल्मीकि विद्यापीठले ‘वेदमा नारीको स्थान’ विषयमा एक अन्तक्र्रियात्मक गोष्ठी सम्पन्न गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्य, वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा.भागवत ढकालको विशेष आतिथ्य र विद्यापीठका सहप्राचार्यहरू, पूर्वप्राचार्यहरू, विश्वविद्यालय सभाका सभासद्, विद्यापीठका विभागाध्यक्ष, विभागीय प्राध्यापक, शिष्यलगायत विविध क्षेत्रका विशिष्ट विशिष्ट विद्वान्–विदुषी महनुभावको सहभागितामा गोष्ठी सम्पन्न भयो ।
प्रमुख नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. लामिछानेले नारी–पुरुषका बीचमा वैदिककालमा कुनै विभेद नरहेको अवस्थामा पछिल्लो समयमा विभेदको प्रचलन बढेको देखिनु दुःखद् रहेको बताउनुभयो । वेदमा नारीको उच्च सम्मान र गाउँसमाजमा अपमान विद्यमान भएकाले वैदिक वाङ्मयमा निहित ज्ञानराशिलाई विश्वविद्यालयको कक्षाकोठामा सीमित नराखी समाजमा पस्किएर जनसमाजलाई सचेत र जागरुक बनाउँदै जानुपर्ने बताउनुभयो ।
सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा उतार्नु पर्ने बताउँदै उपकुलपति लामिछानेले संस्कृतलाई नेपालीभाषामा व्याख्या गरी प्रकाशन गर्न आवश्यक रहेको भन्दै सबैले यो दल त्यो दल तथा यो विचार र त्यो विचारको आग्रहभन्दा माथि उठ्न आग्रह गर्नु भयो । वेदवाङ्मयको ज्ञानलाई दोहन गरी समाजलाई लाभान्वित पार्ने कार्यमा सहकार्य गर्न सम्बद्ध सबैसमक्ष उपकुलपति लामिछानेले अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि डा. विमला शर्माले वेद तथा वैदिक वाङ्मयमा नारीलाई महत्वपूर्णस्थान तथा मानसम्मान दिएको भए पनि नेपाली समाजमा आज पनि नारीलाई अपहेलना गरिन्छ भन्दै अब नारी–पुरुषसम्बन्धी समानताको अवधारणालाई प्रवचन र भाषणमा मात्र होइन हुबहु व्यवहारमा उतार्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्तव्यका क्रममा वाल्मीकिका प्राचार्य प्राडा. भागवत ढकालले वैदिक मन्त्रको उच्चारणमात्रमा त रोगनिवृत्ति तथा पर्यावरण शुद्धि गर्ने सामथ्र्य रहेकाले अहिले विश्व नै वेदविज्ञानतर्फ आकृष्ट हुँदै गएको धारणा राख्नुभयो । वास्तविकताको उल्लेख गर्दै प्राचार्य प्रा.डा. ढकालले वाल्मीकि विद्यापीठ अनुसन्धान एकाइद्वारा समायोजित अन्तक्र्रियात्मक कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
सो कार्यक्रममा कार्यपत्र प्रस्तोता गर्दै प्राडा.आमोदवर्धन कौडिन्यायनले वेदमा नारीको उच्चस्थान रहेको बताउनुभयो । उहाँले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति दिने क्रममा वेदमा गार्गी, मैत्रेयीजस्ता थुप्रै ब्रहृमचिन्तन तथा शास्त्रार्थ गर्ने ब्रहृमवादिनी देखिन्छन्, नारीलाई मन्त्रद्रष्ट्री ऋषिकाका रूपमा वर्णन गरिएका प्रसंग प्राप्त हुन्छन् । वेदवेदाङ्ग पढ्ने–पढाउने उपाध्याय–उपाध्यायीको उल्लेख भेटिन्छ वेदमा, नारीको विधिसम्मत उपनयन संस्कार (व्रतबन्ध) को विधान पाइन्छ ।
वेदमा मातृदेवो भवः भनिएपछि मात्र पितृदेवो भवः भनिएकाले नारीलाई अग्रस्थान तथा विशेष सम्मान दिइएको पाइन्छ । त्यसैगरी माता, गृहिणी, पत्नी, जाया, धर्मपत्नी, अर्धाङ्गिनीजस्ता शब्दहरूको व्युत्पत्तिबाट प्राप्त हुने अर्थले पनि नारीलाई वैदिकवाङ्मयले उच्चस्थान दिएको देखिन्छ । विधर्मीले लगाएका आरोप सुनेर तथा पाश्चात्यहरूले गरेका व्याख्या, अनुवाद पढेर दोषरहित अपौरुषेय वेदमाथि लाञ्छना लगाउन छाडी आफैंले विधिपूर्वक वेदवेदाङ्ग अध्ययन अनुसन्धान गरी नेपाली समाजका स्त्री–पुरुष सबैले सौहार्दका साथ सम्मानपूर्ण जीवनयापन गर्न सबैलाई प्राडा. कौडिन्यायनले अनुरोध गर्नुभयो ।
त्यसैगरी वेदमा कहीँकतै नभएको सतीप्रथा वेदमा नै उल्लेख थियो भन्ने मिथ्या प्रचार गरिएकोप्रति खेद प्रकट गर्दै प्राडा.कौडिन्यायनले नारीलाई सक्षम र सबल बनाउन शास्त्रीय ज्ञान तथा कलाकौशल आदि व्यावहारिक सीप सिकाउने प्रचलन, अविवाहित रहेकी तथा पितामाताको सेवामा रहेकी अनुशासिता नारीलाई सम्पत्तिरअंश दिनुपर्ने जस्ता आजका लागि समेत उपयोगी र महत्वपूर्ण कुरालाई अनुसन्धान गरी अनुसन्धाताले प्रकाशमा ल्याउनुपर्ने आवश्यकता दर्शाउनुभयो ।
कार्यपत्र प्रस्तुतिपश्चात् टिप्पणीकर्ताहरू प्राडा.नारायणप्रसाद गौतम, प्राडा. आनन्दप्रसाद घिमिरे, सहप्राडा. नारायण बरालले कार्यपत्रको प्रशंसासहित सुधारात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । टिप्पणीका क्रममा प्राडा.गौतमले वेद, स्मृति, पुराण आदिमा अनुशासित नारीको महत्ता गाइएको चर्चा गर्नुभयो भने प्रा.डा.घिमिरेले ज्ञानको राशिका रूपमा रहेको वेदमा रहेका ज्ञानलाई यसैगरी अनुसन्धान गरी समाजसामु पस्कँदै जानुपर्ने आवश्यकता आजको समाजमा रहेको बताउनुभयो ।
डा.बरालले वेदमा प्रौढ भएपछि मात्र विवाह गर्नुपर्ने विधान भएकाले बालविवाह वेदनिषिद्ध रहेको जिकिर गर्नुभयो । त्यसैगरी सहभागीहरूले कार्यपत्रमाथि आ–आफ्ना जिज्ञासा राख्ने र प्रस्तोताले प्रष्टीकरण दिने अवसरपनि प्रदान गरिएको थियो ।
अन्तमा अनुसन्धानमूलक कार्यक्रमलाई भव्य, सभ्य तथा सफल तुल्याउन प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागी सबैलाई धन्यवाद तथा आभार ज्ञापनसहित अनुसन्धान एकाइका संयोजक तथा सभाध्यक्ष डा.शाान्तिकृष्ण अधिकारीले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।






