मजदुरलाई ‘भरिया’ बनाएर कतारबाट काठमाडौंमा सुन तस्करी

भित्रियो दुई अर्ब ३७ करोडको अवैध सुन, ‘चार लेयर’माथि छानविन

डिबी शर्मा
डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीमा संलग्न गिरोहका १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । टोलीले सुनका गहनासहित उनीहरूलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

आइतबार नेपाल वायु सेवा निगमको आरए २४०को फ्लाइटबाट कतार हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाहरूबाट स-साना परिमाणमा सुनका गरगहनासहित उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । उनीहरूले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको प्रयोग गरी सुन तस्करी गर्ने गरेको प्रहरीले फेला पारेको हो । कतारमा रहेका श्रमिकबाट रकम संकलन गरी त्यसबाट सुन खरिद गरेर कतार एयरलाइन्स र नेपाल वायु सेवा निगमका जहाजमार्फत मासिक रूपमा २६ देखि २७ किलो सुन अवैध रूपमा नेपाल भित्र्याउने गरेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म उक्त गिरोहले तस्करीबाटै दुई अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रकम संलकन गरिसकेको उहाँले बताउनुभयो । केसीका अनुसार पक्राउ पर्नेमा धनुषाको ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिराहा पटेरयाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको बाघखोरका २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषा विणका ३४ वर्षीय नरेश पजियार रहेका छन् । त्यस्तै, बाँके राप्ती सोनारी-४ का ३६ वर्षीय भूमबहादुर वली, सप्तरीको चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र सप्तरीको बलानबिहुल गाउँपालिकाकी २५ वर्षीया सञ्जुकुमारी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

यसैगरी, सप्तरीकै रोहतटका २२ वर्षीय दुर्गाप्रसाद यादव, जिल्लाको धनगढीका २८ वर्षीय देवानन्दशाह, सिराहाको कुमहाल टोलका शिवसुन्दर रावत, हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाही फरहदयाका ५६ वर्षीय निमाइ साह पक्राउ परेका छन् । सन् २०१२ देखि सुन तस्करीबाट आर्जित रकम रेमिटबाट शिवसुन्दर राउतमार्फत कतारमा पठाउने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालिएको केसीले जानकारी दिनुभयो ।

सुन ल्याउनेलाई होटलमा खान बस्न फ्री, १० हजार ‘कमिसन’ र घर जाँदा पाँच हजार खर्च
कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा ‘नेपाल पुग्दा होटलमा खानबस्न फ्री, घर जाने बेलामा पाँच हजार पनि दिने भन्दै ५० ग्राम सुनको बिलसहित ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरू ‘एयरपोर्टमा पुगेपछि नेपालमा रहेकाले रिसिभ गर्ने गरेको फेला पारेको केसीले बताउनुभयो । कतारबाट सुन लिएर आउनेको फोटोसमेत खिचेर काठमाडौंमा रहेका विनोदकुमार साहलाई हृवाटसएपमार्फत पठाएर दैनिक १५-२० जनाबाट ५०-५० ग्रामको दरले सुनको तस्करी गर्ने गरिएको अनुसन्धानमा खुल्न आएको छ । कतारबाट फर्किनेहरूलाई सुन ल्याइदिएबापत मुख्य योजनाकारले सिनामंगलस्थित होटल हिमालयन स्पायरमा एकरात बस्ने सुविधा र १० हजार नगद दिने गरेको उनीहरूले प्रहरीसँग बताएका छन् ।

सुन तस्करी गर्ने कार्यमा संलग्न रहेका विनोदकुमार साह र उनको श्रीमती सञ्जुकुमारी साहले काठमाडौंको एयरपोर्ट अगाडि हिमालयन स्पाइर नामको होटल सञ्चालन गरेर काठमाडौंमा सुन संकलन गरी बिक्री गरेर रितेश जनरल स्टोरको खातामा रकम जम्मा गर्ने गरेका प्रहरीको अनुसन्धानमा खुलेको छ । यसमा चार तहको गिरोह संलग्न रहेको जनाएको छ । सुन तस्करीमा संलग्न ‘चार लेयर’माथि छानविन गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *